२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सिकाइस्तर सुधार्न शैक्षिक मेला

‘पहिले त अभिभावकको विद्यालयप्रति चासो थिएन, शैक्षिक मेला र सामग्री प्रर्दशनीले उत्साह बढेको छ’ 
तुलाराम पाण्डे

कालीकोट — नरहरिनाथ–९ का ३८ वर्षीय अभिभावक नेत्र दर्जी एक हातमा डोको, डालो र अर्को हातमा नानी डोर्‍याउँदै बिहीबार जनजागरण आधारभूत विद्यालय पुगे । आफूले घरबाट बनाएर ल्याएको सामग्री सिकाइ कक्षाकी सहजकर्ता एकता बोगटीलाई दिँदै उनले भने, ‘मैले त यस्तै बुने, कस्तो पो भयो ?’

सिकाइस्तर सुधार्न शैक्षिक मेला

उनी विद्यालयले आयोजना गरेको पढाइ मेला तथा शैक्षिक सामग्री प्रदर्शनीमा सहभागी आफ्ना छोराछोरीको विद्यालय गएका थिए ।

रातो माटोले बनाएका गाई, भैंसी र भेडाको खेलौना बोकेर आएकी गंगा दर्जी पनि विद्यालयले शैक्षिक सामग्री बनाउन लगाएकोमा खुसी देखिइन् । ‘आफ्ना छोराछोरीका लागि शिक्षण सामग्री बनाउन पाइयो,’ ३ छोराछोरीकी आमा गंगाले भनिन्, ‘हामीले पनि सामान बनाउन जान्ने रहेछौं ।’ मेलामा ४३ अभिभावकले आफूले निर्माण गरेका सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गरे । नरहरिनाथ गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाको संयोजनमा सिकाइ उपलब्धि कमजोर देखिएका विद्यालय सिकाइ मेला आयोजना गरिएको हो । शिक्षक जहले विष्टले पाठ्यक्रममा आधारित शैक्षिक सामग्री निर्माण तथा प्रदर्शनीले अभिभावकको विद्यालयप्रति चासो बढेको बताए । ‘पहिले त अभिभावकको विद्यालयप्रति चासो थिएन,’ उनले भने, ‘शैक्षिक मेला र सामग्री प्रदर्शनीले उत्साह बढेको छ ।’ शतप्रतिशत दलित समुदायको सेवा क्षेत्र रहेको विद्यालयमा बालबालिका पनि अनियमित हुने समस्या रहेको उनले बताए ।

विद्यालयमा आयोजना गरिएको पढाइ मेलामा अक्षर पत्ती खेल निकै रमाइलो लागेको कक्षा ३ का छात्र रमेश नेपालीले सुनाए । शिक्षकले अक्षर लेखेर भुइँमा राख्ने र जसले छिटो चिन्यो उसलाई पुरस्कृत गर्ने विधिले बालबालिकामा पढाइप्रति रुचि बढेको अभिभावक नन्दशोभा दमाईले बताइन् । नेपाल राष्ट्रिय आधारभूत विद्यालय राइटा, जनप्रिय आधारभूत विद्यालय सितलालगायत विद्यालयमा पनि गत साता शैक्षिक मेला सञ्चालन गरिएको थियो । बालबालिकालाई नियमित विद्यालय पठाए पनि सिकाइ उपलब्धि वृद्धि हुन नसकेपछि १२ विद्यालयले पढाइ मेला सञ्चालन गरेको गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख दुर्गालाल न्यौपानेले बताए । उनका अनुसार जसका लागि अभिभावकलाई विभिन्न शैक्षिक सामग्री बनाएर ल्याउन अनुरोध गरिएको थियो । कक्षा १ देखि ३ सम्मका बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्न प्लान इन्टरनेसनलको सहयोगमा पढाइ लेखाइ सीप सुधार परियोजनाले व्यवस्थापकीय सहयोग गरेको हो ।

बालबालिकाको कमजोर सिकाइ उपलब्धि सुधार्न विद्यालयको अगुवाइमा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलगायतको सहभागितामा साउन अन्तिम साता बैठक राखिएको थियो । उक्त बैठकले पढाइ मेला आयोजना गर्ने निर्णय गरेको थियो । त्यसका लागि सिकाइ उपलब्धि कमजोर भएका विपन्न समुदायका कक्षा १ देखि ३ का बालबालिका लक्षित गरी नरहरिनाथका ३६ टोलमा सिकाइ कक्षा पनि सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

शैक्षिक रूपमा कमजोर बालबालिकालाई अतिरिक्त कक्षामार्फत सिकाउँदा सहजै सिक्न सकेको चौथीकोट आधारभूत विद्यालयकी सहजकर्ता जुनिता विष्टले बताइन् । उनका अनुसार दिउँसो विद्यालय जाने बालबालिकाकलाई बिहान बेलुकीको समयमा टोलमा अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । शिक्षा विभागअन्तर्गत राष्ट्रिय प्रारम्भिक तह पढाइ कार्यक्रमले निर्धारण गरेको मापदण्डअनुसार कक्षा ३ मा पढ्ने विद्यार्थीको पढाइ गति प्रतिमिनेट ६० शब्द हुनुपर्ने र एक वर्षमा एक हजार शब्द जान्नुपर्ने मापदण्ड छ । तर प्लानले गरेको एक अध्ययनले कालीकोटका अधिकांश कक्षा ३ का विद्यार्थीको पढाइ गति प्रतिमिनेट ३० शब्दभन्दा कम रहेको निष्कर्ष निकालेको थियो ।

प्रकाशित : आश्विन ८, २०७९ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?