कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जिल्ला बाहिरबाट फर्किने मतदाता घटे

कालीकोटका करिब २० प्रतिशत मतदाता जिल्ला बाहिर रहेको निर्वाचन कार्यालयको अनुमान
तुलाराम पाण्डे

कालीकोट — दसैं–तिहारको बिदामा नातिनातिनीसहित घर आएकी कालीकोट खाडाचक्र–३ ताडीका रेसमा पाण्डे कात्तिक १४ गते विद्यालय खुलेपछि सुर्खेत गइन् । नातिनातिनी पढाउन एक वर्षदेखि सुर्खेत बस्दै आएकी ६२ वर्षीया रेशमालाई वैशाखको स्थानीय चुनावमा उम्मेदवारले गाडीको व्यवस्था गरेर सुर्खेतबाट भोट हाल्न कालीकोट ल्याए पनि यस पटक कसैले वास्ता नगरेकाले फर्किनन् ।

जिल्ला बाहिरबाट फर्किने मतदाता घटे

‘आफ्नो खर्च गरेर अरूलाई भोट हालेर क्या पाइन्या छ ?,’ उनले उनले भनिन्, ‘गाउँको चुनावमा त आफन्तलाई भोट दिन आए, अहिले कसैले बोलाएनन् किन आउनू ?’ उनका छोराबुहारी पनि ज्याला मजदुरीका लागि भारतको बैंग्लोर छन् । उनीहरू वैशाखमा पनि घर फर्किएनन् ।

खाडाचक्र–४ का सामाजिक अभियन्ता बाले विश्वकर्माकी पत्नी छविता विश्वकर्मा पनि सुर्खेतमै छिन् । वैशाखमा गाउँमा भोट हालेकी विश्वकर्मा दसैंतिहार मनाएर सुर्खेत पढ्ने ३ छोराछोरीको रेखदेख गर्न सुर्खेत झरेकी थिइन् । ‘यहाँ केटाकेटीलाई रेखदेख गर्ने कोही छैन,’ उनले भनिन्, ‘बच्चाबच्ची लिएर जान गाडी पनि सहजै पाइएन, यसपालि मत हाल्न नपाइने भयो ।’ रेशमा र छबिता मात्र होइन । यस पटक जिल्ला बाहिर रहेका अधिकांश मतदाता घर फर्किएका छैनन् । कालीकोटका करिब २० प्रतिशत मतदाता जिल्लाबाहिर रहेको जिल्ला निर्वाचन कार्यालयको अनुमान छ ।

हिउँद लागेकाले पनि मौसमी बसाइँसराइ गर्न, कामको खोजी, अध्ययनलगायत कामले घर छाड्नेको संख्या धेरै रहेको नागरिक अगुवा नमराज योगीले बताए । उनका अनुसार यस पटकको चुनावमा जिल्ला सदरमुकाम मान्म भएका पनि गाउँ फर्किएका छैनन् । ‘यो चुनाव स्थानीय तहको जस्तो नहुने रहेछ,’ नरहरिनाथ–५ रुप्सामा मतदाता नामावली भएकी जयाकुमारी बोगटीले भनिन् ‘स्थानीय तहको चुनावमा त घर आउ भनेर पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यलगायत सबै उम्मेदवारले भन्थे, यस पटक कसैले भनेनन् ।’

यहाँका विकट बस्तीका केही मतदाताहरू ज्याला मजदुरीका लागि भोट नहालेरै दसैतिहार मनाएलगत्तै भारत गइसकेका छन् । घरमा भएकामा पनि उत्साह छैन । ‘कसलाई भोट हालेर के पाइने हो ?,’ दाहा घरभएकी जयलक्ष्मी शाहीले भनिन्, ‘आफ्ना दुःख सधैं उस्तै हुन् ।’ यहाँको पलाता, पचालझरना, तिलागुफालगायत स्थानीय तहका ज्याला मजदुरी गरेर परिवार पाल्ने २० देखि ३० प्रतिशत मतदाता घरमा छैनन् । चुनावका लागि भनेर फर्किने पनि न्यून भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

चुनाव चिसो सिजनमा हुनु, ज्याला मजदुरीका लागि मौसमी बसाइँसराइ गर्ने संख्या अत्यधिक हुनु, अध्ययन, रोजगारीलगायत अवसरको खोजीमा घर छाडेकाहरू नफर्किनुले मत कम खस्ने अनुमान छ । संघ र प्रदेश सदस्यबाट जनताको धेरै अपेक्षा नहुनुजस्ता कारणले यसपल्ट स्थानीय निर्वाचनभन्दा कम मत खस्ने अनुमान गरिएको मानवअधिकारकर्मी कालीबहादुर मल्लले बताए ।

कालीकोटमा पनि सबै मतदान केन्द्रलाई सुरक्षा आकलनसहित वर्गीकरण गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘मतदाताले ढुक्क भएर मतदान गर्न गए हुन्छ,’ प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले भने, ‘सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ ।’ कालीकोटका १ सय २४ मतदान केन्द्रमध्ये जिल्ला सुरक्षा समितिले ७४ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ३६ लाई संवेदनशील र १४ वटालाई सामान्य वर्गीकरण गरी म्यादी, नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना परिचालन गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि १ हजार २५ म्यादी, ५ सय ८ जनपद प्रहरी, २ सय १५ सशस्त्र प्रहरी र ३ सय ५० जना नेपाली सेना गरी २ हजार १ सय ३ सुरक्षाकर्मी परिचालित छन् । ९ वटा स्थानीय तह रहेको कालीकोटमा एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि १७ उम्मेदवार चुनावी मैदानमा छन् ।

जिल्लाका सबै मतदान केन्द्रमा मतदान टोली पुगेर सर्वदलीय बैठकको आयोजना गरेर निर्वाचन आचारसंहिता मतदाता सुरक्षा र मतदानको बारे सहमति गरेर सहयोग गर्ने वातावरण सिर्जना गरिएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताए ।

प्रकाशित : मंसिर ४, २०७९ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?