जितपछि घरदैलो

जुम्ला — प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जितेका सांसदहरू मतदातालाई धन्यवाद दिन घरदैलोमा जुटेका छन् । यसअघि मत माग्दै घरदैलो र गाउँगाउँ पुगेका थिए । अहिले उनीहरू जितपछि धन्यवाद दिँदै र ५ वर्षका लागि योजना र सुझाव मागिरहेका छन् ।

प्रतिनिधिसभा सदस्यमा राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाही, प्रदेशसभा सदस्यमा क्षेत्र–१ (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही र १ (२) मा एमालेका टेकराज पछाईं निर्वाचित भएका थिए ।

उनीहरू घरदैलोमा पुगेर खुसी साटासाट गरिरहेका छन् । प्रतिनिधिसभा सांसद चुनिएका शाहीले चन्दननाथ नगरपालिका, गुठिचौर र पातारासी गाउँपालिकामा मतदाता भेटघाट सकेर सिञ्जा क्षेत्रमा आइपुगेको बताए । ‘जुम्लामा न मेरो पार्टी थियो, न संगठन । सदरमुकाम खलंगामा हिँड्दा गिज्याउँथे । कसरी जित्ला भन्थे । तर, तपाईंहरूले जिताइदिनुभयो । यो कहिल्यै भुल्ने छैन,’ शाहीले मतदातामाझ भने ।

उनले विकासमा राजनीति नगर्न र गर्न नदिन मतदातालाई सचेत गराए । ‘निर्वाचनअघिसम्म फरक पार्टीका थियौं । अब सबैको साझा व्यक्ति भइसक्यौं’ उनले थपे ।

जुम्ला–१ (१) का सांसद देवेन्द्रबहादुर शाही पनि मतदाताको घरदैलोमै व्यस्त छन् । उनले चन्दननाथ नगर क्षेत्रका मतदातालाई भेटेर आभार प्रकट गरिसकेको सुनाए । अब तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा जाने तयारी भइरहेको उनले सुनाए । जुम्ला–१ (२) बाट चुनिएका सांसद टेकराज पछार्इं पनि मतदातासँगै जितको खुसियाली साटिरहेका छन् । उनले चुनावताका गरेका प्रतिबद्धता पूरा गर्न पछि नहट्ने बताए । घरदैलोमा आएका सांसदलाई मतदाताले सुशासन, विकास निर्माण र आर्थिक अनियमितताविरुद्ध लाग्न आग्रह गरेका छन् । जितपछि सांसद भेट्न आएकोमा मतदाता उत्साहित छन् । ‘अब जनप्रतिनिधि जनताको समस्यासँग एक भएर लाग्नुपर्‍यो । जितेपछि अर्को चुनावसम्म अनुहार नदेखाउने प्रवृत्तिको अन्त्य होस् ,’‘तिला–७ का कृष्णबहादुर बुढाले भने ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?