कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अधिकार माग्दै बालबालिका

तुलाराम पाण्डे

तिलागुफा, कालीकोट — बालबालिकामा लगानी वृद्धि गरी बालअधिकार सुनिश्चित गर्न कालिकोटमा आयोजित बाल कचहरीका सहभागीले जोड दिएका छन् । बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि नगर उपप्रमुखसँग बालबालिका कार्यक्रमअन्तर्ग‍त बाल कचहरीका सहभागीले बालबालिकाविरुद्ध हुने सबैखाले हिंसा कम गर्न लगानी वृद्धि हुनुपर्नेमा जोड दिएका हुन् । 

अधिकार माग्दै बालबालिका

कार्यक्रममा तिलागुफा ६ जुविथाकी १५ वर्षीया जानकी शाहीले विद्यालयमा महिनावारी हुँदा प्याड फेर्नकै लागि दिउँसो घर जानुपर्ने बाध्यता रहेको सुनाउँदै नगरले बालबालिकाको शिक्षा, सुरक्षा र संरक्षणमा लगानी गर्नुपर्ने बताइन् । ‘विद्यालयमा व्यवस्थित खानेपानी, छात्रामैत्री शौचालयको अभाव छ; कहिले पूरा हुन्छ ?’ तिलागुफाका नगर उपप्रमुख महेन्द्रबहादुर शाहीको सहभागितामा आयोजित बाल कचहरीमा जानकीले सोधिन्‚ ‘नगरको बजेट सडकमा मात्र केन्द्रित हुने कहिलेसम्म ?’

बालअधिकार सबैको सरोकार भन्ने नारालाई व्यवहारमा उतार्न बालबालिकाको क्षमता विकास, अर्थपूर्ण सहभागिता र घर तथा विद्यालयका आधारभूत आवश्यकता पूरा गर्न स्थानीय सरकार चुकेको अर्का बालक दीपेन्द्र शाहीले दाबी गरे ।

कार्यक्रममा उपस्थित बालबालिकाहरूले बालविवाह अन्त्य गर्ने विषयमा बेवास्ता गरेको बताए । नागरिक सवलीकरण परियोजनाको सहयोगमा आयोजित बाल कचहरीमा यहाँका सरोकारवालाले नगरपालिकाले बालबालिकाको अधिकार संरक्षणका लागि बजेट विनियोजन गरेर खर्च गर्ने प्रतिबद्धता जनाए ।

तिलागुफामा बालविवाह, बाल श्रम, बालबालिकाको ओसारपसार, बालहिंसा, छोराछोरीमा लैगिंक विभेद कायमै रहेको सुनाउँदै त्यसको अन्त्यका लागि आवश्यक नीति र कार्यक्रमसहित योजना बनाइने नगर उपप्रमुख शाहीले बताए ।

प्रकाशित : आश्विन १५, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?