६ दिनसम्म पनि आएन मुगुको परिणाम- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ दिनसम्म पनि आएन मुगुको परिणाम

कान्तिपुर संवाददाता

मुगु — जिल्लामा सुस्त गतिमा मतगणना भएकाले मतदानको ६ दिनसम्म भइसक्दा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले अहिलेसम्म गणना पूरा गरेको छैन । अन्तिम मत परिणाम सार्वजनिक नहुँदा मतदाता दिक्क भएका छन् ।

जिल्लाको मुगु, चितै, डोल्फु, ह्याङलु, बिनालगायत मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आउन दुई दिन लागेको थियो । मुगुमा मंसिर ७ गते बिहानदेखि मतगणना सुरु भएको हो ।

प्रदेश र प्रतिनिधिसभा कुनैको पनि मत परिणाम घोषणा भएको छैन । मुख्य निर्वाचन अधिकृत कार्यालयको माथिल्लो तीन कोठामध्ये दुईवटामा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको छुट्टाछुट्टै र अर्को कोठामा दुवैतर्फको समानुपातिकको मतगणना भइरहेको छ ।

कोठा र कर्मचारी अभावले त्योभन्दा धेरै ठाउँमा मतगणना गर्न नसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘मतगणना सारै ढिलो भयो,’ सोरु गाउँपालिका–२ का कर्णजंग शाहीले भने, ‘पछि मत गन्न सुरु गरेका अन्य जिल्लामा मतगणना सम्पन्न गरिसके पनि यहाँ कछुवा गतिमा मतगणना हुँदा हामी लामो समयदेखि पर्खाइमा छौं ।’

कहिले परिणाम आउला भनेर मन आत्तिएको उनले बताए । हालसम्म प्रतिनिधिसभातर्फको करिब १६ हजार मतगणना भएको छ । अझै ११ हजार मत गन्न बाँकी छ । ११ हजार मत गन्न करिब दुई दिन लाग्ने अनुमान छ ।

त्यस्तै प्रदेश–१ (१) र प्रदेश–१ (२) मा करिब ६० प्रतिशत मतगणना पूरा भएको छ मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनामा निकै ढिलो भएको प्रदेश–१ (२) का माओवादी केन्द्रका उम्मेदवार मंगलबहादुर शाहीले बताए । ‘हामी त मतगणना स्थलमा बस्दाबस्दा थाकिसक्यौं, ’ उनले भने, ‘मतगणना सुरु भएदेखि चौबिसै घण्टा पालो लगाएर मतगणना स्थलमा जानुपर्ने बाध्यता छ ।’

शनिबार बेलुकासम्म मतगणना सक्ने लक्ष्य राखेर तीव्रता दिइएको मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले बताए ।

प्रकाशित : मंसिर १०, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्

पालिकामा पराजित, प्रदेशमा विजयी

मनोज पौडेल

कपिलवस्तु — विजयनगर गाउँपालिका अध्यक्षमा पराजित जानकीप्रसाद यादव प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनको विजयसँगै जिल्लामा राप्रपाले पहिलो जित निकालेको छ । कपिलवस्तु ३ (२) बाट यादव ६ सय ७५ मतान्तरसहित विजयी भएका हुन् ।


यादवले ८ हजार ५ सय ८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रजाउरहमान खाले ७ हजार ९ सय ७ मत प्राप्त गरेका छन् । कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी वीरेन्द्रकुमार कानोडिया पनि उनीसँग पराजित भएका छन् ।

गत स्थानीय निर्वाचनमा विजयनगरको अध्यक्षमा कांग्रेसले टिकट नदिएपछि उनी जनता समाजवादी पार्टी प्रवेश गरेर निर्वाचन लडेका थिए । उनी अध्यक्षमा ५ सय ४ मतको अन्तरले पराजित भएका थिए । उनले ५ हजार ३ सय ३४ मत ल्याएका थिए । एमालेका गोपालबहादुर थापाले ५ हजार ८ सय ३८ मत ल्याएर विजयी भएका थिए ।

यादव अहिले राप्रपा प्रवेश गरेर प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए । यादवले २०७४ मा विजयनगरको अध्यक्ष र प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । दुवै निर्वाचनमा पराजय भएका थिए । ‘निर्वाचनमा धेरै हार ब्यहोरें,’ उनले भने, ‘अहिले भने जनताले मूल्यांकन गरे । अब जनताको विश्वासलाई विकासमा बदल्छु ।’

प्रकाशित : मंसिर १०, २०७९ ०९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×