कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खानेपानीले फेरियो दैनिकी

हरिहरसिंह राठौर

जाजरकोट — आफू किशोरी उमेरदेखि नै झन्डै आधा घण्टा टाढाको धाराबाट डोकोमा गाग्री बोक्ने गरेकी नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरमै अहिले धारा छ । ‘रातबिरात केही नभनी पानीका लागि आधा घण्टा हिँड्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘अहिले घर ननिकैको धाराबाट २४ सै घण्टा खानेपानी उपभोग गर्न पाइरहेका छौं ।’

उनका अनुसार गत वर्षसम्म खानेपानी ओसार्नकै लागि घरका अन्य काम पन्छाउनुपर्ने बाध्यता थियो । ्

उनले धाराको पानीलाई सदुपयोग गरी करेसाबारीमा प्रयोग गर्ने गरिएको बताइन् । धनकला आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दुःख र संघर्षका दिन पनि अहिले सम्झिन्छिन् । ‘छोराछोरी साना हुँदा उनीहरूलाई डोकाले छोपेर पानी ल्याउन जानुपर्थ्यो,’ उनले भनिन्, ‘फर्केर आउँदा बच्चा रोइकराइ निद्रामा परिसकेका हुन्थे ।’ धनकलाजस्तै ५१ वर्षीया रमिता विक पनि आँगनमै पानी आएपछि दंग छिन् । ‘आफ्नो पुस्ता त कुरै छोडौं, छोरी–बुहारीले समेत पानी बोक्न ठूलो सास्ती बेहोर्नुपर्‍यो,’ उनले भनिन्, ‘पाहुना आउँदा पनि एक लोटा पानी दिन लोभ लाग्थ्यो ।’ उनका अनुसार १ सय ४० घरधुरी रहेको चिउरीमा अहिले घरघरै धारा बनेपछि दैनिकी फेरिएको छ । पानी ल्याउन खर्चिनुपर्ने समय अरू काममा लगाइरहेको र खेर गइरहेको पानी करेसाबारीमा तरकारी खेती गरिरहेको उनले बताइन् । चिउरीमा दलित समुदायको मात्रै बसोबास छ ।

चिउरीसँगै नलगाड नगरपालिका–१ र २ का ६ सय ५० घरधुरीमा एकै पटक घरघरमा खानेपानीको धारा पुगेको हो । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र स्थानीयको झन्डै साढे ४ करोड रुपैयाँ लगानीबाट घरघरमा धारा बनेका हुन् । जसमा प्रत्येक घरधुरीले झन्डै २ साता श्रमदान गरेका थिए ।

२०७४ मा निर्माण कार्य सुरु गरिएको नहकुली खानेपानी आयोजना ५ वर्षमा पूरा भएपछि स्थानीयले खानेपानीको वर्षौंदेखिको सास्तीबाट मुक्ति पाएका हुन् ।

प्रकाशित : आश्विन ९, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?