कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सल्यानका सात स्थानमा दसैं-तिहार लक्षित नागरिक सहायता कक्ष

सुरक्षामा कडाइ
विप्लव महर्जन

सल्यान — दसैं-तिहारलाई लक्षित गरेर सल्यानका सात स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा घर फर्कने र बाहिर जाने यात्रुलाई आउजाउमा सहज होस् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय सल्यानले आइतबारदेखि नागरिक कक्ष स्थापना गरेका हुन् । 

सल्यानका सात स्थानमा दसैं-तिहार लक्षित नागरिक सहायता कक्ष

जिल्लाको शारदा नगरपालिकाको श्रीनगर, खलंगा, बन्गाड कुपिन्डे नगरपालिकाको सल्लीबजार, बाग्चौर नगरपालिकाको थारमारे, सिमखोली, कपुरकोट गाउँपालिकाको कपुरकोट, त्रिवेणी गाउँपालिकाको लुहाममा स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दीपेन्द्र केसीले बताए । नागरिक सहायता कक्षमा प्रहरी, ट्राफिक मिलेर बसी बाहिरबाट आउजाउ गर्ने र घर फर्कने यात्रु तथा बटुवालाई सहयोग गर्ने उनले जानकारी गराए ।

उनका अनुसार दसैं-तिहारको समयमा विशेष यात्रुको चाप बढी हुने भएकाले सवारी दुर्घटना बढी हुने गरेको छ । नागरिक सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले दुर्घटना न्यूनीकरणसम्बन्धी सवारी चालकलाई विभिन्न सचेतना गराउने छन् । गाडीको सिट क्षमताभन्दा बढी यात्रु तथा सामग्री हाल्न रोक लगाउने बताइएको छ ।

सुरक्षाकर्मीले सवारी अभावमा लामो समयसम्म अलपत्र परेका यात्रुलाई गाडीको व्यवस्था मिलाई घरसम्म पठाउन सहजीकरण गर्ने उनले जानकारी गराए । ‘घर फर्कने, बाहिर जानेले हतारहतार गर्दा सामान छुटाउने, हराउने समस्या बढी हुने गर्छ । नागरिक सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले हराएका तथा गाडीमा छुटेका सामग्री सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन थप सहजीकरण गर्ने छन्‚’ उनले भने ।

जिल्लामा दसैं-तिहारको समयमा विगतमा धेरै ठूला दुर्घटना भएकाले दुर्घटना न्यूनीकरण गर्न नागरिक सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए । दुर्घटना न्यूनीकरण गर्न सिट क्षमताभन्दा बढी यात्रु तथा सामग्री राख्न रोक लगाउने उनले जानकारी गराए ।

नजिकिँदै गरेको दसैं-तिहारमा मदिरा सेवन गरी होहल्ला बढी गर्ने, जुवातास खेल्ने तथा चोरीको जोखिम उत्तिकै बढ्ने भएकाले सुरक्षामा कडाइ गरिएको प्रजिअ आचार्यले जानकारी गराए । ‘आइतबारदेखि चौबिसै घन्टा जिल्लाभरि सुरक्षागस्तीको व्यवस्था गरिएको छ । सुरक्षाकर्मी पहिलाभन्दा दोब्बर परिचालन गरिएको छ । एक ग्रुपमा ५/६ जना हुने छन्‚’ उनले भने ।

प्रकाशित : आश्विन ९, २०७९ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?