

सल्यान — लगातार दुई दिनदेखि परेको अविरल वर्षात्का कारण सल्यानको राप्ती राजमार्गलगायत दर्जन ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षात्का कारण ठाँउठाँउमा आएको पहिरोले राप्ती राजमार्ग, छिन्चु चौरजहारी सडक, जिल्लाका खलंगा-कालिमाटी, थारमारे–चौरजहारी, लुहाम–काभ्रा, मोख्ला–दमाचौर, सालचौर–निगालचुला, रामपुर–दम्दवाली, लुहाम–फलाबाङ्ग, झिम्पे लगायत सडक रातिदेखि नै अवरुद्ध भएका हुन् ।


सडक अवरुद्ध हुँदा जिल्लावासीहरू प्रभावित भएका छन् । राप्ती राजमार्ग अवरुद्ध हुँदा रातिदेखि नै यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने दसैंमा आफन्तकहाँ टीका लगाउन जानेहरू समस्यामा परेका छन् । कतिपय घरबाट बाहिर निस्कन सकेका छैनन् भने कतिपय सडक अवरुद्ध भएका कारण बीचैबाट घर फर्कन बाध्य भएका छन् ।
वर्षात्का कारण राप्ती राजमार्गको जलेखर्क र कपुरकोटको फलाटेमा गएको पहिरोका कारण राति दुई बजेदेखि सडक अवरुद्ध भएको र अहिले जेसीबी प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताए । छिन्चु चौरजहारी सडक खण्डको सल्यान क्षेत्रमा पहिरो हटाए पनि अहिले सुर्खेत क्षेत्रमा गएको पहिरोले सडक अवरुद्ध भएको उनले जानकारी दिए । उनका अनुसार अविरल वर्षात्का कारण पहिरो हटाए पनि माथिबाट खस्ने ढुंगामाटोले गर्दा सडक पूर्ण रुपमा सञ्चालनमा ल्याउन कठिनाइ भएको छ ।
वर्षात् नरोकिएको र शारदा नदीलगायत खहरे खोलामा पानी सतह बढिरहेको, ठाँउठाँउमा पहिरो खसिरहेकाले आफन्तकोमा टीका थाप्न जाँदा उच्च सतर्कता अपनाउन उनले जिल्लावासीलाई आग्रह गरेका छन् । अविरल वर्षात्कै कारण जिल्लाको कालिमाटी गाउँपालिका १ चोत्रेमा कृष्णबहादुर खत्री र उजेरी डाँगीको दुई घरसमेत भत्किएको तर मानवीय क्षति भने नभएको उनको भनाइ छ ।
अविरल वर्षात्का कारण राप्ती राजमार्ग अवरुद्ध भएपछि आफन्तकहाँ टीका लगाउन जान नसकेको र रातिदेखि नै बिचैमा अलपत्र परेको जलेखर्कका नेत्रहादुर खड्काले बताए । उनले पालिकाभित्रका सबैजसो ग्रामीण सडकमा गाडी चल्न छाडेको उनले जानकारी गराए । वर्षात्ले गर्दा यसपालिको दसैं धुमधामका साथ मनाउन नपाएको उनको भनाइ छ ।
यता कुमाख गाउँपालिकाका दलबहादुर खत्रीले बिहानै बिरामी लिएर जिल्ला अस्पताल आउने क्रममा वर्षात्का कारण हिलाम्मे सडकमा गाडी फस्दा बिरामीलाई समयमै अस्पताल पुर्याउन नसकिएको बताएका छन् । फसेको गाडी निकाल्न सम्बन्धित निकायसमक्ष आग्रह गरिएको उनले जानकारी बताए ।
प्रकाशित : आश्विन २०, २०७९ १०:२९