विकट मासपुरमा तोकियो मतदान केन्द्र

भोट हाल्न तीन/चार दिन हिँड्नुपर्ने बाध्यता अन्त्य गर्न मासपुरमा मतदान केन्द्र राख्ने निर्णय
चाँदनी कठायत

वीरेन्द्रनगर — हुम्लाको ताँजाकोट गाउँपालिका–३ मासपुर गाउँका ८२ वर्षीय आउसे रोकायाले पहिलो संविधानसभाको चुनावदेखि भोट हालेका छैनन् । मतदान गर्नकै लागि तीन दिन हिँड्नुपर्ने भएपछि उनले ०६४ साल यता भोट नहालेका हुन् । ‘उही बेला तन्नेरी थियाँ, भोट हाल्न गयाँ,’ उनी भन्छन्, ‘आजौडा बुडो भयाँ हँट्न डुल्न सक्दैन तीन दिन हँटिकन भोट हाल्न जान काँ सक्न्याँ छौं ।’

विकट मासपुरमा तोकियो मतदान केन्द्र

मासपुरवासीलाई हरेक चुनावमा मतदान केन्द्र पुग्न एक दिन, मतदान गर्न एक दिन र फर्कन एक दिन गरी तीन दिन लाग्दै आएको थियो । ‘गाउँमै भयापुडा (भएको बेला) भोट हाल्नेछौं,’ उनले भने, ‘नत्र अठ गयो (यस्तै हो) ।’ तर अब भने उनीसहित मासपुरका बासिन्दालाई भोट हाल्न बाहिर जानुपर्ने सास्ती हटेको छ । मंसिर ४ गतेको चुनावमा भने उनीहरूले गाउँमै भोट हाल्न पाउनेछन् ।

भोट हाल्न तीन/चार दिन हिँड्नुपर्ने बाध्यता अन्त्य गर्न निर्वाचन आयोगले मासपुरमा मतदान केन्द्र राख्ने निर्णय गरेको छ । आयोगले मासपुर गाउँमा रहेको बानादेव आधारभूत विद्यालयमा मतदान केन्द्र राख्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए । मासपुरकी कौशिला बुढाले तीन दिन हिँडेर मतदान स्थलमा पुग्नुपर्ने भएकाले अहिलेसम्म मतदान नगरेको बताइन् । ‘भोट हाल्न धेरै दिन लगाएर हँट्नुपर्ने भएपछि भोट हाल्न जानाइन्थ्यौं,’ उनले भनिन्, ‘कहिलेकाहीँ त हामी नेपालीपन होइनौं कि जसो लाग्थ्यो तर अब दुःख नहुने भयो ।’

निर्वाचनस्थल टाढा भएकाले यसअघि मासपुर गाउँका युवाहरू मात्र मतदान गर्न जाने गरेका थिए । तर अब भने गाउँमै मतदान केन्द्र बन्ने भएपछि स्थानीयले मताधिकार प्रयोग गर्न पाउने भएका छन् । अबदेखि आफ्नै गाउँमा मतदान गर्न पाउने भएपछि उनीहरू हर्षित छन् । ‘उहीबेला निर्वाचन आयोग भन्दै छाचुरी बोकी दौडधुप गर्दा थियौं,’ स्थानीय टेकबहादुर रोकायाले भने, ‘अब यहीँ भोट हाल्ने भन्याछन् निको (राम्रो) भया छ ।’ उनले विगतमा मतदान केन्द्र टाढा भएकाले मतदानमा धेरै नागरिक सहभागी हुन नसकेको बताए । ‘छाँचुरी (छोराछोरी) बोकेरै जानुपर्थ्यो,’ उनले भने, ‘बुडाबुडी त हँट्न (हिँड्न) सक्ताइनन्, अब सबैले भोट हाल्न पाउने भयौं ।’

आफूहरूलाई नेताहरूले चटक्क बिर्सिएको गुनासो टेकबहादुरले गरे । ‘पहिला तिन/चार दिन हँटिकन भोट हाल्यौँ,’ उनले भने, ‘नेता कहिल्यैपन फर्किएर ह्याँ (यहाँ) आयानन् हाम्डा (हाम्रा) कुरापन सुन्यानन् ।’ निर्वाचन कार्यालयका सूचना अधिकारी रानाका अनुसार मासपुरमा रहेको मतदान केन्द्रमा ५० मतदाता छन् । मासपुर गाउँमा २३ घरधुरी छन् । गाउँको जनसंख्या १ सय ३ मात्र हो । कार्यालयका अनुसार ६० वर्षमाथिका १० मतदाता छन् । सदरमुकाम सिमकोटबाट पाँच दिन पैदल यात्रा गरेर मासपुर पुगिन्छ । राष्ट्रिय जनगणना–२०४८ सालमा समेटिएको मासपुर त्यसयता ०५८ र ०६८ मा समेटिएन थिएन ।

प्रकाशित : आश्विन १२, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?