कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लिफ्ट खानेपानी योजना अलपत्र

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा सञ्चालित लान्ती/भोटेचौर लिफ्ट खानेपानी योजना दुई वर्षदेखि अलपत्र परेको छ । क्रमागत रूपमा सञ्चालित योजनाको निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि अलपत्र परेको हो ।

संघीय विशेष अनुदानअन्तर्गत संघले छत्रेश्वरी गाउँपालिका ६ लान्ती/भोटेचौर लिफ्ट खानेपानी योजनाका लागि दुई करोड बजेट विनियोजन गरेको थियो । पालिकाले गरेको टेन्डरअनुसार मस्टा जेभी काठमाडौंले ०७७ फागुनमा लिफ्ट खानेपानीका लागि १ करोड २२ लाखमा सम्झौता गरेको थियो ।

योजना अलपत्र पर्दा भोटेचौर र लान्तीका झन्डै ३ सय परिवार प्रभावित भएका छन् । योजना अलपत्र परेपछि स्थानीय अहिले पुराना मुहानबाट लामो समय हिँडेर पानी ल्याई खान बाध्य हुँदै आएका छन् । खानेपानीका लागि उनीहरूले विभिन्न किसिमका समस्या भोग्नुपरेको छ । योजनाको कामको काम गर्ने अवधि सकिएपछि ठेकेदारले ल्याएका सामग्री अहिले त्यत्तिकै थन्किएका छन् ।

शारदा नदीको किनारमा बोरिङ गरेर लिफ्टमार्फत बस्तीमा खानेपानी लैजाने योजनाको अहिलेसम्म बोरिङ मात्र खनिएको छ । पाइप गाडेको स्थानमा पर्खाल मात्र लगाइएको र अन्य कुन काम नभएको स्थानीय केशव बस्नेतले बताएका छन् । अलपत्र परेपछि ठेकेदार देखिने छाडेको उनले सुनाए । उनका अनुसार योजनाको काम अलपत्र पर्दा स्थानीय पुरानो मूल र खोलाको पानी खान बाध्य छन् । ठेकेदार कम्पनीले काममा ढिलाइ गरेका र बीचैमा छाडेका कारण घरकै धारामा शुद्ध पानी भर्ने पाउने सपना अहिलेसम्म पूरा हुन नसकेको प्रमिला खड्काले बताइन् । वर्षात्को समयमा र वैशाख, जेठमा पानीका लागि साह्रैगाह्रो हुने उनले जानकारी गराए । ‘कपडा धुन, सरसफाइका लागि नजिकै शारदा नदीको पानी प्रयोग गर्छौं । खानेपानीका लागि भने समस्या हुने गरेको छ,’ उनले भनिन् ।

पुरानो योजनाको मर्मत नहुँदा नियमित धारामा पानी नआउने र छोटो समयमा लागि मात्र आउने गरेकाले एक दसक बढी समयदेखि खानेपानीका लागि सास्ती भोग्दै आएको निर्मला नेपालीले बताइन् । उनले कहिलेकाहीं त शारदा नदीकै पानी प्रयोग गर्दै आएकी छन् । योजना सम्पन्न गर्नका लागि माग राख्दै आए पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको उनको भनाइ छ । क्रमागत योजना भएकाले सरकारले विनियोजन गरेको बजेट असारमै फिर्ता जाँदा ठेकेदारले काम गर्न छाड्दा लिफ्ट खानेपानी योजना रोकिएको छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताए । रोकिएको योजनाका लागि यो वर्ष प्रदेश सरकारबाट बजेट परेकाले निर्वाचन सकिएलगत्तै पुनः टेन्डर गरी काम सुचारु गरिने उनले जानकारी गराए ।

प्रकाशित : मंसिर ६, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?