१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राउटेले पाएनन् भत्ता

ज्योति कटुवाल

दैलेख — तीन महिनासम्म सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे बस्तीमा खाद्यान्न अभाव चुलिएको छ । असोजको पहिलो साता भगवतीमाई गाउँपालिका–१ बयलतडा पुगेका राउटेहरूलाई छाक टार्नसमेत समस्या भएको हो ।

राउटेले पाएनन् भत्ता

राउटे मुखिया वीरबहादुर शाहीले ३ महिनादेखि भत्ता नपाउँदा ९ जनाको परिवारको खर्च धान्न समस्या भएको बताए । ‘अहिले त घर व्यवहार धान्न धौधौ भएको छ, थोरातिना मागेर पुग्दैन,’ उनले भने, ‘बिहान–बेलुकाको चुलो बल्न समस्या हुन थालेपछि विभिन्न गाउँगाउँमा माग्दै जान थालेका छौं ।’ उनले आफूहरूको ठूलो चाड नै दसैं भए पनि मागेर मनाइएको गुनासो गरे ।

उनले सरकारले समयमा भत्ता नदिँदा आफ्ना जनता भोकै हुन थालेको बताए । ‘बिहान–बेलुकाको छाक टार्न समस्या हुँदा मेरा जनताले आन्दोलन गर्न थालेका छन्,’ उनले भने, ‘भत्ता नआउँदा वरपरका व्यापारीले समेत उधारो सामान दिन छोडे ।’ उनका अनुसार सरकारले राउटेलाई मासिक ४ हजारका दरले फ्रतिव्यति भत्ता दिइरहेको छ ।

राउटे बस्तीमा ४६ घरपरिवारका १ सय ४३ जना छन् । सामाजिक सुरक्षा भत्ता दिन थालेपछि राउटेहरू झनै परनिर्भर बन्न थालेको स्थानीय कमल शाहीले बताए । ‘अहिले उनीहरूको परम्परागत सीप पनि लोप हुँदै गएको छ, सरकारले सामाजिक सुरक्षा दिन बानी पारेर उनीहरू झन् अल्छी बन्न थाले,’ उनले भने, ‘३ महिनायता बस्तीमा पैसाको अभाव हुँदा अधिकांशले आसपासका गाउँमा मागेर गुजारा चलाउन थालेका छन् ।’ अर्का मुखिया सूर्यनारायण शाहीले दसैंमा पनि अरूसँग मागेर खानुपरेको बताए । ‘दसैंअघि पैसा आउँछ कि भनेर वरपरका पसलबाट सामान दिन लगाइयो, अहिले पैसा माग्दै तनाव दिन थाले,’ उनले भने, ‘दिनहुँजसो पसलेहरू आएर हैरान गर्छन्, हामीसँग पैसा छैन, कसरी दिने ?’ दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले गाउँपालिकासँग समन्वय गरी यसै साता सुरक्षा भत्ता वितरण गर्न पहल गरिने बताए ।

प्रकाशित : आश्विन २७, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?