१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दसैं मनाउन घर फर्कनेको लर्को

‘वर्ष दिनमा एकपल्ट मनाइने चाड छोड्न मनै लाग्दैन’
राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका–४, का दीपबहादुर शाही परिवारसँग दसैं मनाउन भारतको लद्दाकबाट घर आइपुगेका छन् । साउनमा मजदुरीका लागि भारत गएका उनीसहित १२ युवा मंगलबार घर फर्किए ।

सोरु गाउँपालिका–६, सोरुकोटका पन्नबहादुर शाही पनि दसैंका लागि मलेसियाबाट घर फर्किएका छन् । यी दुई मात्र होइन, यहाँका विभिन्न गाउँमा दसैं मनाउन जानेको लर्को लागेको छ । जिल्लाबाहिर र सदरमुकाममा कामविशेषले बस्दै आएकासमेत दसैं मनाउन घर फर्किरहेका छन् । भारत, खाडी मुलुक, मलेसियामा मजदुरीका लागि गएका स्थानीयसमेत धमाधम घर फर्किरहेका छन् । दसैंका लागि जहाज र गाडीबाट घर फर्कनेको लर्को लागेको छ ।

सदरमुकाम गमगढीमा घर फर्कने र किनमेल गर्नेको घुइँचो छ । दसैंमा घर आउनेको चापले रारा विमानस्थलमा उडान बढाइएको छ । कर्णाली राजमार्ग हुँदै विभिन्न जिल्लामा सञ्चालन हुने यात्रुवाहक गाडीको संख्या थपिएको छ । फोतु गाउँका मंगल शाहीले दसैं मनाउन मात्रै गाउँ आएको बताए । ‘वर्ष दिनमा एकपल्ट मनाइने चाड छोड्न मनै लाग्दैन,’ उनले भने, ‘दसैंको रौनक गाउँघरमा सुरु भइसकेको छ ।’

अध्ययन, व्यापार, जागिरलगायत कारण जिल्ला सदरमुकाम बस्दै आएका स्थानीयसमेत पुर्ख्यौली गाउँ जान थालेका छन् । दसैंका लागि विभिन्न गाउँमा लाग्ने मेला र खेलकुदको तयारी छ । गमगढीका पदमबहादुर रावलले जेठ/असारमा लेकका पशुचौपाया चराउन उक्लिएका स्थानीयसमेत झर्न थालेको बताए । गोठाला घर आउन थालेपछि लेकाली बस्तीका भेडीगोठ रित्तिएका छन् ।

अन्नबाली थन्क्याउँदै स्थानीयवासी दसैंको तयारीमा लागेका छन् । औलका विभिन्न बस्तीमा धान बाली भित्र्याइसकिएको छ । माथिल्ला भेगमा मकै, कोदो, सिमी, फापर भित्र्याउने चटारो सुरु भएको छ । लेकका बासिन्दा अन्न बाली भित्र्याएर दसैंका लागि तयारी गर्दै छन् । यस वर्ष दसैंमा तिब्बतबाट भेडाच्याङ्ग्रा नआएकाले गाउँमा खसी किन्नेको भीड बढ्न थालेको छ । अधिकांश व्यापारिक केन्द्रमा उपभोग्य सामग्री, लत्ताकपडालगायत किनमेलको चाप बढेको छ ।

जिल्लाको चार स्थानीय तहमध्ये मुगुमकार्मारोङ गाउँपालिकाका करिब ९० प्रतिशत बौद्ध धर्मावलम्बी भएकाले त्यहाँ दसैंको चहलपहल छैन । अन्य तीन स्थानीय तहमा दसैंको चहलपहल सुरु भइसकेको छ । घर सरसफाइ र लिपपोतको काममा स्थानीय खटिएका छन् ।

प्रकाशित : आश्विन १६, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?