जुम्लामा जितेपछि शाहीले भने- 'भ्रष्टचार गर्दिनँ, गर्न पनि दिन्नँ'- कर्णाली - कान्तिपुर समाचार

जुम्लामा जितेपछि शाहीले भने- 'भ्रष्टचार गर्दिनँ, गर्न पनि दिन्नँ'

डीबी बुढा

जुम्ला — जुम्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू भ्रष्टचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने बताए ।


निर्वाचित भएपछि विजय र्‍यालीको क्रममा खलंगाको बालमन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै शाहीले जुम्ली मतदाताले ठूलो आसा र भरोसाले दिएको मतलाई निराशामा परिणत हुन नदिने बताए ।

उनले भने, ‘केन्द्रमा उठेको जुम्लाको आवाजलाई दबाइएको छ । जुम्लाको प्रतिनिधित्वलाई सौतेनी व्यवहारले हेरिन्छ । त्यो सौतेनी व्यवहारको पर्दाफास गर्दै जुम्लीले पनि यो देशमा राज गर्न सक्छन् भन्ने उदाहरण दिन चाहन्छु ।’

अहिलेसम्म सांसद जितेर गएपछि गाउँ फर्कँदैनन् भन्ने आरोपलाई चिर्दै शाहीले भने जुम्लाका सबै स्थानीय तहमा पुगेर मतदाताको दु:ख पीडा सुन्ने बताए । ‘म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ । आजका दिनसम्म पनि एक रुपैयाँ भ्रष्टाचार गरेको छैन । अब उप्रान्त जुम्लामा कसैले भ्रष्टचार गर्छु भनेर कल्पना मात्र गर्‍यो भने त्यसलाई जेल हाल्छु । ढुक्क हुनुस,’ उनले भने ।

उनले यस क्रममा आफूलाई कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीको पनि भोट आएको भन्दै सबैलाई समान व्यवहार गर्नेबताए । उनले भने, ‘साझा एजेण्डा लिएर अघि बढौं, अब जुम्ला बन्छ । जुम्ला बनाउन सबै तयार छौं ।

प्रकाशित : मंसिर ८, २०७९ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्

पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु : तोसिमा कार्की 

कान्तिपुर संवाददाता

काठमाडौँ — नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तोसिमा कार्कीले पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छन् । ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा संसदमा जनमुखी मुद्दाहरु उठाउने बताइन् ।

उनले आफूले मतदातासमक्ष राखेका प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रुपमा लिएको उल्लेख गरिन् । मतदाताहरुलाई आफूप्रति निरन्तर खबरदारी गरिरहन अनुरोध पनि गरिन् । ‘विजय तबमात्र स्थापित हुन्छ, जब मैले तपाईंसमक्ष राखेका वाचाहरु, प्रतिवद्धताहरुमा काम गरेर देखाउन सक्नेछु । त्यो दिन हामी विजय मनाउनेछौँ’ उनले भनिन् ‘निरन्तर मलाई खबरदारी गरिरहनु होला । सल्लाह, सुझाव दिइरहनुहोला । हामी मिलेर अब यो पाँच वर्षमा समृद्ध, स्वस्थ, सुखी देश निर्माण गर्न लाग्नेछौं ।’

सांसद कस्तो हुनुपर्छ र संसद भवनमा बहस कस्तो हुनुपर्छ भन्ने देखाउन आफ्नो भूमिका रहने उनले बताइन् । देशमा सुशासन र सुव्यवस्था स्थापित गर्न लागिपर्ने उनको भनाइ छ । उनले ललितपुरबासीले आफूमाथि गरेको आशालाई निराशामा परिणत हुन नदिने बताइन् ।


प्रकाशित : मंसिर ८, २०७९ १४:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×