कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कर्णालीका यात्रु अलपत्र पारेर पर्यटक बोक्न पूर्वतिर जहाज

राजबहादुर शाही

मुगु — कर्णालीका हिमाली जिल्लामा उडान छाडेर निजी कम्पनीका जहाजहरू पर्यटक बोक्न पूर्वतिर लागेपछि यात्रुहरू अलपत्र परेका छन् । कर्णालीमा उडान गर्दै आएका तारा, समिट, सीता एयरलाइन्सका जहाजहरू दसैंको बेला पर्यटक ओसार्न पूर्वी लुक्ला, जोमसोम, पोखरातिर गएपछि मुगु, जुम्ला, डोल्पा, हुम्ला जिल्लाका यात्रुहरू अलपत्र परेका हुन् ।

तीन तारा‚ तीन सीता र चार समिट एयरलाइन्सका जहाजमध्ये हिजोआज समिटको जहाज मात्र नेपालगन्जदेखि कर्णालीसम्म उडान गर्दै आएको र अन्य सबै जहाज पर्यटक बोक्न पूर्वतिर लागेका छन् ।

नेपालगन्जबाट हुम्ला, मुगु, डोल्पा, जुम्ला जाने कर्मचारी र सर्वसाधारण यात्रु; कर्णालीबाट सुर्खेत‚ नेपालगञ्ज झर्ने यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् ।

जहाज नहुँदा एकमात्र हवाई यातायातको विकल्प मानिएको हुम्लामा समस्या उत्पन्न भएको हो । यसले गर्दा खाद्यान्न ओसार्नदेखि यात्रुहरूलाई आउजाउ गर्नसमेत बाधा परेको छ ।

जहाज विदेशी पर्यटक बोक्न पूर्वतिर लागेपछि उडान ठप्प हुन थालेको रारा हवाई नागरिक उड्डयन प्राधिकरण प्रमुख सन्तोषकुमार गौतमले बताए । हवाई उडान नहुने भएपछि यात्रुहरू गाडी चढेर आफ्नो गन्तव्यतर्फ लाग्न थालेको उनले बताए ।

कर्णालीमा आन्तरिक यात्रु बोकेर त्यति फाइदा नहुने र मौसमको बेला पूर्वतिर विदेशी पर्यटक ओसार्दा बढी आम्दानी हुने आशाले निजी एयरलाइन्सले दसैंको मुखमा कर्णाली छोडेर पूर्वतिर गएका हुन् ।

दुर्गम क्षेत्रमा उडान गर्न भनेर ल्याइएका निजी जहाज कम्पनीलाई सरकारले कर छुट दिने गरेको भए पनि जहाजहरू भने जहाँ फाइदा त्यहीँ जाने गरेको देखिएको छ । नेपाल एयरलाइन्सको जहाजले कर्णालीका हिमाली जिल्ला मुगु, हुम्ला, डोल्पामा प्रभावकारी रुपमा उडान गर्न सकेको छैन ।

प्रकाशित : आश्विन ९, २०७९ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?