१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

४४ वर्षदेखि सिमेन्ट उद्योग सञ्चालन भएन

ज्योति कटुवाल

सुर्खेत — चौकुने गाउँपालिका– ६ स्थित चौकुने सिमेन्ट उद्योग परीक्षण भएको ४४ वर्ष पुग्यो । तर अहिलेसम्म उद्योग सञ्चालनमा आएको छैन । २०३६ सालमा चौकुनेको लखरपाटामा उद्योग स्थापना गर्ने गरी परीक्षण गरिए पनि अहिलेसम्म उद्योगको काम अघि बढेको छैन । जसका लागि २०३५ सालमा खानी तथा भूगर्भ विभागले चुनढुंगा र माटो परीक्षण गरेको थियो ।

चौकुने गाउँपालिका अध्यक्ष खडक बिकले सिमेन्ट उद्योगका नाममा लाइसेन्स ओगट्ने काम मात्र भएको बताए । उद्योग निर्माणको जिम्मा लिएको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले १३ वर्षयता केही काम गरेको उनको भनाइ छ । ‘अब हामी कम्पनीलाई दिइएको इजाजत खारेजी प्रक्रियामा छौं, यो वर्ष प्रालिलाई नवीकरण नदिने निर्णय कार्यपालिकाले गरेको छ,’ उनले भने, ‘सिमेन्ट उद्योगको ठाउँमा अब अर्को कुनै उद्योग सञ्चालन गर्ने सोचमा छौं ।’

सिमेन्ट उद्योग सञ्चालनमा आए दैनिक १ हजार ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन हुने कम्पनीले जनाएको थियो । कम्पनीले दैनिक २ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउने जनाएको थियो । अहिलेसम्म कम्पनीले ८० रोपनी जमिन खरिद छ । कम्पनीका परियोजना संयोजक लोकबहादुर अधिकारीले खानी आसपासका जमिन लिने काम भइरहेको बताए । ‘हामीलाई सबै १ हजार ३ सय रोपनी जग्गा आवश्यक पर्ने हो, तर ७५ रोपनी मात्र किनेका छौं,’ उनले भने । कम्पनीले २०७८ सालदनेखि जग्गा अधिग्रहण सुरु गरेको थियो । उनका अनुसार कम्पनीले नवीकरणमा मात्रै वर्षमा ७० लाख रुपैयाँसम्म तिरिरहेको छ । स्थानीय प्रमोद ढकालले उद्योग खोल्ने भन्दै वर्षौंदेखि स्थानीयको आँखामा छारो हाल्ने काम मात्र भइरहेको बताए । उनले उक्त निर्माण कम्पनीको लाइसेन्स रद्द गराएर अर्को कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन सुझाव दिएका छन् । ‘उद्योग स्थापना भएको भए यहाँका नागरिक महिनैपिच्छे भारत छिर्नुपर्थेन,’ उनले भने, ‘उद्योग स्थापना समयमा भएको भए धेरैले घरमै रोजगारी पाउँथे ।’

२०४८ सालयताका हरेक चुनावमा चौकुने सिमेन्ट दलको चुनावी एजेन्डा बने पनि काम हुन नसकेको स्थानीय झकवीर रेउलेले बताए । उनका अनुसार ढुंगा परीक्षण र सातवटा पिलर मात्र हालेर कम्पनीले जमिन होल्ड गरिरहेको छ । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले उक्त कम्पनीले चौकुने गाउँपालिकामा काम गर्ने भन्दै ३ वटा लाइसेन्स लिएको भए पनि काम नगरेको बताए ।

प्रकाशित : मंसिर १६, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?