२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सदरमुकाम सुनसान, गाउँमा चहलपहल 

तुलाराम पाण्डे

कालीकोट — दसैंको रौनकसँगै कालीकोटको सदरमुकाम मान्म बजार सुनसान भएको छ भने गाउँमा चहलपहल बढेको छ । बजारमा रहेका ब्यापारी, कर्मचारी, राजनैतिक दलका नेता कार्यकर्ता सबै घरतिर जान थालेको देखेपछि यहाँका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले भने, 'दसैंमा एक्लै भइएला जस्तो छ ।' उनकाअनुसार धेरैजसो कर्मचारी पनि दसैं बिदामा हिँडसके । 

सदरमुकाम सुनसान, गाउँमा चहलपहल 

कोरोना कहरले यसअघिको दसैंमा गाउँमा खासै आकर्षण नभए पनि यस पटक महामारी नियन्त्रणमा आइसकेको र चुनावको माहोलले पनि गाउँबस्तीमा चहलपहल बढ्दो छ । गाउँगाउँमा राजनैतिक दलका स्थानीय पार्टी कमिटीले दसैंको शुभकामना आदान-प्रदान राख्दै मतदाता भेटघाटलाई पनि तीव्रता दिएका छन् ।

'चुनाव त लागिसकेको छैन,' एमाले नेता नगिन्न्र शाही नेशनलले भने, 'दसैंमा आफन्त भेटघाट गर्ने अवसर जुटेको छ ।' प्रतिनिधिसभा सदस्यको एकल उम्मेदवारमा सिफरिस भएका शाही एक सातादेखि रास्कोट नगरपालिकामा छन् । अन्य दलका नेता, कार्यकर्ता केन्द्रमा गठबन्धनको टुंगो लागिनसकेकाले गाउँ फर्किएका छैनन् । स्थानीय कमिटीले दसैंको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रममार्फत मतदाता भेटघाट सुरु गरिसकेको माओवादी नेता एवं रास्कोट नगर प्रमुख धर्मराज शाहीले बताए ।

विगतका दसैंमा सदरमुकाममै बस्ने कतिपय राजनैतिक दलका नेता कार्यकर्ताहरु पनि प्रदेश र संघको चुनाव हुन लागेकाले गाउँ केन्द्रित भएका छन् । विगतको तुलनामा यसपाली छिट्टै बजार सुनसान भएको नागरिक समाजका रमेश नोपालीले बताए ।

कालीकोटको सदरमुकाम मान्म बजार नयाँबस्ती भएकोले रैथाने घर कमैका छन् । धेरैजसो दसैंमा आफ्नो पुर्ख्यौली घर जाने भएकाले बजार सुनसान भएको व्यवसायी हर्कबहादुर बमले बताए । उनले यहाँका उद्योगी, व्यापारी, कर्मचारी, राजनैतिक दलका नेता, कार्यकर्ता यसपालीको दसैं मान्न आ-आफ्नो घर फिरेपछि सदरमुकाम सुनसान देखिएको सुनाए ।

अध्ययन, व्यापारलगायत कामको क्रममा घर छाडेर जिल्ला सदरमुकाम मान्म, सुर्खेत, नेपालगन्ज, बर्दिया, कैलाली, काठमाडौं तथा भारतका बम्बै, दिल्ली, कोलकाता, नैनीताल, टिहीरी, गडवाललगायत ठाउँमा पुगेका दुई हजार बढी स्थानीय यस वर्षको दसैं मनाउन घर फर्किएका प्रहरीले जनाएको छ । जिल्ला बाहिर अध्ययन, व्यापार, नोकरी र ज्याला मजदुरीका लागि गएका स्थानीय बासिन्दाहरु जिल्लाको हुल्म, खुलालु प्रहरी चौकीको बाटो हुँदै दैनिक ५ सय जना कालीकोट पस्ने गरेका छन् ।

दसैं मनाउन अध्ययनको क्रममा सुर्खेत, नेपालगन्ज र काठमाडौं गएका धेरैजसो विद्यार्थीहरु पनि घर फर्किएका छन् ।

त्यस्तै, नोकरीको क्रममा जिल्ला बाहिर गएका सेना, प्रहरी तथा अन्य कर्मचारी पनि दसैं मनाउन धमाधम घर फर्किरहेका छन् । यहाँका सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरत प्राय: सबैजसो कर्मचारी पनि घरतिर लागिसकेका छन् ।

प्रकाशित : आश्विन १६, २०७९ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?