कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जहाजहरू पूर्व पठाएपछि कर्णालीका यात्रुलाई सास्ती

डीबी बुढा

जुम्ला — दुई दिनअघि जुम्ला गुठीचौर गाउँपालिका ३ का ईश्वर बुढाले नेपालञ्जदेखि जुम्लाको लागि हवाइ यात्रा गर्न तारा एयरको टिकट लिए । उनी सहजै जुम्ला यात्रा हुनेमा ढुक्क थिए । तर एक्कासी जहाजले उडान क्यान्सिल गरेर पूर्वतिर गएको जानकारी दियो ।

जहाजहरू पूर्व पठाएपछि कर्णालीका यात्रुलाई सास्ती

बुढा भने नेपालगञ्जमै अलपत्र परे । ‘कर्णालीका लागि न भरपर्दो हवाइसेवा छ, न त सुरक्षित सडक यात्रा नै । दसैं-तिहार जस्ता चाडमा पनि ज्यानको बाजी लगाएर आउजाउ गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

कर्णालीमा उडान भरिरहेका निजी विमान कम्पनीले पर्यटक ओसार्न भन्दै जहाज पूर्वतिर पठाएपछि बुढा जस्तै कर्णालीका हजारौं हवाइ यात्रु अलपत्र परेका छन् । हुम्ला, मुगु, जुम्ला र डोल्पामा केही समययता जहाजले उडान भर्ने गरेका छैनन् ।

कर्णालीमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान भर्छन् । तर यसरी चाडबाडका बेला जहाज नै उपलब्ध नहुँदा यात्रुहरूलाई सास्ती हुने गरेको छ ।

स्थानीयहरूले भने चाडबाडमा यात्रु धेरै हुने भएकाले जहाज नियमित उडान गर्नु पर्ने माग गरेका छन् । स्थानीय जगबहादुर रोकायाले जहाजले दैनिक एक उडान सबै जहाजले गर्नुपर्ने बताए ।

नेपाल एयरलाइन्सले पनि नियमित तालिका अनसार उडान नगरिदिँदा यात्रुहरूले सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ । जुम्ला सडक यातायातको पहुंचमा रहे पनि कर्णाली राजमार्गको स्तरोन्नतिको अभाव तथा बाटोको नाजुक अवस्थाले हवाइ यतायातकै बढी प्रयोग हुने गरेको छ ।

तर हरेक चाडबाडका बेला र पर्यटक आउने सिजनमा नेपाल एयरलाइन्सले पनि नियमित सेवा दिएको छैन । विशेषगरी निजी हवाइ कम्पनीका जहाजहरू पनि दसैं तथा तिहारका बेला जुम्लामा उडान गर्दैनन् । जहाजहरू पर्यटक ओसार्ने भन्दै पूर्वतिर सारेपछि कर्णालीका जनता सेवाबाट वञ्चित भएका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले भने संस्कृति पर्यटन तथा यातायात मन्त्रीलाई कर्णालीमा नियमित उडान गर्नको लागि पहल गर्न माग गरिएको बताए । ‘कम्पनीहरूले सबै जहाज पूर्व पठाएर यात्रु बिचल्लीमा पार्ने काम जुम्ली जनतालाई सेवा नदिने नियत हो । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ आचार्यले भने ।

साथै निजी हवाइ सेवा प्रदायक कम्पनीहरूलाई प्रत्येक दिन कम्तीमा एउटा फ्लाइट र नेपाल एयरलाइन्सले समेत नियमित सेड्यूल फ्लाइट राख्न आवश्यक निर्देशनका लागि पत्र पठाइसकिएको आचार्यले बताए ।

भौगोलिक रुपमा अत्यन्तै कठिन र सहज यातायात नभएको कर्णालीका हिमाली जिल्लाहरूको एक मात्र विकल्प हवाइ यातायात सेवालाई लिइन्छ । यसैले पनि हवाइ सेवा नियमित गर्नुपर्ने स्थानीय अगुवाहरूको माग छ ।

प्रकाशित : आश्विन ११, २०७९ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?