पहिरोले बन्द कर्णाली करिडोर अझै खुलेन

‘मान्छे हिँड्नै छाडेका थिए, पहिरोले हिँड्नै पर्ने बाध्यता आयो’ 
तुलाराम पाण्डे

कालीकोट — पचालझरना–७ नुवाघरबाट मान्म जान सुर्खेत जान हिँडेका देवराज बोगटी ११ घण्टाको पैदल हिँडेर सदरमुका मान्म पुगे । ‘हिँड्दा हिँड्दै खुट्टा सुन्निएर बिरामी परेको छु,’ उनले भने, ‘गाउँमा सडकसँगै विकास आए पनि फेरि पुरानै युगमा फर्किएका छौं ।’ 

पहिरोले बन्द कर्णाली करिडोर अझै खुलेन

कर्णाली करिडोरको ट्रयाक खुलेपछि पैदल नहिँडेका राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही पनि शनिबार बिहान मान्मबाट सियाला हुँदै रेगिंलको झालुंगे पुल तरेर पैदलबाटो रास्कोट पुगे । ‘पहिले हिँडेको पैदल बाटो त विरानो भएछ,’ अधिकारकर्मी शाहीले भने, ‘यसपालिको वर्षाले कालीकोटको जनजीवन अस्तब्यस्त बनायो, न हिँड्ने बाटो छ न कुनै सुरक्षित घर ।’

उनका अनुसार दसैंको समयमा झण्डै एक साता परेको अविरल वर्षाका कारण विद्यालय स्थानीयका घरसहित सडक, भवन, खानेपानी, सिँचाइसहित भौतिक पूर्वाधारमा ठूलो क्षति भएको बताए । कर्णालीको विकासको लागि दिर्घकालीन योजना र मजबुत संरचना बन्न नबन्दा ठूलो क्षति भएको उनको भनाइ छ । उनले ०७४ पछिका स्थानीय, प्रदेश र संघीय सरकारको प्राथमिकता सडक सञ्जाल भए पनि भरपर्दो, दिर्घकालीन र वातावरणमैत्री बन्न नसकेको पनि बताए ।

कर्णाली करिडोरको ठाउँठाउँमा पहिरो गएपछि यात्रुलाई गाउँबाट सदरमुकाम पुग्नै सकस छ । करिडोरअन्ततर्गतको खुलालु–लैफू सडक खण्डअर्न्तगत सान्नीत्रिवेणीको लुसागाउँबाट निरन्तर बगिरहेको पहिरोले रेगिंल हुँदै जितेगडा आउन पनि कठिन छ । ‘करिडोरमा गाडी त के पैदल हिँड्ने बाटो पनि छैन,’ पलाता–७ पारौटीका खेमराज विष्टले भने, ‘मान्म आउने १२ वर्ष पहिले हिँड्ने गोरेटो बाटोबाट हिँड्नुपर्ने भयो ।’

करिडोर बन्द भएपछि सदरमुकाम मान्म, सुर्खेत, जुम्लालगायतका ठाउँ जाने यात्रुहरू सियालाको बाटो हुँदै हिँड्न थालेको खाडाचक्र–३ ढुस्काका होटल व्यवसायी कुस्माखर पाण्डेले बताए । ‘दसैअघि त दिनका १०/१५ जना मात्र पैदल हिँड्थे,’ उनले भने, ‘अचेल डेढ/दुई सय पैदल आउँछन् ।’ पैदल यात्री बढेपछि उनको कमाइ पनि बढेको छ । कर्णाली करिडोर सञ्चालनमा हुँदा खाडाचक्र–११ रेगिंलका ७१ वर्षीय पदमबहादुर शाही घरपारीको कर्णाली करिडोर झरेर गाडीमा जिते हुदै मान्म पुग्थे । गाडी बन्द भएपछि उकालो बाटो हिँड्नु परेको उनको गुनासो छ ।

पैदल डेढ घण्टामा पुगिने बाटो जाइकोट–जिते–हुल्म–सेरिघाट हुँदै मान्म पुग्न दुई घंण्टा लागे पनि सबैले गाडी चढ्ने भएकाले पैदल यात्री नभेटिने जिम्जेडीका निलो तिरुवाले बताए । रेगिंलस्थित कर्णाली नदीको झोलुंगे पुल तरेर कर्णाली नदीको तिरैतिर कैलालीको कटासे र चिसापानी बजारसम्म पुग्ने कुनै समयको ब्यस्त पैदलमार्ग हो रेगिंल । त्यहीबाट घिउ बेच्न र नुन, लत्ताकपडालगायत सामान ल्याउन कालीकोटको मान्म, ताडी, दाहा, पिली, पाखा, छाप्रे, जुविथा, जुम्ला र मुगुसम्मका बासिन्दा भेडाघोडासहित यहीको बाटो हिड्थे ।

सडक नखुलेसम्म कालीकोटको सदरमुकाम मान्म पुग्ने प्रमुख पैदलमार्ग रेगिंलमा पुनः चहलपहल बढेको कर्णाली मावि रेगिंलका प्रधानाध्यापक धीरबहादुर शाहीले बताए । ‘बन्दजस्तै भएको बाटोमा फेरि चहलपहल सुरु भयो,’ उनले भने, ‘मान्छे हिँड्नै छाडेका थिए, पहिरोले हिँड्नै पर्ने बाध्यता आयो ।’ उनले चुनावमा भोट माग्न गाउँ पसेका उम्मेदवार र कार्यकर्ता पनि पैदल हिँडेको बताए ।

कर्णाली नदीको तिरैतिर नरहरिनाथ, रास्कोट, पचालझरना, हुँदै बाजुरा गएको कर्णाली करिडोरले स्थानीय बाटोघाटो मात्र बदलेको छैन । यहाँको जीवनशैली नै फेरिन थालेको छ । ‘कालीकोटको अनकन्टार भीर–पहरा छिचौल्दै निर्माण भएको सडकले स्थानीयको दैनिकी पनि फेरेको छ, गाउँ घरसम्मै बजार केन्द्र स्थापना भएका छन्,’ स्थानीय पदम कठायतले भने, ‘पहिले सदरमुकाम मान्मबाट पैदल दिनभरि लाग्ने थिर्पूसम्मको बाटो अचेल गाडीमा ३ घंण्टामै पुग्न सकिने भएको थियो, पहिरोले पुरानै अवस्थामा फर्कायो ।’

सदरमुकाम मान्मबाट रेगिंलको ओरालो झरेर लुसा हुँदै कोटबाडा जाने बाटो लामो समय बन्दजस्तै थियो । कर्णाली राजमार्ग बन्द भएपछि त्यहाँ आउजाउ गर्ने स्थानीयले मान्म–जित हुँदै लालीघाटको उकालोबाट धारी हुँदै जाने गरेको गाउँपालिका अध्यक्ष नगेन्द्र्रवहादुर विष्टले बताए । उनका अनुसार नरहरिनाथ गाउँपालिकामा पर्ने साविकका लालु माल्कोट र रुप्सा पुग्न खुलालु हुदै स्थानीय ओहोरदोहोर गर्छन् । उनले कर्णाली करिडोरलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा प्रचार गररे पनि पर्याप्त बजेट नदिँदा कामले गति लिन नसकेको बताए । कर्णाली करिडोरको सबैभन्दा अप्ठेरो खण्ड कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला १ सय ४५ किमि निर्माणको जिम्मा पाएको सेनाले ट्रयाक खोलेर सडक विभागलाई हस्तान्तरण गरे पनि यसपटकको पहिरोले सडक बन्द छ ।

पहिरो पन्छाउने काम भइरहेको कालीकोटका प्रजिअ रामहरि शर्माले बताए । ‘बीचबीचमा पहिरो सफा गर्न डोजर लगाइएको छ,’ उनले भने, ‘मुख्य समस्या लुसाको बगिरहने पहिरो छ ।’ ०७१ चैत्र ५ गते विशेष परिस्थितिको सडक भन्दै मन्त्री परिषद्ले कर्णाली करिडोर नेपाली सेनालाई निर्माणको जिम्मा दिएपछि कालीकोट खण्डको जीते लैफू ३९ किमि र बाजुरामा पर्ने ४४ किमिसम्मको चट्टान फुटाएर हुम्लाकोसम्म १ सय ४५ किमिसम्म ट्रयाक खुलेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित : कार्तिक २३, २०७९ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?