दसैंको मुखमा चामल बिक्रीवितरण बन्द

जनकबहादुर शाही

हुम्ला — दसैंलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत दरमा चामल बिक्रीवितरण गर्दा गोदाममा ७० क्विन्टल मात्र चामल मौज्दात छ । कम्पनीले सुपथ पसलबाट ७ दिनसम्म चामल वितरण गर्दा सकिएपछि आइतबारबाट चामल बिक्री वितरण बन्द गरिएको हो । मौज्दात रहेको ७० क्विन्टल चामल आपत्कालीन अवस्थाका लागि राखिएको छ ।

दसैंको मुखमा चामल बिक्रीवितरण बन्द

सिमकोट गाउँपालिकाका ८ वटै वडाका स्थानीय, कर्मचारी र जन्म–मृत्यु संस्कारका लागि कम्पनीले सुपथ मूल्य पसलबाट चामल वितरण गरेको थियो । केन्द्रीय कार्यालयको निर्देशनबमोजिम सुपथ मूल्य पसल सञ्चालन गरिएको कम्पनीका शाखा प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । उनका अनुसार एक साताको अवधिमा २ हजार ९० क्विन्टल चामल बिक्री भएको छ ।

यसअघि गोदाममा २ हजार १ सय ६० क्विन्टल चामल मौज्दात थियो । समयमै खाद्यान्न ढुवानी नहुँदा मौज्दात रहेको चामल दसैंलाई लक्षित गरीे सहुलियत दरमा बिक्री वितरण गरिएको उनले बताए । कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट चामल वितरण गरिने बताइएको भएपनि अहिले चामल अपुग भएको भन्दै उक्त काममा पनि चामल वितरण नगर्ने जनाइएको छ । सोमबार चामल लिन कम्पनीको गोदाममा पुगेकी सिमकोट–६ की पार्वती रोकायाले चामल नपाइएपछि रित्तो हात फर्किनुपरेको बताइन् । ‘दसैंको बेला नै चामल छैन,’ उनले भनिन्, ‘चामल नभएपछि दसैं मनाउनै मुस्किल हुने भयो ।’ जिल्लाका अरू डिपो र बिक्री केन्द्रका गोदाम पनि गत असारयता खाली छन् ।

सिमकोट शाखाका लागि गत आर्थिक वर्षको १ हजार ६ सय क्विन्टल चामल ढुवानी हुन बाँकी छ । चालु आर्थिक वर्षका लागि चामल ढुवानीको ठेक्का स्वीकृत भएको छैन । डेढ महिनाअघि हवाईमार्गबाट ढुवानी गर्ने गरी ठेक्का आह्वान गरिए पनि एयरलाइन्सहरूले जिल्ला दररेटभन्दा बढी दररेट पेस गरेकाले पुनः ठेक्का गर्नुपर्ने अवस्था आएको शाखा प्रमुख अधिकारीले बताए । उनका अनुसार जिल्ला दररेटअनुसार सुर्खेतबाट प्रतिकिलो १ सय ४० र नेपालगन्जबाट १ सय ५० रुपैयाँ हवाई ढुवानी भाडा तोकिएकोमा एयरलाइन्सहरूले नेपालगन्जबाट २ सय र सुर्खेतबाट १ सय ९० रुपैयाँ दररेट पेस गरेका छन् ।

चालु आर्थिक वर्षका लागि हुम्लामा २० हजार ५ सय क्विन्टल चामल स्वीकृत भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । चाडपर्वको समय भएकाले ढुवानी व्यवस्था छिटो मिलाउन कम्पनीको केन्द्रीय कार्यालयको ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

प्रकाशित : आश्विन ११, २०७९ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?