१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

गाउँमै मतदान गर्दै मासपुरवासी

वीरेन्द्रनगर — हुम्लाको ताँजाकोट गाउँपालिका–३ मासपुर गाउँका ८२ वर्षीय आउसे रोकायाले पहिलो संविधानसभाको चुनावदेखि मतदान गरेका थिएनन् । मतदान गर्नकै लागि तीन दिन हिँड्नुपर्ने भएपछि उनले ०६४ साल यता भोट हालेनन् ।

गाउँमै मतदान गर्दै मासपुरवासी

‘उहीबेला तन्नेरी थियाँ, भोट हाल्न गयाँ,’ उनी भन्छन्, ‘आजौँडा बुडो भयाँ हँट्न डुल्न सक्दैन तीन दिन हँटिकन भोट हाल्न जान काँ सक्न्याँछौँ ।’

मासपुरवासीलाई हरेक चुनावमा मतदान केन्द्र पुग्न एक दिन, भोट हाल्न एक दिन र फर्किंदा एक दिन गरी तीन दिन लाग्थ्यो । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उनीहरूले गाउँमै भोट हाल्न पाउनेछन् । भोट हाल्न तीन दिन हिँड्नुपर्ने बाध्यता अन्त्य गर्नका लागि निर्वाचन आयोगले मासपुर गाउँमा मतदान केन्द्र राख्ने निर्णय गरेको हो । आयोगले मासपुर गाउँमा रहेको बानादेव आधारभूत विद्यालयमा मतदान केन्द्र राखेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए ।

मासपुरकी स्थानीय कौशिला बुढाले तीन दिन हिँडेर मतदानस्थलमा पुग्नुपर्ने भएकाले अहिलेसम्म मतदान नगरेको बताइन् । ‘भोट हाल्न धेरै दिन लगाएर हँट्नुपर्ने भएपछि भोट हाल्न जानाइन्थ्यौँ,’ उनले भनिन्, ‘कहिलेकाहीँ त हामी नेपाली पन होइनौँ कि जसो लाग्थ्यो तर अब दुःख नहुने भयो ।’

आफ्नै गाउँमा मतदान गर्न पाउने भएपछि मासपुरवासी हर्षित भएका छन् । ‘उहीबेला निर्वाचन आयोग भन्दै छाचुरी बोकी दौडधुप गर्दा थियौँ,’ स्थानीय टेकबहादुर रोकायाले भने, ‘अब यहीँ भोट हाल्ने भन्याछन् निको (राम्रो) भयाछ ।’ निर्वाचन कार्यालयका सूचना अधिकारी रानाका अनुसार मासपुरगाउँमा रहेको मतदान केन्द्रमा ५० मतदाता छन् । मासपुरमा २३ घरधुरीका १ सय ३ जना छन् । गाउँमा मतदाता परिचयपत्र भएका ५० जना छन् ।

कार्यालयका अनुसार ६० वर्ष माथिका १० मतदाता छन् । सदरमुकाम सिमकोट बाट पाँच दिन पैदल यात्रा गरेर मासपुर पुगिन्छ । राष्ट्रिय जनगणना २०४८ सालमा समेटिएको मासपुर त्यसयता ०५८ र ०६८ मा समेटिएन । ०७८ को जनगणनामा भने समेटिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ४, २०७९ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?