सल्यान दुर्घटना : घाइतेको उपचारका क्रममा मृत्यु, मृतकको संख्या ९ पुग्यो- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यान दुर्घटना : घाइतेको उपचारका क्रममा मृत्यु, मृतकको संख्या ९ पुग्यो

विप्लव महर्जन

सल्यान — बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका ६ जलबाङ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटनामा परी सख्त घाइते भएका ३५ वर्षीय तीलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ । घाइते भएका उनको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा बिहीबार मृत्यु भएको हो ।

मंगलबार राति सल्यानको कपुरकोट गाउँपालिकाको मुलपानी नजिकै जिप दुर्घटना हुँदा जलबाङका आठ जनाको मृत्यु भएको थियो भने ओली गम्भीर घाइते भएका थिए । ओलीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए । उनका अनुसार मृत्यु भएका सबै विवाहमा गई भोज खाएर फर्किँदै गरेका थिए ।

दुर्घटनामा परी घटनास्थलमै चालक कपुरकोट गाउँपालिका ६ जलबाङका २१ वर्षीय जीतबहादुर बोहरा, ३७ वर्षीय धर्म ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका छोरा ११ वर्षीय बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली, रीमका ३५ वर्षीय ललित ओली रहेका छन् ।

सबैको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी गम्भिर घाइते भएका कपुरकोट गाउँपालिका ६ कै ३५ वर्षीय तीलक ओली सख्त घाइते भएका थिए ।

नौ जना सवार बोलेरो जिप रातिको समयमा चालक निदाएका कारण दुर्घटनामा परेको हुनसक्ने प्रनाउ दामोदर केसीले जानकारी दिए । बोलेरो जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

जिप दुर्घटनामा एउटै गाउँका नौ जनाको मृत्यु भएपछि पूरै गाउँ शोकमा डुबेको थियो । कपुरकोट गाउँपालिकाले शोक मनाउँदै बिहीबार पालिकाको सबै कार्यालय बन्द गरेको थियो ।

प्रकाशित : आश्विन १३, २०७९ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्

निर्वाचनमा बढीभन्दा बढी महिला सहभागी गराउँछौं : खनाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद् भएको बताएका छन् । 

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ (समाजवादी) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता खनालले व्यवहारमा लैङ्गिक समानता स्थापना गर्न अझै धेरै समय लाग्ने पनि बताए । तर आफ्नो पार्टीले आगामी मंसिरमा हुने निर्वाचनमा बढीभन्दा बढी महिलाहरूलाई सहभागी गराउने उनले प्रतिवद्धता व्यक्त गरे ।

देशमा पितृ सत्तात्मक शोषणदेखि क्रान्ति, आर्थिक, सामाजिक सांस्कृतिक शोषण, विभेदहरू कायम रहेको भन्दै त्यस्ता विभेद्‍लाई अन्त्य गर्न समाजवादको बाटोमा हिँड्नु बाहेक विकल्प नरहेको बताए ।

समाजवादले मात्रै समाजमा भएका वर्गीय शोषणलाई समाप्त गर्नसक्ने उनको धारणा थियो । हालसम्म महिलाहरूले पाएको

अधिकार पूर्ण नरहेको भन्दै जनसंख्याको हकले महिलालाई ५० प्रतिशत अधिकार दिनुपर्ने बताए । तर समाजवाद प्राप्त नहुन्जेल संघर्ष जारी राख्नुपर्ने उनको सुझाव थियो ।

‘संविधान बनाउँदा कम्तीमा पनि लैङ्गिक समानतालाई संविधानले स्वीकार गरेको छ । सिद्धान्ततः स्वीकार गरेको छ । तर अझै

व्यवहारमा लैङ्गिक समानता स्थापना गर्न धेरै माइल अघि बढ्नुपर्ने हुन्छ । धेरै लामो संघर्ष गर्नुपर्ने हुन्छ । हामीले हाम्रो देशमा पितृ सत्तात्मक शोषणदेखि क्रान्ति, आर्थिक, सामाजिक सांस्कृतिक शोषण, विभेदहरू कायम छन्, त्यो विभेदलाई अन्त्य गर्न अब हामीले समाजवादको बाटोमा हिँड्नु बाहेक हर्को कुनै विकल्प छैन,' नेता खनालले भनेका छन् ।

समाजवादमा मात्रै समाजमा मान्छेले मान्छेमाथि गर्ने सबै प्रकारका शोषण र विभेद्‍ समाप्त गर्नसकिने उनको तर्क थियो । कुनै पनि संगठन बनाउँदा महिलाहरूलाई प्राथमिकता दिने भन्दै आफ्नो पार्टीले हरेक कमिटीमा महिलालाई प्राथमिकता दिने र जागरुक बनाउने उनको प्रतिवद्धता थियो ।

‘हाम्रासामु अहिले आमनिर्वाचन आइरहेको छ, यस निर्वाचनमा बढीभन्दा बढी महिला दिदी बहिनीहरूलाई प्रत्यक्षमा वा समानुपातिकमा खडा गर्न प्रयत्नशील छौं । तर पनि पर्याप्त मात्रामा गर्न सकिएको छैन । कुनै पनि संगठन बनाउँदा महिला दिदी बिहिनीलाई प्राथमिकता दिनेछौं,' नेता खनालले भने ।

प्रकाशित : आश्विन १३, २०७९ १९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×