१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मुगुमा तीनवटै पार्टी प्रमुख विजयी

राजबहादुर शाही

मुगु — मुगुमा तीनवटै पार्टीका प्रमुख एकैपल्ट सांसद निर्वाचित भएका छन् । कांग्रेस सभापति ऐनबहादुर शाही प्रतिनिधिसभा सदस्यमा र एमालेका अध्यक्ष जितबहादुर मल्ल प्रदेश १ (१) मा र माओवादी जिल्ला इन्चार्ज मंगलबहादुर शाही प्रदेश १ (२) बाट निर्वाचित भएका हुन् ।

मुगुमा तीनवटै पार्टी प्रमुख विजयी

कांग्रेस सभापति शाही गत असोजमा सम्पन्न पार्टीको ९ औं जिल्ला अधिवेशनबाट सभापति बनेका थिए । उनले एमालेका उम्मेदवार राजबहादुर कार्कीलाई ३ हजार ९ सय ९४ मतले पछि पार्दै संसदीय यात्रा सुरु गरेका हुन् । शाही १४ हजार ७ सय २ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरे । एमालेका अध्यक्ष जितबहादुर मल्ल पनि पहिलोपल्ट सांसद बनेका हुन् । उनी एक वर्षदेखि एमालेको अध्यक्ष छन् । मल्ल ६ हजार ६ सय १८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका गोपालबहादुर बमले ४ हजार ८ सय ८४ मत प्राप्त गरे ।

माओवादीका जिल्ला इन्चार्ज शाही ८ हजार ४ सय २९ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कर्णबहादुर मल्लले ४ हजार ८ सय ८४ मत ल्याए ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका शाहीले जिल्लाको शिक्षा, स्वास्थ्य र तथा पर्यटन विकासमा जोड दिने बताए । बाढीपहिरो पीडितलाई राहतका दागि सरकारसँग पहल गर्ने उनको भनाइ छ । जिल्लामा मतदान सम्पन्न भएको ६ दिनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार प्रत्यक्षतर्फको मतगणना सार्वजनिक गरेको हो ।

मुगुमा शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत दिलकुमार पौडेले बताए । उनका अनुसार ३५ हजार ४ सय ८५ मतदातामध्ये २६ हजार ६ सय १५ मत खसेको थियो । मुगुमा करिब २५ वर्षपछि प्रतिनिधिसभा सदस्यमा कांग्रेस विजयी भएको छ । २०५६ को संसदीय निर्वाचनदेखि २०७४ सालसम्मका सबै निर्वाचनमा एमाले विजयी भएको थियो ।

प्रकाशित : मंसिर ११, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?