३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

निगालचुलामा खानेपानी अभाव

सल्यान — बन्गाडकुपिण्डे –१२ निगालचुलाको माझखर्क र चौरमा खानेपानीको हाहाकार भएको छ । २०६६ मा निर्माण गरेको सौर्यऊर्जा खानेपानी योजनाको मोटर बिग्रिएपछि स्थानीयले ३ वर्षदेखि सास्ती भोग्दै आइरहेका छन् ।

निगालचुलामा खानेपानी अभाव

समुद्र सतहदेखि झन्डै २ हजार मिटर उचाइमा रहेको बस्तीमा खानेपानीको हाहाकार भएपछि स्थानीय समस्यामा परेका छन् । उनीहरू एक गाग्री पानीका लागि एक/डेढ घन्टा हिँडेर नजिकैका कुवा तथा खोलाहरूमा धाउन बाध्य छन् । खानेपानीको हाहाकार भएपछि माझखर्क ५३ र चौरका ५७ गरी एक सय १० घर परिवार प्रभावित छन् । २०६६ मा तत्कालीन निगालचुला गाविसले ३ लाख खर्चेर योजना निर्माण गरेको थियो । गाउँमा खानेपानी नहुँदा घण्टौं हिँडेर पानी बोक्नुपर्ने स्थानीय दिलमाया खत्रीले बताइन् । उनका अनुसार गाउँमा ३ घन्टा पैदल हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता छ । ‘अभाव हुँदा पानी अड्कलेर खानुपर्ने बाध्यतामा छौं,’ उनले भनिन्, ‘वर्षौंदेखि आधा राति उठेर पानी ल्याउन मुहानमा जानुपर्ने बाध्यता छ ।’ उनले खानेपानी समस्याका कारण महिला र बालबालिका बढी जोखिममा रहेको बताइन् ।

स्थानीय ममता खड्काले वर्षायामबाहेक अन्य समयमा खानेपानीको जोहो गर्न विभिन्न सास्ती भोग्दै आएको बताइन् । उनका अनुसार खानेपानी समस्याकै कारण गाउँका अधिकांश शौचालय प्रयोगविहीन छन् । पशुपालन गर्न पनि समस्या छ ।

निगालचुलामा रहेको स्वास्थ्यचौकीका इन्चार्ज दिलबहादुर सुनारले पानीको समस्याका कारण प्रसूति गृहमा सेवा दिन कठिनाइ भएको बताए । उनका अनुसार स्वास्थ्य चौकीमा सुत्केरी गराउनका लागि प्रयोग गरिएका कपडालगायत अन्य सामग्री सफा गर्न समस्या भएको छ । खानेपानी योजनाका लागि पटकपटक बजेट बिनियोजन गरे पनि मर्मतको नाममा दुरुपयोग भएकाले खानेपानी समस्या जहाँको तही रहेको बन्गाडकुपिण्डे नगरपालिका–१२ का वडाध्यक्ष लालबहादुर घर्तीले बताए । उनका अनुसार स्थानीय तह गठनयता खानेपानी योजनाका लागि १९ लाख बजेट विनियोजन भइसकेको छ ।

प्रकाशित : मंसिर १५, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?