विकृतिविरुद्ध दलित महिला- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकृतिविरुद्ध दलित महिला

डीबी बुढा

जुम्ला — कनकासुन्दरी–४ की वसन्ती स्वर्णकार सामाजिक विकृतिविरुद्धको अभियानमा सक्रिय छिन् । उनी दलित र गैरदलितबीचको छुवाछुतको खाडल पुर्न चाहन्छिन् । त्यो संगै समाजमा हुने बालविवाह, बहुविवाह, छाउपडी प्रथा र जारी प्रथालगायतका विषयमा खरो रूपमा उत्रिन्छिन् । उनी गाउँकी एक अगुवा हुन् । 


चार वर्षदेखि उनी छिमेकी गाउँमा समेत घुमफिर गरेर सचेतना फैलाउँदै आएकी छन् । गाउँगाउँमा दलित सञ्जाल गठन गरेर समाजमा समानताको पक्षमा वकालत गर्न थालेको उनले बताइन् । दलित र गैरदलितबीच कुनै भिन्नता छैन । दलितको पनि रगत रातो हुन्छ, गैरदलितको पनि रगत रातो हुन्छ । दलित र गैरदलितले खाने गाँस, बस्ने, बास र ओढ्ने कपास एउटै खाले हुन्छ । वसन्तीले भनिन्, ‘कसरी दलित तल्लो जातको भए गैरदलित माथिल्लो जातको । यही असमानता हटाउन गाउँगाउँमा पुगिरहेका छौं । दह्रोसँग समानताको पक्षमा आवाज उठाइरहेका छौं । एक हाम्रो एक प्रकारको विद्रोह नै हुनेछ ।’

उसो त उनीहरूले गैरदलितलाई बोलाएर आफ्नो घरमा खाना खुवाउने कार्यको थालनीसमेत गरेका छन । उनीहरू पनि गैरदलितकोमा गएर खाना खाने बस्ने गर्छन् । उनले भनिन्, ‘पछिल्लो पुस्तामा छुवाछुतको खासै समस्या देखिँदैन । तर पुरानो पुस्ताले अझै दलितलाई स्विकारेको अवस्था छैन ।’

अहिले धारा पधेंरा एउटै छन् । हिँड्ने बाटोदेखि कामकाज गर्न सँगसँगै जान्छन् । एकआपसमा सहयोग आदानप्रदानसमेत हुन्छ । अर्की विलुपा सार्कीले भनिन्, ‘पहिले दलितका बालबालिका स्कुल जान हुँदैन भनिरहेका हुन्थे । अहिले सहजै रूपमा स्कुल जान्छन् । पानी पधेंरो गर्न असहज हुन्थ्यो अहिले निकै सहज छ । यो भन्दा ठलो उपलब्धि के नै हुन सक्छ । ’

उनीहरू छुवाछुतविरुद्धको अभियानमा मात्र संलग्न छैनन् । गाउँमा हुने बालविवाह रोक्ने, मदिरा सेवन निषेध गर्नेदेखि छाउपडी हुँदा घरमा बस्नुपर्ने भन्दै दबाब अभियान चलाउँछन् । विलुपाले भनिन्, ‘पहिले समाजमा बोल्न धक लाग्थ्यो । डर त्रास हुन्थ्यो । भद्रभलादमीले केही भन्ने हुन् कि भन्दै मनमा खुलदुली हुन्थ्यो । तर अहिले निर्धक्क आफ्नो विषय राख्ने गरेका छौं । सरकारलाई खबरदारी गर्नेदेखि सामाजिक विकृतिका विषयमा बहससमेत चलाउने भइसकेका छौं । ’

गत वर्ष दलित बस्तीमा बालविवाह हुनै लाग्दा बालक र बालिका सँगै अभिभावक राखेर आआफ्नो घरमा फर्काएको अनुभव उनले सुनाइन् । ‘अहिले तिमीहरूको उमेर भइसकेको छैन । बालविवाह गर्न कानुनले दिँदैनन् । हाम्रो स्वास्थ्यसमेत बिग्रन्छ । भविष्य डामाडोल नै हुन्छ, भनेर सम्झायौं,’ उनले भनिन्, ‘बालबालिका राजी भए । अभिभावक पनि सहमत भए पनि आआफ्नो छोराछोरी बुझेर लगेका थिए ।’

अधिकांश दलित महिला अहिले छाउ भएको समयमा घरमै बस्छन् । प्याडको प्रयोग गर्छन् । समयसमयमा नुहाइधुवाइ गरेर सफासुग्घर हुन्छन् । आफ्नो घरआँगन, गाउँबस्ती नै चिटिक्क पार्छन् । उनले भनिन्, ‘अहिले निर्धक्क आफ्नो विषय राख्छौं । मनमा लागेका कुनै पनि विषय सहजै बोल्छौं । राम्रो कुराको समर्थन गर्दै नराम्रो कुरा सच्याउन तत्काल आग्रह गर्छौं । योजना तर्जुमा गोष्ठीमा भाग लिएर आफ्नो योजना आफैं छान्छौं । महिला अधिकारका विषयमा चासो राख्छौं ।’

उनीहरू नजिकैको स्थानीय सरकारसँग आफ्ना माग राख्दै निरन्तर खबरदारीसमेत गर्छन् । दलित महिलाकै पहलमा गोरुचौर आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि दलित नै छन् । जसका कारण दलित विद्यार्थी विद्यालयमा आउजाउ गर्न सहज वातावरण छ । स्थानीय सरकारसँग दलितमैत्री विकास माग्छन् । आफूले चुनेको प्रतिनिधिसँग विकासका विषयमा छलफल चलाउँछन् । गत वर्ष उनीहरूले स्थानीय सरकारसँग दलित सञ्जालको भवन मागे । अहिले त्यो भवनमा सचेतनामूलक कार्यक्रम भइरहन्छन् । उनीहरूको बैठक बस्ने, योजना निर्माण गर्नेदेखि लिएर कामको समीक्षासमेत त्यही भवनभित्र हुने गर्छ । कनकासुन्दरी ४ कै लक्ष्मी बूढा अहिले दलित महिला निकै सक्रिय भएको बताउँछिन् । उनले भनिन्, ‘गाउँटोलको सरसफाइ गर्ने, विवाद समाधान गर्नेदेखि गाउँको शान्ति सुरक्षाको जिम्मेवारीसमेत उनीहरूकै हातमा छ । अहिले सशक्त रूपमा दलित महिला उभिन थालेपछि गैरदलितबाट हुने कुनै पनि भेदभाव हुँदैन ।’ न दलितमाथि गैरदलितले दुर्व्यवहार गर्ने आँट गर्छन् न त कुनै अपमान नै उल्टै सम्मानजक भाषाशैलीको प्रयोग गरेर आदार गर्छन् ।

दलित गैरदलित एउटै घरभित्र बस्छन् । तर दलित अझै चुलोसम्म पुग्न सकेका छैनन् । पहिले विवाह गर्दा भान्सा छुट्टाछुट्टै हुन्थ्यो । अहिले एउटै हुन्छ । गाउँमा विवाद हुन छाडेका छन् । उनले भनिन्, ‘सामाजिक विकृतिविरुद्ध दलित गैरदलित महिला एकै ठाउँमा उभिन्छन् । मर्दापर्दा एकआपसमा सहयोगी भावना राख्छन् । योभन्दा नमुना काम अरु के नै हुन सक्छ र ?’

जिल्लामा दलित सञ्जाल, संघसंगठनले आवाज उठाइरहँदा गाउँमा दलित महिला जुर्मुराएर अघि बढेका छन् । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही दलित र गैरदलितबीच कुनै भिन्नता नभएको भन्दै सबै एक भएर अघि बढ्ने योजनाको निर्माण भइरहेको बताउँछन् । उनले भने, ‘जातीय छुवाछुत अन्त्य गर्नेदेखि हरेक प्रकारका असमानता हटाउन स्थानीय सरकार लागि परेको छ, जसका लागि सबैसँगको परामर्श चलिरहेको छ ।’ उनले दलित र महिलामैत्री कामको लागि पालिका सरकार जिम्मेवारपूर्वक लागि परेको समेत बताए ।

प्रकाशित : मंसिर ६, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

मतदाताको रोजाइमा नयाँ उम्मेदवार

पुराना दलहरुप्रति मतदाताको निराशासँग वितृष्णा, सुध्रन दबाब
दुर्गालाल केसी

दाङ — यस पटकको निर्वाचनमा पुराना राजनीतिक दलहरूलाई चुनौती दिँदै नयाँ पार्टी र स्वतन्त्र उम्मेदवार अग्रपंक्तिमा देखिन थालेका छन् । प्रारम्भिक नतिजा अनुसार नयाँ दलहरूले समानुपातिक मत पनि राम्रो ल्याइरहेका छन् । यसले मतदाताको रोजाइमा नयाँ उम्मेदवार र पार्टी परेको देखिन्छ ।


सधैं एउटै खालका नेता र पार्टीलाई भोट हाल्दा खासै परिवर्तन भएको महसुस नगरेपछि यस पटक नयाँ पार्टी रोजेको घोराही–८ का वीरमान चौधरीले बताए । ‘हामीले सधैंभरि पुराना पार्टीलाई भोट हाल्दै आयौं तर उनीहरूले ठूलो काम केही गर्न सकेनन्,’ उनले भने, ‘पाँच वर्षमा एक पटक मात्रै गाउँ पस्ने नेताहरूलाई भोट दिनु ठीक लागेन ।’ शान्तिनगर गाउँपालिका–२ की रमिता नेपालीले पनि यस पटक नयाँ उम्मेदवार रोजिन् । पटकपटक पुराना पार्टीलाई रोज्दा पनि केही उपलब्धि नभएपछि नयाँलाई मत हालेको उनले बताइन् । ‘सधैं एउटै नेतालाई भोट हाल्नुपरेको छ । जति पटक चुनाव जिते पनि हुने केही होइन,’ उनले भनिन्, ‘दिक्क लाग्यो अनि नयाँ उम्मेदवारलाई भोट हालें ।’

अहिले जिल्लाको मतपरिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित मत ल्याएको छ । युवा उम्मेदवाहरू चुनावी मैदानमा आउनु र पुराना पार्टीप्रतिको वितृष्णा बढ्दै जानु नै नयाँ पार्टीको उदयको कारण भएको नागरिक समाज दाङका संयोजक एवं राजनीतिक विश्लेषक केवी मशालले बताए । ‘जनतामा धेरै नै निराशा र वितृष्णा छ । नेताहरूले केही गर्न सकेनन् भन्ने गुनासो छ,’ उनले भने, ‘यही आक्रोश मतमा व्यक्त भएको छ । सुशासन र विकासका लागि देखिनलायक कामहरू नहुनु नै पुराना दलका लागि मुख्य चुनौती बनेको छ ।’

राजनीतिक दलहरूबीच गठबन्धन भएर आफ्नो पार्टीको उम्मेदवार नहुनु पनि नयाँ पार्टीको उदयको कारण भएको मशालले बताए । ‘गठबन्धनका कारण आफ्नो पार्टीको उम्मेदवार हुन छाडे । अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल्न मन नलाग्नेहरूले नयाँ पार्टी रोजेका छन्,’ उनले भने, ‘लामो समय आफ्नो उम्मेदवार नभएपछि र प्रतिस्पर्धी दललाई मत दिन मन नलागेपछि नयाँ पार्टी छनोटमा परेको देखिन्छ ।’ यसले पुराना दलहरूलाई सुध्रन ठूलो सन्देश दिएको उनले बताए । चुनाव जितेपछि जनताको शक्तिलाई बेवास्ता गर्ने प्रवृत्तिलाई यसले ठूलो पाठ सिकाएको छ । ‘जनता नै शक्तिशाली हुन् भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘यसले आगामी दिनमा पुराना दल र नेताहरूलाई पनि सुध्रने मौका दिएको छ ।’

अहिले मात्रै होइन, विगतका निर्वाचनहरूमा पनि मतदाताले परिवर्तन खोजको देखिन्छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि भएका हरेक निर्वाचनमा जनताले दल र नेताहरू फेर्दै रोज्दै गरेका छन् । संसद्मा कांग्रेसका खुमबहादुर खड्काबाहेक जिल्लामा एक नेताले बढीमा एक पटक मात्र दोहोरिएर जित्ने अवसर पाएका छन् । खड्काले भने लगातार तीन पटक जितेका छन् । उही नेता पटकपटक उम्मेदवार भए पनि जनताले निरन्तर मत दिन सकेका छैनन् । यसकारण यहाँ कुनै पनि पार्टी या नेताले यो हाम्रो पकड क्षेत्र, यी मेरा मतदाता भनेर ढुक्क हुने अवस्था देखिँदैन ।

०४८ सालको संसदीय निर्वाचनमा तीन क्षेत्रमध्ये दुईमा कांग्रेस र एकमा एमालेले जितेको थियो । क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका हरिप्रसाद चौधरी, २ बाट नेकपा एमालेका शिवराज गौतम र ३ बाट नेपाली कांग्रेसका खुमबहादुर खड्का विजयी भएका थिए । ०४९ सालको स्थानीय निकाय निर्वाचनमा जिल्लाका ४१ निकायमध्ये ३६ वटा कांग्रेसले जितेको थियो । एमाले २, राप्रपा २ र जनमोर्चाले १ स्थानीय निकाय मात्र जितेका थिए । ०५१ को संसदीय निर्वाचनमा चार निर्वाचन क्षेत्रमध्ये तीनमा कांग्रेस र एकमा एमालेले जितेको थियो । क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका हरिप्रसाद चौधरी, २ बाट कांग्रेसका बलदेव शर्मा मजगैया, ३ बाट एमालेका शंकर पोखरेल र ४ बाट कांग्रेसका खुमबहादुर खड्का विजयी भएका थिए । ०५४ को स्थानीय निकाय निर्वाचनमा ४१ स्थानीय निकायमध्ये एमालेले ३१ वटा जितेको थियो । कांग्रेसले ६, राप्रपा २ र स्वतन्त्रले २ स्थानीय निकाय जितेका थिए ।

०५६ को संसदीय निर्वाचनमा चारवटै निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भयो । क्षेत्र नं. १ बाट खुमबहादुर खड्का, २ बाट बलदेव शर्मा मजगैया, ३ बाट कृष्णकिशोर घिमिरे र ४ बाट गेहेन्द्र गिरी निर्वाचित भए । ०६४ को संविधानसभा निर्वाचनमा सबै क्षेत्र माओवादीले जित्यो । युद्धबाट भर्खरै शान्ति प्रक्रियामा आएको माओवादीलाई सबैले वैकल्पिक शक्तिका रूपमा रोजे । क्षेत्र नं. १ मा इन्द्रजित थारू, २ मा दामाकुमारी शर्मा, ३ मा कृष्णबहादुर महरा, ४ मा शिवराज गौतम र ५ मा सुष्मा शर्मा घिमिरे निर्वाचित भए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा फेरि उल्टेर जनता पुरानै पार्टीतर्फ फर्के । पाँचवटै क्षेत्रमा कांग्रेस विजयी भयो । क्षेत्र नं. १ मा पार्वती डीसी चौधरी, २ मा सुशीला चौधरी, ३ मा राजु खनाल, ४ मा बुद्धिराम भण्डारी र ५ मा दीपक गिरी निर्वाचित भए । ०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा एक प्रदेशसभा सदस्यबाहेक सबै क्षेत्र एमाले र माओवादी केन्द्रको गठबन्धनले जित्यो । प्रदेशसभा सदस्यतर्फ क्षेत्र नं. ३ (१) मा मात्रै कांग्रेसका डिल्लीबहादुर चौधरीले जिते । प्रतिनिधिसभाको क्षेत्र नं. १ मा एमालेका मेटमणि चौधरी, २ मा माओवादी केन्द्रका कृष्णबहादुर महरा र २ मा एमालेका हीराचन्द्र केसी निर्वाचित भए । प्रदेशसभा सदस्यतर्फ १(१) मा माओवादी केन्द्रका इन्द्रजित थारू, १(२) मा एमालेका रेवतीरमण शर्मा, २(१) मा एमालेका शंकर पोखरेल, २(२) मा एमालेका अमरबहादुर डाँगी र ३(२) मा एमालेका उत्तरकुमार वली निर्वाचित भएका थिए ।

०७४ को स्थानीय तह निर्वाचनमा १० स्थानीय तहमध्ये एमालेले ६ वटा जितेको थियो । एमालेले दुई उपमहानगरपालिका र एक नगरपालिकासहित ६ स्थानीय तह जितेको थियो भने कांग्रेसले तीन र माओवादी केन्द्रले एक गाउँपालिका मात्र जितेका थिए ।

०७९ को स्थानीय तह निर्वाचनमा मतदाताको रोजाइमा नयाँ पार्टी र उम्मेदवार परे । २०७४ को निर्वाचनभन्दा कांग्रेस र माओवादी केन्द्रले आफ्नो स्थितिमा सुधार गरे भने एमालेले क्षति व्यहोर्‍यो । कांग्रेस र माओवादीले नयाँ पालिका जित्दा एमालेले ०७४ मा जितेका पालिका पनि बचाउन सकेन । एमालेले सत्ता गठबन्धनविरुद्ध लडेर पनि घोराही र तुलसीपुर उपमहानगरपालिका भने बचाउन सफल भयो । त्यहाँ एमालेले प्रमुख र उपप्रमुखसहित बहुमत वडा जितेको छ । राप्ती गाउँपालिका उपाध्यक्षबाहेक अन्य तहमा भने जित्न सकेन ।

०७४ मा तीन स्थानीय तह मात्रै जितेको कांग्रेसले अवस्था सुधार गर्दै पाँच तहमा पुग्यो । त्यतिबेला एक गाउँपालिका मात्रै जितेको माओवादी अहिले तीन पालिका जित्न सफल भयो । कांग्रेसले पाँचवटै स्थानीय तहमा प्रमुख, उपप्रमुख नै जितेको छ । दुई स्थानीय तहमा भने उपाध्यक्ष जितेको छ । कांग्रेसले लमही नगरपालिकाको प्रमुख, उपप्रमुख, बबई, शान्तिनगर, दंगीशरण र राजपुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष जितेको छ । यसैगरी माओवादीसँग गठबन्धन भएको बंगलाचुलीमा उपाध्यक्ष र एक्लै चुनाव लडेको गढवा गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

माओवादीले गठबन्धन गरेर तीन स्थानीय तहको प्रमुख मात्रै जितेको छ । बंगलाचुलीमा कांग्रेससँगको गठबन्धनमा अध्यक्ष, राप्तीमा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेर अध्यक्ष र गढवामा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेर अध्यक्ष जितेको छ । माओवादीले ०७४ मा बंगलाचुलीको अध्यक्ष र उपाध्यक्ष मात्र जितेको थियो ।

यस पटक पनि सत्ता गठबन्धनबाट कांग्रेस–माओवादी, एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टीहरू मुख्य प्रतिस्पर्धामा थिए । निर्वाचन नतिजा हेर्दा कुनै पनि पार्टीले मतदाता आफ्नो साथमा छन् भन्ने अवस्था देखिँदैन । दाङका मतदाताको रोजाइ बदलिइरहने गरेको नागरिक समाज दाङका पूर्वसंयोजक एवं राजनीतिक विश्लेषक चन्द्रराज पन्तले बताए । ‘हरेक निर्वाचनमा नयाँको खोजी भइरहेको छ । यो क्रम निरन्तर चलिरहेको छ,’ उनले भने, ‘यो परिवर्तनको चाहना हो । जनताको पक्षमा काम गर्ने भरपर्दो नेता र पार्टीको खोजी भइरहेको छ भन्ने संकेत हो ।’

पछिल्लो समय नेताहरूले पदका लागि सहजै पार्टी परिवर्तन गर्ने र विभिन्न दलहरूले गठबन्धन गरेर एक पार्टीले अर्को पार्टीलाई भोट हाल्ने परिपाटी सुरु गर्दा पनि मतको प्रवाह परिवर्तन हुने गरेको पन्तले बताए । ‘पहिले आफ्नो पार्टीमा मात्रै भोट हाल्ने भन्ने आदर्श र अनुशासन हुन्थ्यो । पछिल्लो समय जुन नेता जता पनि जान सक्ने र जुन पार्टीलाई पनि भोट हाल्न सक्ने प्रवृत्ति बढ्यो,’ उनले भने, ‘राजनीतिक सिद्धान्तका आधारमा राजनीतिक प्रतिस्पर्धा हुने चलन हरायो । यसले गर्दा पनि मतदाता प्रत्येक निर्वाचनमा नयाँ र फरक पार्टी तथा उम्मेदवारलाई मत हालिरहेका छन् ।’

भोट हालेर जिताएको पार्टी र नेताले जनताको अपेक्षाअनुसार काम नगरेपछि राम्रो काम हुने आशामा अर्को पार्टी र नेता रोज्ने गरिएको राजनीतिक विश्लेषक तथा लेखक सुशील गौतमले बताए । ‘अब त अर्कोले केही गर्ला कि भन्यो, फेरि उस्तै हन्छ । फेरि अर्को पार्टी छान्यो, फेरि उस्तै,’ उनले भने, ‘जनताले विकास र परिवर्तन खोजेका छन् । त्यसका लागि नेता र पार्टी पनि फेरिफेरि रोजिरहेका छन् तर भनेजस्तो अझै पाएका छैनन् ।’

पार्टीगत सिद्धान्तको बन्धन तोड्ने क्रम सुरु भएको र पुराना पुस्तामा समेत परिवर्तनको आकांक्षा तीव्र हुँदै गएको उनले बताए । ‘पार्टीका पुराना नेताहरूसमेत आफ्नो पार्टीभन्दा व्यक्ति रोजेर मत हाल्ने मनस्थितिमा रहेको देखिन्छ,’ उनले भने, ‘यसले जनता मात्रै होइन, पुराना नेताहरूको परिवर्तित चाहनालाई समेत प्रतिविम्बित गर्छ ।’

प्रकाशित : मंसिर ६, २०७९ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×