कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बजारमा अखाद्य र म्याद सकिएका वस्तु छ्यापछ्याप्ती

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिका–९ गिठाचौरका ४५ वर्षीय नीमबहादुर रोकाले एक साताअघि जयतपानीको एक पसलबाट दसैंमा प्रयोग गर्नका ३ सय २५ रुपैयाँ प्रतिलिटरका दरले पोकाको ४ लिटर तोरीको तेल किने । ‘त्यहाँ म्याद हेरिएन, घरमा तरकारी पकाउने बेला पो तेल पड्कियो, त्यसको खोलमा हेर्दा एक वर्षअघि नै म्याद सकिएको रहेछ,’ उनले भने, ‘एउटा पोकाको तेल त त्यसै खेर गयो, अरु पोका पसलमै फिर्ता दिएको छु ।’

बजारमा अखाद्य र म्याद सकिएका वस्तु छ्यापछ्याप्ती

कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरकी निर्मला बुढाथोकीले पनि एक साताअघि चाडपर्वका लागि काभ्रा बजार गएर चामल, दाल, नुन, तेल, चाउचाउ, बिस्कुटलगायत दैनिक उपभोग्य सामग्री लिएर गइन् । अरुको म्याद भए पनि तेल र म्याद सकिएको कुरा उनले छोरा मदनले भनेपछि मात्र थाहा पाइन् । ‘आफू पढेलेखेको छैन, बिस्कुटको स्वाद नमिठो भएपछि छोराले खोलमा हेर्दा पो म्याद गएको कुरा थाहा भयो,’ उनले भनिन्, ‘हामी अशिक्षितहरू यस्ता कुरामा कति ठगिन्छौं कति ।’

दसैं नजिकिँदै गर्दा जिल्लाका ग्रामीण बजारहरूमा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती बिक्री हुने गरेका छन् । सदरमुकाम खलंगा र मुख्य बजारहरुमा स्थानीय प्रशासन र पालिकाहरुले अनुगमन गरे पनि ग्रामीण बजारमा सरकारी निकायको ध्यान नजाँदा व्यापारीहरुको मनोमानी बढिरहेको स्थानीय कमल केसीले बताए । ‘बढी सामग्री खपत हुने भएकाले व्यापारीलाई अरु बेला नबिकेको सामान बिकाउन परेको छ,’ उनले भने, ‘प्रशासनले सदरमुकामका २/४ वटा पसलमा झारा टार्ने हिसाबले अनुगमन गर्छ, त्यो पनि दसैंको मुखमा मात्रै, त्यसैले पनि व्यापारीको मनपरी चलिरहेको हो ।’

गाउँघरमा पाइने वस्तुहरुमा सबैभन्दा बढी पेय पदार्थ, चामल, तेल, चाउचाउ, बिस्कुटजस्ता वस्तुमा म्याद सकिएको हुने बाग्चौरका भीमबहादुर ओलीले बताए । ‘सहरतिरका ठूला व्यापारीले महिनौंसम्म आफ्ना गोदाममा उपभोग्य सामान थन्क्याउँछन्, अनि बिक्री नभएपछि गाउँतिर पठाइदिन्छन्,’ उनले भने, ‘गाउँका व्यापारीलाई पनि नाफासँग मात्र मतलतब छ, उपभोक्ताको स्वास्थ्यसँग कुनै चासो छैन ।’ स्थानीयमा पनि म्याद सकिएका वस्तु खानु हुँदैन भन्ने चेतनाको अभावमा गाउँमा अखाद्य वस्तु प्रयोग भइरहेको उनले बताए । जिल्लामा सामान भित्रिने कपुरकोट र सल्लीबजार नाकामा चेकजाँचमा कडाइ नहुँदा पनि खुलमखुला अखाद्य वस्तु भित्रिरहेको उनको भनाइ छ ।

कालीमाटी गाउँपालिका–५ का रणबहादुर पुनले गाउँघरमा धेरै पसल नभएका र केही सामान किन्न परे पुतलीबजार पुग्न एक घन्टा बढी गाडीमा समय लाग्ने भएकाले म्यादको ख्यालै नगरी सामानहरु किन्नु परेको बताए । ‘म्याद गुज्रेका दैनिक उपभोग्य वस्तु खानु हुदैन र बिक्री गर्नु हुदैन भन्ने चेतनाको विकास नहुँदासम्म यस्ता वस्तु पाइन छाड्दैनन्,’ उनले भने, ‘व्यापारीलाई नाफा र उपभोक्तालाई खान पाए पुग्यो, म्यादको ख्याल गर्ने प्रवृत्ति नै भएन ।’

म्याद सकिएका खाद्यवस्तु बिक्री भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रशासनमा यससम्बन्धी झण्डै २ दर्जन गुनासा आएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले बताए । उनका अनुसार दुई साताअघि बाग्चौर नगरपालिकाको थारमारे, सिद्धकुमाख गाउँपालिकाको ढोडचौर र शारदा नगरपालिका–१ श्रीनगर बजारमा अनुगमन गर्दा ठूलो परिणाममा म्याद नाघेका वस्तु राखिएको पाइएको थियो । उनले एउटै पसलबाट ५० हजारभन्दा बढी रकमको म्याद नाघेका वस्तु बरामद गरी नष्ट गरिएको बताए । एक व्यापारीलाई कारबाही समेत गरेको उनले जानकारी दिए । ‘नजिकिदै गरेको दसैं–तिहारलाई लक्षित गरी जिल्लाभरि नै बजार अनुगमन गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘बाहिरबाट गाडीमा बिक्री गर्ने सामानहरुको पनि चेकजाँच कडा बनाइएको छ ।’

प्रकाशित : आश्विन ११, २०७९ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?