लोप हुँदै चिनो–कागुनो
हुम्ला — जिल्लाको पहिचानसँग जोडिएका कागुनो, चिनो, फापरजस्ता रैथाने बाली हराउँदै गएका छन् । दुर्गम गाउँमा समेत सस्तो मूल्यमा चामल पाइन थालेपछि रैथाने बाली देख्न मुस्किल हुन थालेको हो ।
जिल्लामा हवाई मार्गबाट बर्सेनि हजारौं क्विन्टल चामल भित्रने गरेको छ । कम उत्पादन हुने जिल्लाका उच्च हिमाली क्षेत्रमा खेती हुन छोडेपछि बाहिरको खाद्यान्नको परनिर्भरता बढेको हो । ग्रामीण क्षेत्रमा रैथाने बालीको खेती हुन छाडेको खार्पुनार्थ गाउँपालिका–४ का राज जेठाराले बताए ।
जिल्ला सडक सञ्जालमा नजोडिए पनि हवाई मार्गबाट सहज खाद्यान्न आपूर्ति हुन थालेपछि अधिकांश गाउँमा खेती हुन छाडेको उनी बताउँछन् । ‘जिल्लाका अधिकांश खेतीयोग्य जमिनमा सिँचाइ सुविधा छैन,’ उनले भने, ‘बाहिरबाट आउने चामलले रैथाने बाली विस्थापित गरेको छ, दुःख धेरै र उब्जनी कम हुने भएपछि खेतीयोग्य जग्गामा पनि बाली लगाउन छोडिएको छ ।’ उनका अनुसार सडक सुविधा नहुँदा जिल्लावासी अहिले पनि महँगो मूल्यमा हवाई ढुवानी गरिएको खाद्यान्न उपभोग गर्न बाध्य छन् ।
चिनियाँ सीमा जोडिएका क्षेत्रमा तिब्बतबाट खाद्यान्न आपूर्ति हुने गरेको छ । जिल्लाका अधिकांश क्षेत्रमा ६ महिना मात्र खेती गरिन्छ । सिँचाइ सुविधा नभएका खेतीयोग्य जमिन हिउँदका ६ महिना बाँझै रहन्छन् । काउनी, चिनो, मार्सेलगायत बाली हराएपछि खाद्य संस्थान र बजारको चामलको भर पर्नुपरेको जेठारा बताउँछन् ।
कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा एक हजार आठ सय बढी खेतीयोग्य जमिन छ । कार्यालयका प्राविधिक बलबहादुर फडेराले उत्पादन कम हुने भएपछि अधिकांश गाउँमा खेती गर्न छोडिएको बताए ।
‘अधिकांशलाई आफ्नो उत्पादनले ६ महिना पनि खान नपुग्ने भएपछि खेतीयोग्य जग्गा बाँझिँदै गएको हो’ उनले सुनाए । युवापुस्ता पलायन हुनु, सिँचाइ सुविधा नहुनु, परम्परागत खेतीमा बढी दुःख हुनु, बाहिरको खाद्यान्नमा निर्भर हुनुलगायत कारण रैथानेबाली देख्न मुस्किल भएको उनको भनाइ छ । स्थानीय सरकारले कृषिलाई आधुनिकीकरण गर्न सके रैथानेबाली संरक्षणमा टेवा पुग्ने उनी बताउँछन् ।
प्रकाशित : आश्विन १५, २०७९ ०९:३९