१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

चाडमा गोदाम रित्तै

ज्योति कटुवाल

दैलेख — दैलेखमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामलका लागि ५ हजार ५ सय क्वीन्टल कोटा तोकेको छ । तर सदरमुकाम नारायण नगरपालिकास्थित मुख्य खाद्य गोदाम रित्तै छ ।

चाडमा गोदाम रित्तै

चालु आर्थिक वर्षका लागि भदौ अन्तिम साता ३ सय क्वीन्टल मात्र चामल पुगेको थियो । तर चामल पुगेको ३ दिनमै गोदाम रित्तिएको छ । सदरमुकामबाहिर खाद्यका ४ वटा बिक्री केन्द्र छन् । ती केन्द्रमा पनि गत असारयता चामल नै छैन । चामल नभएपछि चामुण्डा, ठाटीकाध, नौमुले र बेस्ताडाका डिपोहरू असार महिनायता बन्द भएका हुन् । दैलेखका लागि राजापुर, नेपालगञ्ज र सुर्खेतबाट चामल आउनुपर्ने हो । तर ठेकेदारहरूले साउनयताको सम्झौता नगरिदिएकाले समयमा बिक्री केन्द्रमा चामल नपुगेको कम्पनीले जनाएको छ । खाद्यमा चामल नभएपछि स्थानीय महँगो मूल्यमा चामल खरिद गरी उपभोग गर्न बाध्य छन् । खाद्यमा ५८ देखि ८० रुपैयाँ प्रतिकिलोमा विभिन्न ब्रान्डका चामल बिक्री हुने गरेको छ । तर खाद्यमा चामल नभएपछि प्रतिकिलो ८० रुपैयाँमा बजारबाट मोटा चामल किन्नुपरेको चामुन्डाविद्रासैनी नगरपालिका–१ की मैना बिकले बताइन् । ‘हाम्रा लागि खाद्य भन्नु मात्रै छ,’ उनले भनिन्, ‘कहिल्यै चामल पाइँदैन, त्यसैले बजारको चामलको भरमा छौं ।’

खाद्यमा चामल नभएको मौका पारी स्थानीय व्यापारीले मनपरी मूल्य बढाएको उनको भनाइ छ । नौमुले गाउँपालिका–३ का भदे थापाले गाउँमा डिपो भए पनि सधैं चामलको अभाव हुने बताए । डुंगेश्वरका कमल थापाले चामलका लागि सदरमुकाम आए पनि खाद्यमा चामल नभएपछि रित्तो हात फर्कनुपरेको बताए । ‘घण्टौं हिँडेर डिपोमा चामल लिन आइयो, गाउँका डिपोमा त चामल थिएन, यहाँ पनि रहेनछ,’ उनले भने, ‘डिपोमा चामल नपाइएपछि दोब्बर महँगोमा बजारको चामल लिनुपरेको छ ।’ उनका अनुसार बारीको अन्न नपाक्दा दसैंमा खाद्यान्न जुटाउन समस्या भएको हो ।

प्रकाशित : आश्विन १४, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?