९३ ठाउँमा पहिरो- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९३ ठाउँमा पहिरो

तुलाराम पाण्डे

कालीकोट — कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकखण्डको ९३ ठाउँमा पहिरो गएको छ । लगातार झन्डै एक सातासम्म भएको वर्षाका कारण कालीकोटको खण्डमा मात्र ७३ ठाउँमा पहिरो गएको छ । दैलेख र जुम्ला खण्डमा पहिरोले सडक अवरुद्ध भएको छ ।

जहाज पनि नचलेकाले जुम्ला, मुगु, हुम्ला र बाजुराको पूर्वी भेग कोल्टी क्षेत्रका बासिन्दा पनि पैदल हिँडेर आउजाउ गर्न बाध्य छन् । पहिरोले अवरुद्ध कर्णाली राजमार्गको सुर्खेत र दैलेखखण्ड एकतर्फ साना गाडी चल्ने अवस्थामा खुले पनि कालीकोट खण्ड सञ्चालनमा आउन कम्तीमा एक साता लाग्ने कालीकोटका प्रजिअ रामहरि शर्माले बताए । ‘जतातै पहिरै पहिरो छ,’ उनले भने, ‘झन् कालीकोट खण्डमा त बिजोक भयो, पहिरोले कतै पनि जान नसकिने अवस्था भयो ।’

सुर्खेतदेखि जुम्लासम्म २ सय ३२ किमि सडकमा ठाउँठाउँमा पहिरो गएकाले गाडीभन्दा पनि पैदल हिँड्नसमेत कठिन भएको स्थानीयको गुनासो छ । शुभकालिका–७ मुग्राहाबाट मान्म पुग्न ५ घंण्टा लागेको पूर्वपालिका उपाध्यक्ष पम्फा शाहीले गुनासो पोखिन् । उनका अनुसार राजमार्गको कतिपय ठाउँमा त पैदल हिँड्ने बाटो पनि छैन । ‘पूरै सडक पहिरोले क्षतविक्षत बनाएको छ,’ उनले भनिन्, ‘मोल्फाबाट मान्मसम्म १४ किमि मात्र दूरी हो, तर ३ घण्टामा पनि बाटो पूरा गर्न मुस्किल छ ।’ उनले मोल्फायता मात्र २१ ठाउँमा ठूल्ठूलो पहिरो गएको बताइन् ।

कर्णाली राजमार्गको हुल्म, सेरिघाट, सुनार खोला, ताडी, हेर्ने भीर, गल्ली, छेका, मौलाकाटिया, मोल्फा, सिम्लागाड, पिली, सेरावाडा, टाकुल्ला, बाली, भैसेगौडा, टिमुरेभीर, गाल्जे, खल्लागाड, धनाडा, राचुली, भिग्मलगायतका ठाउँमा पहिरो खसेको छ । ताडीदेखि गल्लीसम्म मात्र ११ ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ । सोमबारदेखि मान्मदेखि ३ किमि दूरीको गल्लीसम्म एक्स्काभेटर लगाएर पहिरो हटाउन थालिएको सडक डिभिजन कार्यालयका सुपरभाइजर बुद्धिप्रसाद बरालले बताए । उनका अनुसार अविरल वर्षाले कतिपय ठाउँमा त राजमार्ग थियो भन्ने अनुमान नै गर्न नसकिने अवस्था छ ।

कालीकोट र दैलेखको सिमानामा नजिकै पर्ने गगनेखोलामा ठूलो पहिरो खसेको छ । सेरिघाटको पक्की पुल नजिकै तिला नदीले हानेर सडक पूरै बगेको छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रुहरू अलपत्र परेका छन् । पहिरोले २ दिनदेखि बाटोमै अलपत्र परेको मुगुबाट आएका हिरा बोहराले गुनासो पोखे । ‘नेपालगन्ज जान हिँडेको ३ दिन दिन भइसक्यो,’ उनले भने, ‘सडक नखुल्दा बाटोमै अलपत्र छौं ।’ पहिरोले एक सय बढी यात्रुवाहक बस, मालवाहक ट्रक, मिनी ट्रक, ट्र्याक्टर, यात्रुवाहक जिप ठाउँठाउँमा अलपत्र परेको उनले बताए ।

यसैबीच, लगातारको वर्षाले कर्णाली करिडोर पनि पूरै अवरुद्ध छ । कर्णाली राजमार्गबाट छुटिएर बाजुरा हुँदै हुम्लाको सिमाना सल्लीसल्लासम्म ट्र्याक ओपन भएको करिडोर अहिले पूर्ण रूपमा बन्द छ । पलाता गाउँपालिकाका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमले करिडोरमा अहिले पैदल हिँड्ने बाटोसमेत नभएको बताए । उनका अनुसार कालीकोटका ५ वटा स्थानीय तहसहित बाजुराको कोल्टी क्षेत्र, मुगुको पश्चिम भेग र हुम्लाको पश्चिम भेग जोड्ने कर्णाली करिडोरमा गाडी नचल्दा यात्रुहरू पिठ्यूँमा भारी बोकेर पैदल हिँड्न बाध्य छन् ।

प्रकाशित : आश्विन २८, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

बाढीले ४९४ बिघाको धान बालीमा क्षति

कमल पन्थी

बर्दिया — जिल्लाको गुलरिया नगरपालिका–११ इन्द्रपुरका शौखत अली गद्दी बबईमा आएको बाढीले पाक्न लागेको धान डुबाएपछि चिन्तित छन् । वर्ष दिनलाई जोहो गरेर राख्ने र केही बिक्री गरेर घर खर्च टार्ने उनको सोच थियो । ‘मल र ज्यालासमेत खेर गयो,’ उनले भने, ‘अब धान किनेर खानुपर्ने भयो ।’ अहिलेसम्म धान बेचेर आम्दानी गर्थे । यस वर्ष किनेर परिवार पाल्ने अवस्था आएको उनले दुखेसो पोखे ।

स्थानीय शाहदात गद्दीले विगतमा बाढीपीडितलाई आफूले खाद्यान्न सहयोग गर्दै आएकामा अहिले आफैं पीडित बनेको बताए । ‘पाक्न लागेको धान डुबेको छ,’ उनले भने, ‘गुलरिया–११ का दर्जनौं किसान बाढीले धान डुबाएपछि भोकभोकै बस्ने अवस्थामा पुगेका छन् ।’ चाडपर्व मनाइरहेको समय बाढी आएपछि धान बाली डुबानसँगै घरमा जोहो गरी राखेको खाद्यान्नसमेत सुरक्षित स्थानसम्म पुर्‍याउन नसकेको उनीहरूले बताए । गुलरिया–४ की लक्ष्मी वलीको ४ बिघा खेतमा पाक्न लागेको धान बालीमा क्षति भएको छ । बाढीले २०७१ र २०७४ मा पनि यस्तै अवस्था भोगेको उनले सुनाइन् । ‘सरकारले क्षतिपूर्ति दिने आश्वासन दिएको थियो,’ वलीले भनिन्, ‘क्षतिपूर्ति त टाढैको कुरा, फर्केर पनि कोही आएका छैनन् ।’

एकीकृत कृषि तथा पशुपन्छी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बुधबारदेखि धान बाली क्षतिको लगत लिन थालेको बताए । गुलरिया, मधुवन र बारबर्दियामा प्रारम्भिक लगतअनुसार ४ सय ९४ बिघा धान बालीमा क्षति पुगेको उनले जनाए । जसअनुसार ३ सय ९ बिघामा लगाइएको धान बाली पूर्ण क्षति भएको छ भने १ सय ८५ बिघामा लगाएको धानमा आंशिक क्षति पुगेको छ ।

राजापुर–३ की प्रसादी थारूले भकारीमा राखेको चामल र गहुँ बाढीले डुबाएको बताइन् । ‘परिवारका सदस्यलाई सुरक्षित ठाउँमा पुर्‍याउँदा पुर्‍याउँदै घरभित्र पानी पस्यो,’ उनले भनिन् । यहाँका जञ्जिरे थारुको अवस्था पनि उस्तै छ । कर्णाली नदीमा आएको बाढीले करिब १ हजार ५ सय परिवार विस्थापित भएका छन् । घरभित्र हिलो थुप्रिएकाले केही स्थानीय अझै घर नफर्किएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

प्रकाशित : आश्विन २८, २०७९ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×