कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकको पर्खाइमा डोल्फु क्षेत्र

पूर्वाधार निर्माणका काम गर्न नसक्दा पर्यटकहरु राराभन्दा माथि जान सकेका छैनन् 
राजबहादुर शाही

मुगु — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासको डोल्फु क्षेत्र पर्यटकको पर्खाइमा छ । रारादेखि दुई दिनको पैदल यात्रापछि डोल्फु क्षेत्र पुग्न सकिन्छ । जहाँबाट मुगु, कोइजी मरक्कालगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

पर्यटकको पर्खाइमा डोल्फु क्षेत्र

प्राचीन शैलीमा निर्मित प्रसिद्ध छायानाथ तीर्थस्थल, तामाखानी, तिहार गुम्बा, तिहार दोभानलगायत पर्यटकीय गन्तव्य पनि डोल्फु क्षेत्रमै छन् । तर पर्यटक पुग्न नसक्दा ती पर्यटकीय गन्तव्य सुनसान बनेका छन् ।

साविक डोल्फु गाविस रेडपान्डा, सेतो प्रजातिको कस्तूरी, नाउर, घोरल, मृगलगायतका लोपोन्मुख वन्यजन्तुका लागिसमेत प्रसिद्ध छ । डोल्फु जाँदा बाटोमा साना–ठूला झन्डै डेढ सय झरना पनि हेर्न पाइने स्थानीय छिरिङ लामाले बताए । ‘पर्यटकहरूले यहाँ घुम्ने ठाउँ भनेको रारा मात्र बुझे,’ उनले भने, ‘तर राराजस्तै प्राकृतिक, सांस्कृतिक र पर्यावरणीय महत्त्वका दर्जनौं गन्तव्यहरू पनि यहाँ छन् ।’

उनले प्रचारप्रसारको कमी, पूर्वाधार विकास नहुनु, भौगोलिक विकटतालगायत कारण डोल्फु र आसपासका क्षेत्रमा पर्यटक पुग्न नसकेको बताए । उनका अनुसार डोल्फुमै पहाड छेडेको ठूलो प्वाल छ । जसलाई स्थानीयले ‘तिब्बत हेर्ने दुलो’ भन्ने गरेका छन् । डोल्फु नजिकैको मुगुगाउँमा पर्यटकका लागि झन्डै एक दर्जन घरमा होमस्टेको व्यवस्था गरिएको उनले बताए । जहाँ स्थानीय परिकारदेखि तिब्बती परिकार चाख्न पाइन्छ ।

कान्जिरवा हिमालसहित माथिल्लो मुगुको पुलु, किम्री, माग्री, किम्रीलगायत गाउँहरूमा झन्डै १२ सय प्राचीन गुम्बा र चैत्य रहेको स्थानीय कल्सान लामाले बताए । ‘लामा संस्कृतिबारे अध्ययन गर्नेहरूका लागि पनि यो ठाउँ महत्त्वपूर्ण छ,’ उनले भने, ‘हाम्रा अधिकांश रीतिथिति तिब्बतसँग मिल्ने भएकाले अध्ययता र अन्य पर्यटक पनि यहाँ आउन सक्छन् ।’

पुवागाउँमा मात्रै झन्डै डेढ सय गुफा रहेको उनको भनाइ छ । उनका अनुसार माथिल्लो मुगु यार्चागुम्बु, पाँचऔले, अत्तिस, कटुकी, भोल्तेलगायत जडीबुटीको भण्डार पनि हो । पर्यटन व्यवसायी राजु कार्कीले रारालाई केन्द्रबिन्दु बनाएर पर्यटकहरूलाई डोल्फु क्षेत्रमा घुमाउने गरी नक्सा निर्माणलगायतको काममा पहल भइरहेको बताए ।

ग्रामीण पहुँच कार्यक्रमले गमगढीदेखि चंखेली हिमालसम्म पुग्ने सडक भर्खरै निर्माण गरेकाले रारा आउने पर्यटकलाई माथिल्लो मुगु घुमाउने गरी योजना बनाइरहेको छायानाथरारा–१४ का वडाध्यक्ष जुनबहादुर बडुवालको भनाइ छ । उनका अनुसार गाडीबाट रारादेखि चंखेली हिमालको फेदीसम्म डेढ घण्टाको समयमै पुग्न सकिन्छ ।

‘रारा आएका पर्यटकलाई छायानाथ तीर्थस्थल र ऋणमोक्षलगायत ठाउँमा पुर्‍याउन सके यहाँको आर्थिक कारोबारले फड्को मार्छ,’ उनले भने, ‘तर स्थानीय तहमा आउने थोरै बजेटले पूर्वाधार निर्माणका काम गर्न नसक्दा पर्यटकहरू राराभन्दा माथि जान सकेका छैनन् ।’

प्रकाशित : आश्विन १५, २०७९ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?