१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चाडमा ४ हजार सुरक्षाकर्मी परिचालन

वीरेन्द्रनगर — दसैं, तिहार, छठलगायत पर्व नजिकिएसँगै कर्णाली प्रदेश प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । चाडपर्वमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई लक्षित गरी आइतबारदेखि लागू हुने गरी प्रहरीले योजना बनाएको हो ।

योजनाअनुसार चाडपर्वमा ४ हजार बढी सुरक्षाकर्मीदेखि कुकुरसम्म परिचालन गर्ने योजना छ । कार्यालयले चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै प्रदेशभरका १० जिल्लामा चार हजार एक सय ४१ जना सुरक्षाकर्मी खटाएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठका अनुसार प्रहरीले सुरक्षाकर्मी र तालिम प्राप्त कुकुर परिचालनदेखि मोवाइल गस्ती, तत्काल समस्याको सम्बोन गर्ने क्यूआरटी (क्विक रेस्पोन्स टिम) टिम परिचालन गर्दै यात्रुको सहजताका लागि सहायता कक्ष स्थापनासम्मको योजना बनाएको छ । ‘सुरक्षा व्यवस्था कडा बनाइएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रदेशका १२५ स्थानमा तत्काल सम्बोधनका लागि क्यूआरटी परिचालन गरिने छ ।’

चाडपर्वका बेला हुने चोरी, डकैती, लुटपाट र आपराधिक क्रियाकलापलाई रोक्न प्रहरीले कडा नीति लिएको छ । आपराधिक गतिविधि हुन सक्ने विभिन्न संवेदनशील स्थान तथा सीमा नाकाहरूमा कुकुरसहित चेकिङको टोलीको व्यवस्था मिलाइएको छ ।

चाडपर्वको समयमा यात्रुलाई ठग्ने, लागूऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार गर्ने गिरोहको बिगबिगी हुने भन्दै प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गर्ने कार्यालयले जनाएको छ । सुरक्षा योजनामा चार्डपर्वको अवधिमा प्रदेशभर नियमित चेक प्वाइन्ट ३१ स्थानमा हुनेछन् । उनका अनुसार झै–झगडा, जुवा तास, चोरी लुटपाट, मापसे चेकिङ तथा नियन्त्रणका लागि ८६ स्थान र २ सय ६५ स्थानमा मोबाइल गस्ती र पैदल गस्ती गरिनेछ । यस्तै ट्राफिकसहितको संयुक्त चेकिङ ५३ स्थानमा, चोरी, तस्करी, लागूऔषध कारोबार लगायत अवैध गतिविधि नियन्त्रणका लागि १८ स्थानमा चेकजाँच गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

१८ स्थानमा विशेष चेकिङअन्तर्गत दुईवटा चालकको व्यवस्था गरिने पनि प्रवक्ता श्रेष्ठले बताए । आर्थिक कारोबार हुने, धार्मिक तथा पर्यटकीय स्थलहरूको सुरक्षा तथा बजार अनुगमनका लागि प्रहरीले ७५ स्थान छुट्याएर काम गर्ने छ ।खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको कृत्रिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्ति व्यवस्था गरिने भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने तथा भित्रिने यात्रुलाई मध्यनजर गर्दै विगतको जस्तै सहायता कक्ष राखिएको छ ।

प्रकाशित : आश्विन ९, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?