कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सल्यानमा २८ वर्षपछि कांग्रेसको पुनरागमन

सल्यान — संसदीय निर्वाचनमा सल्यानमा २८ वर्षपछि कांग्रेसको पुनरागमन भएको छ । २०५२ पछि निरन्तर पराजय भोग्दै आएको कांग्रेसले प्रदेश सभा १ (२) बाट फेरि संसदीय यात्रा सुचारु गरेको हो । 

सल्यानमा २८ वर्षपछि कांग्रेसको पुनरागमन

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभा १ (२) का सांसद सुरेश अधिकारीले २० हजार ४ सय ८ मत ल्याई कांग्रेसलाई फेरि संसदीय राजनीतिमा फर्काएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार गुलाबजंग शाहले १६ हजार ६ सय १८ मत ल्याएका थिए । अधिकारीले शाहलाई ३ हजार ७ सय ९० मतले पछाडि पारेका थिए ।

२०४८ र २०५१ को मध्यावधि निर्वाचनमा क्षेत्र नं . १ बाट कांग्रेसका राजेन्द्रबहादुर शाह र २ बाट छवि देवकोटाले जितेका थिए । त्यसपछि निरन्तर कांग्रेसले २०७४ सम्म पराजित भएको थियो । २८ वर्षपछि कांग्रेसका सुरेश अधिकारीे सल्यान २ बाट प्रत्यक्षमा निर्वाचित भएपछि पार्टीले पुनर्जीवन पाएको कांग्रेस नेता ध्रुवराज पुरीले बताए । २०७९ को स्थानीय निर्वाचनबाट जिल्लामा पहिलो पार्टी सावित भएको कांग्रेस आउँदा दिनमा संसदीय निर्वाचनमा पनि पहिलो हुने उनले दाबी गरे ।

२०७४ अघि सल्यानमा दुई निर्वाचन क्षेत्र थियो । २०५६ मा क्षेत्र नं. १ बाट राजेन्द्र शाह, २ बाट महेश मल्ल, २०६४ र २०७० मा १ बाट ध्रुवराज पुरी, २ बाट डिल्लीराज रेग्मीले उठेका थिए । २०७४ मा १ बाट एकराज डाँगी, २ बाट डिल्लीराज रेग्मी र प्रतिनिधिसभाका लागि राजेन्द्रबहादुर शाह निर्वाचनमा लडेका थिए । २०५६ मा क्षेत्र नं १ बाट एमालेका प्रकाश ज्वाला, क्षेत्र नं २ बाट राप्रपाका नेत्रलाल श्रेष्ठद्वारा पराजित भएका थिए । २०६४ मा १ बाट माओवादी केन्द्रका टेकबहादुर बस्नेत र २ मा उमाकान्त शर्मा, २०७० र ०७४ मा १ मा एमालेका गुलाबजंग शाह, २ मा एमालेकै प्रकाश ज्वालाबाट र प्रतिनिधिसभामा माओवादीकै नेता टेकबहादुर बस्नेतबाट कांग्रेस नेता पराजित भएका थिए ।

१० वर्षीय तत्कालीन माओवादी जनयुद्धका कारण कांग्रेसको बीउसमेत मासिएको सल्यानमा पछिल्नो समयमा संगठन धेरै बलियो भएकाले सुरेश अधिकारीले निर्वाचनमा जित हासिल गरेका पार्टी सभापति केशबहादुर बिष्टले सुनाए । ‘तत्कालिन माओवादी जनयुद्धका कारण कांग्रेसको संगठन कमजोर भएको थियो । त्यो बेला ज्यान बचाउन भएका अलिअलि पनि विस्थापित भएका थिए,’ उनले भने, ‘जनयुद्ध समाप्त भएपछि देशमा शान्ति कायम हुँदा पुनः संगठन विस्तारकै कारण अहिले पुरानै लयमा फर्किएको छ ।’ अहिले सल्यान २ मा कांग्रेसका नेता सुरेश अधिकारीले गठबन्धनबाट जितेका हुन् । गठबन्धन नगरे पनि एक्लै जित्ने माहोल रहेको बिष्टको दाबी छ ।

सल्यान २ बाट निर्वाचित भएका सुरेश अधिकारीले पहिला गुमेको विरासत बचाइराख्ने बताएका छन् । निर्वाचित भएपछि जिल्लामै बसेर जिल्लाको भौतिक, आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा, कृषि विकासमा निरन्तर खटिरहने प्रतिबद्धता जनाए । उनले पार्टीलाई पनि बलियो बनाउँदै लैजाने बताए ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?