ज्येष्ठ नागरिकको घरमै उपचार- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्येष्ठ नागरिकको घरमै उपचार

शारदा नगरपालिकाका १५ वडामा ७० वर्षमाथिका झन्डै २ हजार ज्येष्ठ नागरिक छन्
विप्लव महर्जन

सल्यान — शारदा नगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै गएर उपचार गर्न थालेको छ । हिँड्न नसकेर अस्पताल पुग्न नसक्दा स्वास्थ्य सेवाबाट उनीहरू वञ्चित हुन नपरोस भनेर घरै गएर पालिकाले उपचार सुरु गरेको हो । घरमै गएर उपचार तथा निःशुल्क औषधि वितरण गरेपछि अहिले ७० माथिका ज्येष्ठ नागरिक र अशक्तलाई राहत भएको छ । शारदा नगरपालिकाका १५ वडाका ७० वर्ष माथिका झन्डै २ हजार लाभान्वित भएका छन् । उनीहरूलाई सामान्य उपचारको लागि परिवारले धेरै कष्ट उठाउन नपर्ने भएको छ ।

ज्येष्ठ नागरिक आफैं उपचारका लागि बाहिर जान कठिन छ । भौगोलिक विकटताका कारण भन्नेबित्तिकै गाडी नपाउँदा बाहिर लैजान कठिनाइ हुने भएकाले घरमै गएर सेवा दिन सुरु गरिएको शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलाधर ववालले बताए । उनका अनुसार वडास्थित स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई खटाएर उनीहरूको रक्तचाप, मधुमेह, दम, बाथ, ज्वरो, रुघाखोकी, पेट दुखाइलगायतको उपचार गर्न थालिएको हो ।

पालिकाले जाँच गरिएका बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ । ‘अहिले वर्षमा चार पटक तीन महिनाको फरकमा सेवा दिने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘विस्तारै यसलाई बढाउँदै महिनामा एक पटक निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन पहल गर्ने छौं ।’ गम्भीर समस्या भएको ज्येष्ठ नागरिकलाई थप उपचारको लागि जिल्ला अस्पताल सल्यानसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको उनले बताए । नगरपालिकाले जिल्ला अस्पतालमा पुर्‍याइएका बिरामीको उपचार खर्चसमेत व्यहोरिरहेको छ ।

पालिकाभरिका ज्येष्ठ नागरिकको रोग पहिचान गर्न सहज होस् तथा उनीहरूले सामान्य उपचारका लागि पनि धेरै कष्ट उठाउन नपरोस् भनेर घरघरमै गएर स्वास्थ्य परीक्षण गर्न थालिएको शारदा नगरपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र हमालले बताए । उनका अनुसार उनका अनुसार पालिकाका १५ वडामा झन्डै दुई हजार ७० वर्षमाथिका ज्येष्ठ नागरिक छन् । कात्तिक तेस्रो सातादेखि सुरु भएको यो चरणको कार्यक्रमबाट अहिलेसम्म ४ वडाका झन्डै ५ सय बढीले उपचार सेवा पाएको उनको भनाइ छ ।

ज्येष्ठ नागरिकलाई विभिन्न परामर्श दिएर उनीहरूको खानपिन र आनीबानीमा परिवर्तन गराएको स्थानीय स्वास्थ्यकर्मी सरिता शर्माले बताइन् । ‘अहिले पालिकाको प्रत्येक वडामा स्वास्थ्यसंस्था छन् । तर भौगोलिक विकटताका कारण उनीहरू वडाकै स्वास्थ्यचौकीमा पनि जान सकिएका छैनन्,’ उनले भनिन्, ‘हामीले उपचार गरेका धेरैजसो बिरामीमा रक्तचाप, मधुमेह, दम, खोकीलगायत दीर्घरोगको समस्या बढी देखिएको छ ।’ नगरपालिकाले विशेषज्ञहरूलाई घरमै लैजाने गरी पहलसमेत थालेको छ । ‘अस्पताल पुर्‍याइदिने कोही नहुँदा लामो समयदेखि रोग लुकाएर बस्नुपरेको थियो,’ ज्येष्ठ नागरिक ईश्वरी श्रेष्ठले भनिन्, ‘अहिले नियमित स्वास्थ्य परीक्षणसहित निःशुल्क औषधि पनि पाइरहेका छौं ।’

प्रकाशित : मंसिर १३, २०७९ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्

युरोपमा मानसिक स्वास्थ्य अवस्था भयावह

ददि सापकोटा

पेरिस — युरोपेली मुलुकहरूमा मानसिक स्वास्थ्य संकट बढ्दै गएको छ । आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) को तथ्यांक अनुसार १८ युरोपेली देशहरूमा सन् २००० देखि २०२० सम्ममा मानसिक रोगविरुद्धको औषधि (एडी) प्रयोग झन्डै साढे दुई गुणाले बढेको छ । ओईसीडीको तथ्यांकले कोभिड–१९ महामारीको समयमा चिन्ता र डिप्रेसनमा नाटकीय वृद्धि भएकाले मानसिक स्वास्थ्य बिग्रिएको देखाएको छ ।

१८ युरोपेली देशहरूमा सन् २००० मा प्रतिदिन प्रतिएक हजार व्यक्तिमा डिफाइन्ड डेली डोज ९डीडीडी० अर्थात् दैनिक मात्रा ३०।५ मात्र थियो । सन् २०२० मा त्यो बढेर ७५।३ पुगेको छ । यसको अर्थ युरोपेली मुलुकमा मानसिक स्वास्थ्यका बिरामीको संख्या १४७ प्रतिशतले वृद्धि भएको हो । तर एन्टी डिप्रेसन ९एडी० औषधि लिने प्रवृत्ति सबै देशमा समान छैन । सन् २००० मा इस्टोनियामा डीडीडी ६।४ थियो भने आइसल्यान्डमा ७०।५ थियो । चेक गणतन्त्रमा भने सन् २०२० सम्म आइपुग्दा ५७७ प्रतिशत र सोही समयमा फ्रान्समा यो ३८ प्रतिशतले बढेको छ । यो २००० र २०२० को बीचमा यी देशहरूमा सबैभन्दा कम परिवर्तन भएको देखिएको छ ।

सोही अवधिमा पोर्चुगलमा ३०४ प्रतिशत, बेलायतमा २५६ प्रतिशत, स्पेनमा २०८ र जर्मनीमा २०० प्रतिशतले वृद्धि भएको जनाइएको छ । तथ्यांकले युरोपेली देशहरूमा कसरी एडी खपत एकपछि अर्को वर्ष बढेको छ भन्ने देखाउँछ । १८ मध्ये १४ देशमा एडीको प्रयोग दोब्बरभन्दा बढी छ । २०२० मा प्रतिदिन प्रतिहजार मानिसमा मानसिक स्वास्थ्यविरुद्धका औषधिहरूको खपत लात्भियामा २०, आइसल्यान्डमा १५३, पोर्चुगलमा १३१, बेलायतमा १०८, स्विडेनमा १०५ र स्पेनमा ८७ पुगेको छ ।

खुसी रहेका नागरिकमा मानसिक स्वास्थ्य कम हुन्छ भन्ने विश्वासलाई पनि तथ्यांकले गलत सावित गरिदिएको छ । वर्ल्ड ह्यापिनेस रिपोर्टका अनुसार सन् २०२० मा विश्वको दोस्रो सबैभन्दा खुसी देश आइसल्यान्डमा युरोपमै सबैभन्दा बढी एन्टिडिप्रेसेन्ट खपत भएको छ । रिपोर्टमा छैटौं स्थानमा रहेको स्विडेनमा १०५ डीडीडी प्रयोग गरी एन्टिडिप्रेसेन्ट धेरै लिने युरोपमै चौथो देश भएको छ । रिपोर्टअनुसार सबैभन्दा खुसी राष्ट्र मानिएको फिनल्यान्डका मानिसहरूले ८२ डीडीडी एन्टिडिप्रेसन प्रयोग गरे जसले फिनल्यान्डलाई २४ देशहरूमध्ये सातौं स्थानमा राख्यो । लातभियामा दैनिक २० मात्राका दरले एडी प्रयोग गरिन्छ । तर विश्व खुसी प्रतिवेदनमा ३४ औं स्थानमा छ । ३० डीडीडी लिने लात्भियालाई पछ्याउने हंगेरी खुसीको सूचीमा ४३ औं स्थानमा थियो ।

ईयूमा डेनमार्क मात्रै यस्तो मुलुक हो जहाँ गत १० वर्षमा एडी खपत घटेको छ । सन् २०२० मा जर्मनीले एडीमा ७८ करोड ३० लाख युरो, स्पेनले करिब ६४ करोड ९० लाख युरो, इटालीले ४ करोड ४० लाखदेखि ४ करोड ५६ लाख युरो खर्च गर्ने प्रमुख राष्ट्र हुन् । ईयूको तथ्यांक अभिलेखमा आधिकारिक मानिएको युरोस्टाटका अनुसार सन् २०१९ मा, ईयू देशहरूमध्ये पोर्चुगल १२।२ मा गम्भीर डिप्रेसनको सबैभन्दा बढी हिस्सा थियो । त्यसपछि स्विडेन ११।७ प्रतिशत, जर्मनी र क्रोएसिया ११।६ प्रतिशत, माल्टा ३।५, बुल्गेरिया २।७ र रोमानिया १ प्रतिशत सबैभन्दा कम थियो । युरोपेली आर्थिक सहयोग र विकास संगठन ९ओईसीडी० द्वारा जारी गरिएको पछिल्ला सर्वेक्षणहरूले कोभिड–१९ महामारी सुरु भएदेखि नै मानसिक स्वास्थ्यमा उल्लेखनीय गिरावट आएको देखाएको छ ।

प्रकाशित : मंसिर १३, २०७९ १०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×