७ वर्षदेखि विद्युत् उत्पादन ठप्प

पहिरोले क्षति पुर्‍याएपछि बन्द सान्नीगाड साना जलविद्युत् आयोजना अझै सञ्चालनमा आएन
तुलाराम पाण्डे

कालीकोट — सात वर्षअघिको पहिरोले क्षति पुर्‍याएपछि बन्द रहेको सान्नीगाड साना जलविद्युत् आयोजनाबाट अझै उत्पादन सुरु हुन सकेको छैन । ०७२ असार २ को राति सान्नीगाड खोलामा आएको बाढीले जलविद्युत् केन्द्रमा क्षति पुगेको थियो ।

झन्डै १ करोड ३१ लाख रुपैयाँ लगानी गरी कुलो मर्मत गरिए पनि सञ्चालनमा नआउँदै ०७६ साउन २ मा पुनः पहिरो गएको थियो । लामो समयदेखि विद्युत् उत्पादन ठप्प हुँदा स्थानीय अँध्यारोमा बस्न बाध्य छन् ।

०७२ को पहिरोमा परी यस क्षेत्रका १४ जनाले ज्यान गुमाएका थिए । ०७६ मा आयोजनाको सिरानमा पर्ने रास्कोट–१ बडोलतोमा पहिरो गयो । जसमा परी ५ जनाले ज्यान गुमाए । आयोजना ५ सय किलोवाट क्षमताको भए पनि २ सय ५० किलोवाट मात्र विद्युत् उत्पादन हुने गरेको थियो । पहिरो पन्छाएर आवश्यक मर्मत गरी उत्पादन थाल्न पुनः सर्भे रिपोर्ट र लागत इस्टिमेटसहित गत फागुनमा नेपाल विद्युत् प्राधिकरणमा पत्राचार गरिए पनि बेवास्ता भएको कालीकोट वितरण केन्द्र प्रमुख नारायण पौडेलले बताए । ‘पहिरोले जलविद्युत् केन्द्रसम्म पुग्ने कुलो भत्कियो,’ उनले भने, ‘पहिले भत्किएको कुलो मर्मत गरिए पनि फेरि पहिरो गएपछि बजेट आएको छैन ।’

आयोजनाको विद्युत्गृह (पावरहाउस) मा ०५७ सालमा पहिलो पटक बत्ती बलेको थियो । तर, तत्कालीन विद्रोही माओवादीले काम गर्न अवरोध गरेपछि प्रसारण लाइन विस्तार गरी ०६५ सालमा मात्रै पूर्ण रूपमा आयोजना सञ्चालनमा आएको थियो । यो योजनाअन्तर्गत रास्कोटको स्युना, सिप्खाना, मुम्रा, मेहेलमुडी र सदरमुकाम मान्मसम्म विद्युतीकरण गरिएको थियो । आयोजनामा अहिलेसम्म करिब १३ करोड रुपैयाँ खर्च भएको पौडेलले बताए । ०७२ यता मात्र साविकको जिविस, विद्युत् प्राधिकरण र स्थानीय तहको गरी करिब ३ करोड रुपैयाँ खर्च भइसकेको छ । तर, पनि बत्ती बल्न नसकेको स्थानीय कमल पाण्डेले बताए । ‘यत्रो रकम लगानी भएको आयोजना बन्द भएको छ, सरकारी बजेट यत्तिकै खेर गएको छ,’ उनले भने, ‘हामी अँध्यारोमा रात गुजार्न बाध्य छौं ।’

जलविद्युत्को विकल्पमा ०७६ को कात्तिकदेखि विद्युत् वितरण केन्द्रले खाडाचक्र–३ ताडी बसपार्कमा जेनेरेटरमार्फत विद्युत् उत्पादन गरी झन्डै १ वर्ष सुविधा दिएको दियो । अहिले भने सदरमुकाम मान्ममा राष्ट्रिय प्रसारण लाइन पुगे पनि ग्रामीण भेगमा विस्तार गरिएको छैन । मान्ममा डेढ वर्षअघि राष्ट्रिय प्रसारण लाइन जोडिएपछि यो आयोजना मर्मतमा बेवास्ता भएको स्थानीय हरि न्यौपानेले गुनासो गरे । ‘सदरमुकाममा त राष्ट्रिय लाइन जोडियो,’ उनले भने, ‘तर हाम्रो गाउँसम्म अझै विद्युत् पुगेन ।’

विद्युत्गृहसम्म पुग्ने कुलो र मेसिन मर्मतसहित क्षमता विस्तारका लागि पहल भइरहेको आयोजनाका कर्मचारी जयप्रसाद पाण्डेले बताए । यसका लागि एक महिनाअघि मात्रै सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीसहितको टोलीले प्राधिकरणमा ध्यानाकर्षण पत्र बुझाएको छ । ‘विद्युत् आयोजना सञ्चालनमा आए पालिकाभरि नै विद्युतीकरण गर्न सकिन्छ,’ उनले भने, ‘यत्रो रकम खर्च भइसकेको छ, त्यत्तिकै छाड्नु पनि त भएन नि !’

प्रकाशित : आश्विन १०, २०७९ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्

सामुदायिक क्याम्पसमा इन्जिनियरिङ

पब्लिक क्याम्पसमध्ये इन्जिनियरिङ पढाइ सुरू गर्ने प्रदेशकै पहिलो बन्यो धुलाबारी
कान्तिपुर संवाददाता

काँकडभिट्टा — मेचीनगरको पहिलो सामुदायिक क्याम्पस धुलाबारी क्याम्पसमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहमा पढाइ सुरु हुने भएको छ । लामो समयदेखि थला परेको यो क्याम्पस बन्द हुने अवस्थामा थियो । २०७१ मा प्राविधिक विषयको पठनपाठन सुरु भएपछि भने क्याम्पसले लय समात्न थाल्यो ।

‘कोमामा पुगेको क्याम्पसलाई यो अवस्थासम्म ल्याएका छौ,’ प्राचार्य पुष्पराज पौडेलले भने, ‘अब हाम्रो क्याम्पस बाँच्यो भन्ने लागेको छ ।’ विगतमा यस क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी र शिक्षा संकायका विषयमा दस जोड दुई र स्नातकको पठनपाठन हुँदै आएको थियो । तर, निजी क्याम्पसको बढ्दो चापले यो धराशायी बन्दै गएको थियो ।

‘विद्यार्थीको संख्या अत्यन्त न्यून भएको र नयाँपुस्ताको ध्यान प्राविधिक विषयमा केन्द्रित भएको पाइएपछि इन्जिनियरिङ ल्याएका हौं,’ प्राचार्य पौडेलले भने । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा इन्जिनियरिङ सुरु गर्न लागिएको उनले जनाए । उनले थपे, ‘अब विद्यार्थीले न्यून खर्चमै ब्याचलर अफ इन्जिनियरिङको अध्ययन गर्न पाउनेछन् ।’ उक्त विषयका संयोजक इन्जिनियर रुद्र मैनालीले कम खर्चमा राजधानी बाहिर इन्जिनियरिङ पढ्न पाउनु खुसीको कुरा रहेको जनाए । ‘पब्लिक क्याम्पसमध्ये इन्जिनियरिङ पढाइ सुरु गर्ने हामी प्रदेशकै पहिलो हौं,’ मैनालीले भने ।

उनले भौतिक पूर्वाधार र शैक्षिक वातावरणका दृष्टिकोणले पनि धुलाबारी क्याम्पसलाई प्राविधिक विषयहरूको हव बन्न उपयुक्त रहेको जनाए । ‘जनशक्ति पनि स्थानीय स्तरमै तयार भइसकेका छन्,’ मैनालीले भने, ‘यो नगरका लागि पनि ठूलो उपलब्धि हो ।’

मैनालीका अनुसार पहिलो पटक ४८ विद्यार्थीलाई भर्ना लिइनेछ । चार जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिइनेछ । ‘प्रवेश परीक्षा र छात्रवृत्तिको सबै प्रक्रिया युनिभर्सिटीले गर्नेछ,’ उनले भने, ‘चार वर्षको आठ सेमिस्टरको पढाइका लागि प्रतिविद्यार्थीले ७ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ ।’

विज्ञान विषय लिएर १२ मा कम्तीमा सी प्लस ल्याएर पास गरेका र ३ वर्षे डिप्लोमा इन्जिनियरिङ गरेका विद्यार्थीहरू नै यो विषय पढ्न पाउने प्रावधान छ । झापामा नै पर्याप्त विद्यार्थी हुने र पूर्वी पहाडी जिल्लाहरूबाट पनि पढ्न आउने भएकाले विद्यार्थी अभाव नहुने क्याम्पस प्रशासनको दाबी छ । क्याम्पसका अध्यक्ष भीम खवासले भने, ‘इन्जिनियरिङ विषयको पठनपाठन सुरु हुनु गर्वसँगै चुनौतीको विषय पनि हो ।’ उक्त क्याम्पसकै भवनमा मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटसमेत सञ्चालन भइरहेको छ ।

प्रकाशित : आश्विन १०, २०७९ २१:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×