पूर्वाधार अभावकै बीच खेल रौनकता- कर्णाली - कान्तिपुर समाचार

पूर्वाधार अभावकै बीच खेल रौनकता

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि कर्णालीमा झन्डै ६ सय खेलाडी छानिएका छन्
ज्योति कटुवाल

सुर्खेत — पूर्वाधार अभावकैबीच कर्णाली प्रदेशमा खेल रौनकता बढ्दै गएको छ । कर्णालीमा अधिकांश मेला पर्वमा खेल प्रतियोगिता आयोजना भइरहेका छन् । कर्णालीका सबैजसो जिल्लामा महिनैपिच्छे विभिन्न जिल्लास्तरीय खेल भइरहेका छन् ।

गाउँगाउँमा खेलकुद प्रयोगिता बढ्दै गएका छन् । राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्या पनि बढेको छ । गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि कर्णालीमा झन्डै ६ सय खेलाडी छानिएका छन् । भदौ अन्तिम साता सुर्खेत, दैलेख र कालीकोटमा सञ्चालित प्रतियोगिताबाट ती खेलाडी छनोट गरिएको हो । ‘कर्णालीमा पूर्वाधार अभावकै बीच पनि राम्रा खेलाडीहरू छानिने क्रम बढिरहेको छ,’ प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले भने, ‘यहाँ न सुविधासम्पन्न रंगशाला छन् न पर्याप्त मैदान नै, तर पछिल्लो समयमा कर्णालीमा अपेक्षाभन्दा बढी खेलाडी उत्पादन भइरहेका छन् ।’ प्रशिक्षकको अभाव र आवश्यक पूर्वाधारको कमी भए पनि खेलकुद गतिविधिमा खेलाडीको चासो निकै बढेको उनको भनाइ छ ।

कर्णालीमा पछिल्लो समय खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने क्रम बढिरहेको छ । एक महिनाअघि जुम्लाकी २३ वर्षीया सुनमाया बुढा फ्रान्समा सम्पन्न विश्वकै प्रतिष्ठित अल्ट्रारेस एक सय मिटर दौडमा दोस्रो भइन । जसमा जाजरकोटकी कामना विष्टले पनि सहभागिता जनाएकी थिइन् । खेलाडीको मनोबल गिर्न नदिन पदक जित्नेहरूलाई प्रदेश सरकारले उत्कृष्ट पुरस्कारको व्यवस्था गरेको उपाध्यक्ष हमालले बताए । ‘कर्णालीले पनि दक्ष खेलाडी उत्पादन गर्न सक्छ भनेर कर्णालीका खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा देखाएको प्रतिभाबाट पनि बुझ्न सकिन्छ,’ उनले भने, ‘ती खेलाडीहरूलाई प्रदेश सरकारका तर्फबाट पनि सानोतिनो सहयोग गरिरहेकै छौं ।’ उनका अनुसार यसै वर्ष काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ सिल्डमा एथलेटिक्समा मात्रै कर्णालीले १८ पदक जितेको थियो ।

परिषद्का उपाध्यक्ष हमालले राम्रा खेलाडीहरू उत्पादन भइरहे पनि प्रदेश सरकारले खेलकुदतर्फको बजेट कटाउँदै गएको गुनासो गरे । रारा म्याराथन, मुख्यमन्त्री खेलकुद कप, कांक्रेबिहार म्याराथनलगायतका शीर्षकहरूका बजेट प्रदेश सरकारले कटौती गरेको उनको भनाइ छ । उनका अनुसार राष्ट्रिय खेलकुद परिषद्को ४९ लाख र प्रदेश खेलकुद परिषद्को ५० लाख रुपैयाँबाट प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो । ‘खेलाडीको सुबिधा घटिरहे पनि यहाँका खेलाडीले आफ्नो अभ्यास रोकेका छैनन्,’ उनले भने, ‘यसमा तीनवटै तहका सरकार गम्भीर बन्न जरुरी छ ।’

परिषद्का सदस्य हेमा खड्काले एथलेटिक्समा कालीकोट, जुम्ला र सल्यानका खेलाडीहरूले पछिल्लो समय उत्कृष्ट खेल खेलीरहेको बताइन् । उनका अनुसार उसु, तेक्वान्दो, कराते, भारत्तोलन, ब्याडमिन्टनलगायत प्रतियोगितामा कर्णालीले राम्रा खेलाडी उत्पादन गरिरहेको छ । ‘कर्णालीमा हिमाली र पहाडी जिल्लाबाट खेलाडी ल्याउँदा र पठाउँदा यातायात र बाटो खर्चमै ठूलो रकम खर्च हुन्छ,’ उनले भनिन्, ‘आवास, खाजा खर्च, प्रशिक्षक भत्ता, पोशाकलगायत शीर्षक जोड्दा सरकारले विनियोजन गरेको बजेटले आधा पनि पुग्दैन, तर खेलाडीहरूले आफ्नै बलबुताले कर्णालीको नाम राखिरहेका छन् ।’ जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रबहादर शाहीले पूर्वाधारसँगै कर्णालीमा प्रशिक्षकको पनि अभाव रहेको बताए । उनका अनुसार सुर्खेतमा उसु, कराते, तेक्वान्दो र एथलेटिक्सका मात्र प्रशिक्षक छन् । प्रदेश राजधानीमै भलिबल र फुटबलका स्वयंसेवक प्रशिक्षक मात्र रहेको उनको गुनासो छ ।

हिमाली जिल्लामा पूर्वाधार अभाव

कर्णालीका मुगु, हुम्ला, डोल्पा र जाजरकोट अहिलेसम्म कभर्ड हल छैनन् । अन्य जिल्लामा पनि नाम मात्रका कर्भड हल छन् । कम्तीमा सबै जिल्लामा सुविधासम्पन्न कर्भड हल भएको खण्डमा ‘इन्डोर गेम’ खेलाउन सकिने प्रशिक्षकहरू बताउँछन् ।

प्रदेशभरिका १० जिल्लामा राष्ट्रिय खेलकुद परिषद्को नाममा करिब ५० रोपनी जग्गा छ । तर रगंशाला एउटा पनि छैन । प्रदेश राजधानी सुर्खेतमा एउटा कर्भड हल र सेमिकर्भड हल छ । कर्णालीको पहिलो प्रदेश गौरवको आयोजनाका रूपमा प्रदेश रंगशाला निर्माणाधीन छ । २०७८ मंसिरमा शिलान्यास गरिएको रंगशालाको अहिलेसम्म झन्डै ३० प्रतिशत काम पूरा भएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । परिषद्का अनुसार १ अर्ब ५९ करोड ४७ लाख रुपैयाँको लागतमा रंगशालाको निर्माण भइरहेको हो ।

निर्माण सुरु भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने रंगशालामा १० हजार दर्शक अट्ने क्षमता हुनेछ । जहाँ बहुउद्देश्यीय कभर्ड हल, फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्विमिङ पुल निर्माण हुनेछन् भने भीआईपी प्याराफिट तथा प्रतिक्षालयलगायतका संरचना निर्माण हुनेछन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश रंगशाला बन्दै गर्दा खेलकुदमा रौनकता बढेको बताए ।

कर्णालीमा डाक्टर उत्पादन भएजस्तै खेलाडी उत्पादन गर्ने थलोका रूपमा कर्णालीलाई चिनाउने अभियान तीव्र गतिमा अघि बढाएको उनको भनाइ छ । ‘कर्णालीलाई खेलकुदमय बनाउने अभ्यास जारी छ,’ उनले भने, ‘पूर्वाधार अभावकै बीच पनि हाम्रा खेलाडीले उत्कृष्ट खेल खेलिरहेका छन्, रंगशाला बनेपछि प्रदेशमै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजना हुनेछ ।’

प्रकाशित : आश्विन ११, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्

फेरियो चन्दननाथमा ५२ हाते लिंगो

डीबी बुढा

जुम्ला — कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो परिवर्तन गरिएको छ । प्रत्येक वर्ष घटस्थापनाको दिनमा मन्दिरमा पूजा गरेर लिंगो फेर्ने चलन छ । रंगीबिरंगी कपडाले ढाकिएको लिंगोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याउने गरिएको छ ।

ठड्याउने क्रममा लिंगो भाँचियो वा खण्डित भयो भने पूरै देशमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । एक वर्षमा ५२ हप्ता हुने भएकाले ५२ हाते लिंगो खडा गरिएको हो । देवताको जयघोष, पूजा–आरती र भजनकीर्तनका साथ लिंगो फेर्ने चलन रहेको चन्दननाथ भैरवनाथ मन्दिरका गुठी समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताए । उनका अनुसार चन्दननाथ मन्दिरसँगैको बटुक भैरवनाथ मन्दिरमा पनि ४८ हातको लिंगो र ४८ हातकै ध्वजा राखिएको छ ।

मन्दिरमा विजय स्तम्भसहित दुईवटा लिंगो ठड्याइने परम्पराअनुसार घटस्थापनाकै दिन खडा गरिँदै आएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सर्वसाधारणको सहभागितामा लिंगो ठड्याइन्छ । लिंगो ठड्याइसकेपछि मात्र जुम्ला बजार र आसपासका गाउँमा घटस्थापना गर्ने र जमरा राख्ने चलन छ ।

जुम्लावासीले लिंगो खडा गर्ने दिनमा नयाँ अन्न अर्थात् न्वागी खाने गर्छन् । मार्सी धान पनि त्यो दिनदेखि काट्न सुरु गरिन्छ । मार्सी धान भित्र्याएर चन्दननाथलाई चढाएपछि घरपरिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर न्वागी खाने प्रचलन रहेको स्थानीय चित्रलाल श्रेष्ठले बताए । उनका अनुसार वि.सं.६७० मा चन्दननाथ बाबालाई मूर्ति चढाएको दिनलाई विशेष महत्त्वका साथ हेर्ने र त्यही दिन न्वागी खाने चलन छ ।

चन्दननाथ भैरवनाथ मन्दिरको पुरानो लिंगो निकाल्दा मानिसले लिंगोमा बाँधिएका ध्वजा लैजान्छन् । पुराना ध्वजा लिए शक्ति प्राप्त हुने र अनिष्ट नहुने जनविश्वास रहेको उनले बताए । लिंगो गाड्दा खनिएको माटोसमेत बोकेर घरमा लैजाने र त्यसैमा जमरा राख्ने चलन छ । वि.सं. ६७० मा चढाएको लक्ष्मीनारायणको मूर्तिमा लेखिएको मिति हेर्दा यो वर्षसमेत गरी २ हजार ९ पटक लिंगो फेरिएको देखिन्छ । चन्दननाथमा पल्टने, थपाले र कमसले लिंगो ल्याउने गरिएको अध्यक्ष कठायतले बताए । उनका अनुसार पल्टने लिंगो, थपाले लिंगो र कमसले लिंगो ल्याउने चलन छ ।

जुम्ला राज्यको स्थापनासँगै १४४८ सालमा राजा बलिराजले चन्दननाथ मन्दिरको निर्माण गरेका थिए । १८४६ सालमा जुम्ला राज्य कब्जामा परेपछि मन्दिरको भौतिक संरचना ध्वस्त भयो । त्यसपछि सिद्ध चन्दननाथ बाबाले फेरि मन्दिर निर्माण गरी चरणपादुका बनाएर दत्तात्रयको मूर्ति राखेका थिए ।

प्रकाशित : आश्विन ११, २०७९ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×