कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जताततै अखाद्यको बिगबिगी

हरिहरसिंह राठौर

जाजरकोट — जिल्लाका ग्रामीण भेगका व्यापारिक केन्द्रहरूमा अखाद्य र म्याद गुज्रेका खाद्यान्न र दैनिक उपभोग्य सामग्री बिक्री भइरहेको गुनासो बढेपछि स्थानीय प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ । उपभोक्ताहरूले मूल्य पनि अचाक्ली बढेको भन्दै गुनासो गरेपछि अनुगमन तीव्र बनाइएको प्रशासन कार्यालयले जनाएको छ । अनुगमनका क्रममा ठूलो परिणाममा अखाद्य वस्तु बरामद भएको छ ।

जताततै अखाद्यको बिगबिगी

स्थानीय प्रशासनले सदरमुकाम आसपासका क्षेत्रमा आफैं अनुगमन गरिरहेको छ । पश्चिमी क्षेत्रका मुख्य व्यापारिक केन्द्रमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको नेतृत्वमा अनुगमन जारी राखिएको हो । अनुगमन टोलीले एक सातादेखि मोर्क, छेडा, थलह र खारालगायत बजारमा अनुगमन गरिरहेको छ ।

अनुगमन टोलीले शिवालय गाउँपालिका र छेडागाड नगरपालिका विभिन्न पसलबाट मात्रै झन्डै ५ लाख मूल्यको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका खरिदार नवीन सिंहले बताए । उनका अनुसार नागरिकको खाद्य सुरक्षामा टेवा पुर्‍याउन बजार अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा पसल दर्ता, नवीकरण भए/नभएको, मूल्यसूची राखे/नराखेको लगायतलाई पनि ध्यान दिइएको उनले जानकारी दिए । ठूला चाडपर्वहरू नजिकिएकाले उपभोक्ताहरू ठगिने, म्याद नाघेका सामानको बिक्री वितरण हुने, व्यापारीले आफूखुसी मूल्य बढाउनेलगायत गुनासो बढेको छ । गुनासोपछि संयुक्त रूपमा बजार अनुगमन थालिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अधिकृत महेन्द्र भँडेलले बताए । उनका अनुसार जाजरकोटका पश्चिमी क्षेत्रका बजारका ५५ भन्दा बढी पसलको अनुगमन गरिएको छ । ती पसलबाट ८ सय १० किलो मासको दाल, २० किलो जिरा, ११ बोरा बेसार, ४३ बोरा मिठाइ, ९ बोरा चुइगम बरामद गरिएको छ ।

सुर्खेत र नेपालगन्जका व्यापारीले म्याद नाघेका वस्तुहरू ग्रामीण बजारमा पठाउने गरेको स्थानीय नवीन सिंहले बताए । उनका अनुसार स्थानीय उपभोक्ता अधिकारबारे सचेत नहुँदा बजारमा जस्तोसुकै खाद्य सामग्रीको बिक्री भइरहेको छ । ग्रामीण बजारमा सरकारी निकायको ध्यान नगएको स्थानीय कमल केसीले बताए । भने, ‘प्रशासनले सदरमुकामका २/४ वटा पसलमा झारा टार्ने हिसाबले अनुगमन गर्छ, त्यो पनि दसैंको मुखमा मात्रै, त्यसैले पनि व्यापारीको मनपरी चलिरहेको छ ।’

प्रकाशित : आश्विन १३, २०७९ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?