२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपाल एयरलाइन्सले नियमित उडान नभर्दा कर्णालीका यात्रु अलपत्र

डीबी बुढा

जुम्ला — सरकारी जहाज नेपाल एयरलाइन्सले नियमित उडान नभर्दा कर्णालीका हवाई यात्रु केही दिनयता अलपत्र परेका छन् । निजी विमान पर्यटक बोक्न पूर्वतिर गएको र सरकारी जहाजले समेत नियमित उडान नगर्दा कर्णालीका विमानस्थलमा दिनभर यात्रुहरुको भिड लाग्ने गरेको छ । 

नेपाल एयरलाइन्सले नियमित उडान नभर्दा कर्णालीका यात्रु अलपत्र

जुम्ला विमास्थलमा पछिल्लो १५ दिनमा नेपाल एयरलाइन्सले एक मात्र उडान भरेको छ । नेपाल एयरलाइन्सको आफ्नै तालिका अनुसार पनि सातामा दुई उडान भर्ने भनिएको छ । कहिले प्राविधिक समस्या भएको त कहिले मौसमको चुनौति देखाउँदै उडान रद्द हुने गरेको छ । उडान भइहालेमा एक साताअघि नै पहुँचवाला व्यक्तिले टिकट रोक्ने गर्छन् । सरकारी जहाजमा सर्वसाधारण नागरिक उड्न पाउनु सपनाजस्तै बनेको छ । सांसद, मन्त्री, नेता, ठेकेदार चढ्ने जहाजका रुपमा जुम्लामा नेपाल एयरलाइन्सलाई हेरिन्छ ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत सरकारी जहाजले आफ्नो तालिका अनुसार उडान गर्न सकेमा कर्णालीका विमानस्थलमा यात्रु अलपत्र नहुने बताउँछन् । उनले भने, ‘निजी जहाजले आफ्नो नाफाको लागि मात्र उडान भरिरहेका छन् । मन लाग्दा कर्णालीमा उडान गर्छन् । मन नलागे पर्यटक बोक्न भन्दै पूर्वतिर गएको वहाना बनाएर कर्णालीमा जाँदैनन् । कर्णाली विमानस्थलमा उनीहरुको इच्छाअनुुसार मात्र जहाज चल्छन् ।’ दसैं मनाउन आएर कर्म थलोमा फर्किने जुम्लाबासीको संख्या पनि ठूलो छ । वर्षाले कर्णालीका सडक पहिरोले अवरुद्ध छन् । दसैं मनाउन गृह जिल्ला आइपुगेका विद्यार्थी, कर्मचारी तथा बिरामी समेत विचल्ली भएका छन् ।

यात्रुहरुको माग सम्बोधन गर्नको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले प्रशासन कार्यालयबाटै यात्रुको लिस्ट बनाएर विमानस्थलमा पठाउने कार्यको प्रारम्भ गर्यो । तीन दिन निरन्तर यात्रुहरु सबै लाइनमा लागेर आफ्नो नाम लेखाए । तर प्रशासनले पठाएको लिस्ट निजी विमान कम्पनीले मानेनन् । उल्टै आफ्नो अनुकुलतामा यात्रुलाई टिकट दिएर पठाए । जसका कारण पावर र पहुँचभित्र रहेका यात्रु मात्रै जान पाए । पहुँचविहीन तर अत्यावश्यक काम भएका सर्वसाधारण बिहान विमानस्थल जाने र बेलुका होटलतिर फर्कने गरेका छन् ।

जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले सरकारी जहाजको उडान निश्चित नहुने र निजी एयर कम्पनीको जहाज पर्यटक बोक्न भन्दै पूर्वतिर लागेपछि यात्रु अलपत्र पर्ने गरेको बताउँछन् । सरकारी जहाजले १५ दिनको एक उडान गर्छ । गत साता परेको अविरल वर्षाले सडकमा पहिरो आएर कतिपय ठाउँमा यातायात सेवा ठप्प भएपछि विमानस्थलमा घुइँचो छ । अहिले दैनिक रुपमा समिट एयरले उडान गरिरहेको छ । यात्रुको वर्गीकरण गरेर प्रशासन कार्यालयले लिस्ट बनाएको छ ।

दसैं तिहारको अघिपछि निरन्तर उडान गरिरहेका निजी विमान पनि अहिले नियमित छैनन् । युवा अगुवा अनुप थापाले भने, ‘सरकारी जहाज आउन नमानेका कारण यात्रुले समस्या भोगेका छन्, जहाज दैनिक एक दुई मात्र आउँछन् । पहुँचवाला मात्र उड्छन् । पहुँच नहुने दिनभर विमानस्थलको धुलो हेरेर फर्कन्छन् ।’ उनले जिल्ला प्रशासन कार्यालय जुम्लाले निजी विमान कम्पनीले गरेको मनपरीको नियमन गर्न नसक्दा पनि समस्या भएको बताए । उनले भने, ‘सरकारी जहाज आउँदैनन् । निजी विमान कम्पनीका टिकट काउन्टर विमानस्थलभित्र छन् । जो विमानस्थलभित्र पस्न सक्यो । उसले नै टिकट पाउने हो ।’

जुम्लामा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय सबैमा उडान बढाउन आग्रह गरिएको छ । तर न नियमित जहाज आइरहेका छन् । नत आउने जहाजले प्रक्रिया पुगेका यात्रु लगेका छन् । टिकटको लागि विमानस्थलमा लफडा नै निम्तिने गरेको छ । प्रहरी घेराका बीच यात्रु उडाउनु परिरहेको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले नेपाल एयरलाइन्सले आइतबार जुम्ला उडान भर्ने बताएका थिए । तर आइतबार सरकारी जहाजको जुम्ला उडान तालिका नै भएन । मंगलबार मात्र जुम्लाका लागि उड्ने भनिएको छ । ‘एक जहाज बिग्रेको अवस्थामा छ । एक जहाजले देशभर सेवा दिनुपर्ने देखिएको छ’ उनले भने, ‘सरकारी जहाज धेरै नहुँदा समस्या छ ।’ नागरिक उड्ययन प्राधिकरण जुम्लाका अनुसार अगस्ट महिनाको १५ दिनमा समिट एयरले ७ उडान भरेको छ । ताराले ४ र नेपाल एयरलाइन्सले एक मात्र उडान भरेको छ । लामो समयदेखि सीता एयरले उडान भरेको छैन ।

जहाजमा टिकट व्यवस्थापन प्रणाली राम्रो नभएको भन्दै केही दिन अघि विद्यार्थीले आन्दोलन गरेर स्थानीय प्रशासन घेराउ गरेपछि प्रशासनले निगरानी गर्न थालेको छ । पछिल्लो ४ दिनमा लोकसेवा आयोगको परीक्षा दिने ३८ विद्यार्थी, नवौं राष्ट्रिय खेलकुदमा भाग लिने १३ जना खेलाडी, विरामीसहितका केही यात्रुलाई पठाइएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताए । वमानस्थलमा निजी विमान कम्पनीको मनपरी भएपछि प्रशासनमै लाइन लगाएर २ सय ६ जनाको नाम लिस्ट तयार पारिएको थियो । त्यो लिस्ट विमानस्थलमा पुगेपनि कार्यान्वयन भएन । प्रशासनको लिस्ट कार्यान्वयन नभएपछि ५० प्रतिशत कम्पनीको र ५० प्रतिशत प्रशासनको लिस्ट अनुसारका यात्रु उडाउने मौखिक सहमति बन्यो । तर त्यो पनि कार्यान्वयन भएन ।

जहाज कम र यात्रु बढी भएकोले व्यवस्थापन गर्न गाह्रो भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी केसरीले भने, ‘विद्यार्थी र केही बिरामी उडिसकेका छन् । अब बॉकी यात्रु उडाउने जिम्मेवारी एयरलाइन्स र नागरिक उड्ययन प्राधिकरण आफैले लिनुपर्छ । सुरक्षाको प्रबन्ध स्थानीय प्रशासनले गर्छ ।’ कर्णालीमा एकातिर विपदमा राहत, उद्धार, सड्कको पहिरो पन्छाउने विषयमा तनाव छ । अर्कोतिर जहाज नियमित नआउँदा हैरानी छ । जुम्लामा तारा, सीता र समिट एयरले उडान भर्दै आइरहेका छन् । विमानस्थलमा देखिएको समस्याका विषयमा दर्जनौं बैठक बसिसकेका छन् । तर बैठकका निर्णय कार्यान्वयन गर्न विमान कम्पनीहरुले मानिरहेका छैनन् । सरकारी संयन्त्र निरीह देखिएको छ ।


प्रकाशित : आश्विन ३०, २०७९ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?