स्याउ बेचेर दसैं

राजबहादुर शाही

मुगु — छायानाथरारा नगरपालिका–४ ताल्चका कर्ण भाम बारीको स्याउ बेचेर दसैं मनाउने सोचमा छन् । उनको बारीमा स्याउका झन्डै ३ सय बोटहरू छन् । उत्पादित स्याउ विभिन्न सहरमा पठाउने र त्यो पैसाले दसैंमा खसीबोका, चामल, तेल र परिवारलाई नयाँ कपडा किनेर रमाइलो गरी दसैं मनाउने उनको भनाइ छ ।

स्याउ बेचेर दसैं

‘अब थोरै मात्र स्याउ बेच्न बाँकी छ, यो वर्ष कम्तीमा ४ लाख रुपैयाँ स्याउबाटै कमाउने योजना छ,’ उनले भने, ‘स्याउले गर्दा ठूला चाडपर्व मनाउनेदेखि घर खर्च चलाउन, बालबालिकाको पढाइ खर्च जुटाउन र परिवारका सदस्यलाई औषधिमुलो गर्न पुगेको छ ।’

उनका छिमेकी हरि रोकाया पनि बारीको स्याउ सहर पठाउन व्यस्त छन् । उनले आफ्नो बारीमा उत्पादन भएको दुई तिहाइ स्याउ बजार पठाइसके । ‘अब १/२ दिनमा सबै स्याउ सकिन्छ,’ उनले भने, ‘त्यसपछि ढुक्कले दसैं मनाउन पाइने भयो ।’ उनले झन्डै ७ रोपनी जग्गामा ४ सय बोट स्याउ रोपेका छन् । बारीको स्याउ बेचेपछि ३ देखि ४ लाख रुपैयाँ आम्दानी हुने उनको भनाइ छ ।

मुगुका किसानलाई अहिले स्याउ टिप्ने र बजार पठाउने चटारोले छोएको छ । उनीहरू बिहान सबेरैदेखि राति अबेरसम्म बारीमै व्यस्त देखिन्छन् । दसैंको अष्टमी नलाग्दै सबै स्याउ बिक्री गरिसक्ने उनीहरूको योजना छ । कतिपय किसानहरू भने गाडीमा स्याउ लिएर नेपालगन्ज, सुर्खेतलगायत बजार गएका छन् । उनीहरूले फर्किंदा कमाइ भएको पैसाले दसैंका लागि चाहिने खाद्यवस्तु, लत्ताकपडालगायत सामग्री ल्याउने गरेका छन् । करिब ७ सय कार्टुन स्याउ नेपालगन्ज लगेर प्रतिकिलो ६५ रुपैयाँमा बिक्री गरेको स्थानीय मायाराम रोकायाले बताए । उनका अनुसार अझै ३ सय कार्टुन स्याउ घरमै छ । त्यो स्याउ पनि दसैंअघि नै सुर्खेत लिएर बिक्री गर्ने उनको योजना छ ।

दुःखकष्ट गरी बारीमा फलाएको स्याउ बेचेर आएको पैसाले दसैं तिहार मनाउन र अरू व्यवसायमा लगानी गर्न टेवा पुगेको स्थानीय बाँचे महतराले बताए । उनका अनुसार मुगुमा प्रतिदाना ५ देखि १० रुपैयाँमा स्याउ बिक्री भइरहेको छ । एक किलोमा ४ देखि ६ दानासम्म स्याउ जान्छ । ‘यहाँ बिक्री गरेर राम्रो मूल्य पाइँदैन,’ उनले भने, ‘त्यसैले धेरैजसो स्याउ बाहिर पठाउने गरेका छौं ।’ उनका अनुसार छिमेकी गाउँहरू ढुम, कालापाल्त, झयारी, माथितुम, गिमखोला, मुन्दुलगायत लेकाली बस्तीका सबैजसो किसानलाई अहिले स्याउ टिप्ने र बजार पठाउने चटारो छ । विगत वर्षहरूमा सडक सुविधा नहुँदा बारीको स्याउ खेर गरे पनि अहिले सडक पुगेपछि स्याउले राम्रै बजार पाइरहेको उनको भनाइ छ । दुई वर्षअघिसम्म गमगढी–नाग्मा सडक पनि भरपर्दो नहुँदा स्याउले बजार पाउन सकेको थिएन । अहिले सडक स्तरोन्नति भएपछि स्याउ टिप्दै सहर पठाउन सजिलो भएको उनले जानकारी दिए ।

छायानाथरारा नगरपालिकाका झन्डै ४ सय किसानको बारीमा अहिले स्याउ फलेको छ । उनीहरूले कार्टुनमा प्याक गरेर सुर्खेत, नेपालगन्जलगायत सहरहरूमा धमाधम स्याउ पठाइरहेका हुन् ।

प्रकाशित : आश्विन १३, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?