विपद्ले क्षत–विक्षत सिंजा
जुम्ला — गत हप्तामा परेको वर्षाका कारण जुम्लाको सिंजा गाउँपालिका नराम्ररी प्रभावित भएको छ । सिंजामा भौतिक संरचनादेखि बालीनाली पूर्णरुपमा क्षति पुगेको हो । बाढी पहिरोका कारण ५१ घर पूर्णरुपमा भत्किएका छन् । ती सबै परिवार विस्थापित नै छन् ।
१ सय २० घर जोखिमपूर्ण अवस्थामा छन् । १० किलोमिटर सडक बाढीपहिरोले क्षतिग्रस्त बनाएको छ । जसका कारण सवारी आवागमन ठप्प जस्तै छ ।
सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले घरदेखि काठेपुलसम्म, धानबालीदेखि विद्यालय भवन र सडकसम्म बाढीपहिरोले क्षति पुर्याएको बताए ।
उनका अनुसार हिमा नदीमा आएको बाढीले ३५ काठेपुल बगाएको छ । एक गाउँदेखि अर्को गाउँसम्म पुग्न कठिन छ । नाग्म सिंजा हँुदै राराताल जोड्ने सडकको १० किलोमिटर खण्ड पहिरोले अवरुद्ध बनाएको छ । सिंजा गाउँपालिका खण्डमा मात्रै ६ स्थानमा पहिरो गएको थियो ।
अध्यक्ष धितालले भने, ‘वर्षासँगै आएको बाढी पहिरोले पालिकाको जनजीवन निकै कष्टकर बनेको छ ।’ सिंजाले सार्वजनिक गरेको क्षतिको विवरणले ८ सय रोपनी क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएको जनाएको छ ।
खेतीयोग्य जमिन बगाएको छ । सिमी, आलु र मकै लगायतको पाखेबाली पनि सखाप पारेको छ । अध्यक्ष धितालले भने, ‘बाढी पहिरोमा परेर ३० पशुचौपायसमेत बेपत्ता छन् । सैयौं नागरिक पालमुनि बस्नु परेको अवस्था छ ।’ विद्यालय भवन र विद्यालयमा खेल मैदान समेत भत्किएका छन् । जसले विद्यालय सञ्चालन गर्न र खेलकुदका क्रियाकलाप गर्न बाधा पुगेको छ ।
१५ विद्यालय भवन र मैदानमा क्षति पुगेको पालिकाले संकलन गरेको तथ्यांकमा उल्लेख छ । पालिका कार्यालय समेत डुबानमा परेर ६ मोटरसाइकल र महत्त्वपूर्ण कागजातमा समेत क्षति पुगेको सिंजाले जनाएको छ । वर्षाले पालिकामा जडान गरिएको सोलार सेट पूर्णरुपमा ध्वस्त बनाएको छ । पालिकामा रहेका १० वटा सोलार प्यानलसहित जडान गरिएको सोलार सेट ध्वस्त भएको छ । नराकोट प्रहरी चौकी पनि क्षतिग्रस्त रहेको जनाइएको छ ।
पालिका केन्द्र नराकोट बजारमा २२ वटा पसलको सामान बाढीले बगाएको छ । केही सामान भिजाएको र केही सामान पुरिएको अवस्थामा छ । कृषि शाखाका अनुसार ६ हजार स्याउका बिरुवा पहिरोले पुरिएका छन् । बाढीले खोला किनारमा बनाइएको पिठो पिस्न प्रयोग हुने पानी घट्ट बगाएको छ ।
१९ वटा कुला भत्किएका छन् । चार वटा कुटानी, पिसानी र तेल प्रशोधन तथा काठ च्यात्ने मिल भत्केका छन् । पालिकाभित्र रहेका २० वटा खानेपानीका परियोजना बाढी पहिरोले बगाएको छ । अहिले खानेपानीको चरम समस्या रहेको पालिका अध्यक्ष धितालले बताए ।
पाँचवटा साना लघु जलविद्युत् परियोजना बाढी पहिरोका कारण ध्वस्त भएका छन् । सिंजा अन्धकार छ । पहिरोले जोडु, भाडगाउँ र चुलेल गाउँको बस्ती सार्नुपर्ने अवस्था रहेको छ । बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्याएको सिंजालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न समेत माग गरिएको छ ।
सिंजा गाउँपालिकासँगै हिमा र कनकासुन्दरीमा पनि बाढी पहिरोले क्षति पुर्याएको भन्दै संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कनकासुन्दरी, हिमा र सिंजामा जनधनको अत्यधिक क्षति भएकाले संघीय सरकारलाई राहत, उद्धार तथा पुन:स्थापनाका लागि सहयोग गर्न आग्रह गरेको छ ।
बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को (१)बमोजिम जुम्ला जिल्लाका कनकासुन्दरी, सिंजा, हिमा र तातोपानीका वडा नम्बर १, ३, ४, ६, ७ र ८ वडा, तिला गाउँपालिका वडा नम्बर १, २, ३, ४, ६ र ७, गुठीचौर गाउँपालिकाको १ र २ र पातारासीको ३ नम्बर वडालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरी पठाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केसरीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार जुम्लामा जुम्लामा एक हजार ६ सय ७५ परिवार विस्थापित भएका छन् । तीन सय १६ घर पूर्ण क्षति, चार सय ४० घर उच्च जोखिम, सात सय २६ घरमा आशिंक क्षति सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । उनका अनुसार बाढी पहिरोमा परेर जुम्लामा मात्रै १० जनाको ज्यान गएको छ भने एकजना बेपत्ता छन् ।
प्रकाशित : आश्विन २९, २०७९ १२:२४