सडक विस्तारले २ विद्यालय पहिरोको जोखिममा


सल्यान — सडक विस्तारका क्रममा २ विद्यालय पहिरोको जोखिममा परेका छन् । खलंगा–बालुवासंग्रही सडक निर्माणका क्रममा बन्गाडकुपिण्डे नगरपालिका–८ ज्यामिरेस्थित महादेव आधारभूत विद्यालय र बाग्चौर नगरपालिका–१२ ओखरेनीस्थित बालजागृत आधारभूत विद्यालय पहिरोको जोखिममा परेका हुन् ।

सडक विस्तारका क्रममा दुवै विद्यालयको तल–माथिबाट पहिरो खस्न थालेको हो । पहिरोकै जोखिमका कारण पानी परेको बेला विद्यालय सञ्चालन गर्न समस्या भएको महादेव आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला आचार्यले बताइन् ।
‘विस्तारका क्रममा विद्यालयले चर्चेको ३ मिटर जग्गा सडकमै पर्यो । जसका कारण विद्यालय भवन भत्किने जोखिम बढेको हो,’ उनले भनिन्, ‘सडकमा गाडी चल्दा र डोजर चलाउँदा विद्यालय भवन थर्किने गरेको छ ।’ कक्षा १ देखि ५ सम्म पढाइ हुने यो विद्यालयमा ७० विद्यार्थी छन् । विद्यालयमा दुई वटा पुराना र एउटा नयाँ भवन छ । जसमध्ये पराना दुवै वटा भवन जोखिममा परेको उनले बताइन् ।
विद्यालयमुनिबाट बगेको खोला छेवैबाट सडक खन्दा भवन जोखिममा परेको बालजागृत आधारभूत विद्यालयका प्रधानाध्यापक वीरबहादुर ओलीले बताए । उनका अनुसार ३ वर्षअघि विद्यालयमाथि र मुनि दुवैतिरबाट पहिरो खसेको थियो । उक्त पहिरो रोकथाम नहुँदै सडक खनिएपछि विद्यालय भवन थप जोखिममा परेको हो ।
‘पहिरोबाट बचाउन पक्की पर्खाल तथा तारजाली लगाउन नगरपालिकामा माग गरे पनि बेवास्ता भयो,’ उनले भने, ‘विद्यालय सार्न सके बालबालिका सुरक्षित हुने थिए ।’ २०४६ सालमा स्थापना भएको यो विद्यालयमा पनि ७० विद्यार्थी नै अध्ययनरत छन् ।
प्रकाशित : आश्विन १०, २०७९ २१:१०