८२ पालिका प्रमुख र उपप्रमुखलाई जरिवाना

वीरेन्द्रनगर — वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाएपछि कर्णालीमा ९ हजार ६ सय ८९ उम्मेदवार जरिवानामा परेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार ३ सय १७ जना गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, १ सय ५८ जना नगर प्रमुख र उपप्रमुख तथा ९ हजार २ सय १४ वडाध्यक्ष र सदस्यका उम्मेदवारहरू जरिवानामा परेका हुन् । जसमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखको संख्या मात्रै ८२ छ ।

जरिवानामा प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकादेखि माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकासम्मका जनप्रतिनिधि परेका छन् । आयोगले कर्णालीका १५ नगरपालिकाका २६ जना प्रमुख तथा उपप्रमुख र २७ गाउँपालिकाका ५६ जना अध्यक्ष तथा उपाध्यक्षलाई जरिवाना तोकेको हो ।

मतपरिणाम आएको ३० दिनभित्र खर्च विवरण पेस गर्नुपर्ने भए पनि कर्णालीका ८२ पालिका प्रमुख र उपप्रमुखले नबुझाएका हुन् । निर्वाचन आयोग ऐनको दफा २६ मा तोकिएको अवधिमा खर्च विवरण पेस नगर्ने राजनीतिक दल र उम्मेदवारलाई निजले गरेको खर्च वा आयोगले निर्धारण गरेको खर्चको हदमध्ये जुन बढी हुन्छ, सोही बराबरको जरिवाना तिर्न सक्ने प्रावधान छ ।

प्रकाशित : आश्विन ७, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?