पहाड खोपेर खेतमा सिँचाइ- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहाड खोपेर खेतमा सिँचाइ

अहिले ३ गाउँका झन्डै ७ सय रोपनी खेतमा सुविधा 
विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिका–३ स्याउ जिउलाका ५० वर्षीय जीवरात रावतले गाउँमा सिँचाइ सुविधा नहुँदा खेतीका लागि ठूलो कष्ट गरे । ‘आकाशेपानी पर्छ कि भनेर बाली लगाउँथ्यो, पानी नपरेपछि पूरै बाली खडेरीले सखाप हुन्थ्यो,’ उनले भने, ‘कुनै साल त बीउ पनि जोगाउन मुस्किल ।’ तर उनले यसपालि धेरै वर्षपछि असार पहिलो साता नै धान रोपाइँ गरे । अहिले धानबालीमा सिँचाइ पनि नियमित गर्न पाएका छन् ।

कालीमाटी गाउँपालिका–१ टोटकेका निर्मल घर्तीले पनि असार दोस्रो साता रोपाइँ सके । गत वर्षसम्म मकै उत्पादन हुने उनको पाखोमा अहिले लहलह धान भुलिरहेको छ । ‘धान लगाएपछि यो वर्ष त वर्षभरि नै पुग्ने अन्न उत्पादन हुन्छ कि भन्ने आशा छ,’ उनले भने, ‘खेतमा धान लगाउन नपाउँदा बजारको चामलको भर थियो, अब आफ्नै उत्पादनले पुग्छ कि ?’

यो वर्ष कालीमाटी गाउँपालिका–१ र ३ नम्बर वडाका टाटके, स्यालजिउला र माघेका किसानले धेरै वर्षपछि धानको रोपाइँ गरेका छन् । ‘म सानोसानो हुँदा खेतमा धान रोपेको याद छ,’ ४० वर्षीय घर्तीले भने, ‘सायद ३५ वर्षपछि फेरि धान लगाउन पायौं होला ।’ उनका अनुसार गाउँमा पाखोमा परिणत भएका झण्डै ५० रोपनी जग्गा खेतमा परिणत भएका छन् । खानेपानी तथा ऊर्जा विकास कार्यालयले २०७५ मा सञ्चालन गरेको लहरेसाँझ सिँचाइ योजना बजेट अभावमा अलपत्र परेपछि स्थानीयले श्रमदान गरेर गाउँसम्म सिँचाइ सुविधा पुर्‍याएका हुन् । जसका लागि उनीहरूले प्रतिघर १५ दिन श्रमदान गरेका थिए ।

झण्डै ३५ हेक्टर खेतमा सिँचाइ गर्ने उद्देश्यले योजनाको काम थालिएको थियो । तर बजेट नआएपछि श्रमदानमार्फत योजना निर्माण गरिएको हो । अहिले ३ गाउँका झण्डै ७ सय रोपनी खेतमा सिँचाइ सुविधा पुगेको छ । जसबाट झण्डै १ सय परिवार लाभान्वित भएको अर्का किसान डिल्ली केसीले बताए । ‘यसपालि खेतीपाती गर्ने समयमा वर्षा कम भए पनि असारको अन्तिम नलाग्दै सबै किसानले रोपाइँ सकेका थियौं,’ उनले भने, ‘अहिले सबैका खेतमा धान झुलिरहेका छन् ।’ उनले गाउँमा सिँचाइ सुविधा पुगेपछि आकासेपानीको भरमा खेती गर्नुपर्ने र मकै मात्र खेती गर्नुपर्ने बाध्यता हटेको बताए । सिँचाइको सुविधा भएपछि ३ बालीसम्म खेती गर्न सकिने भएको उनको भनाइ छ । उनका अनुसार धानखेती नहुँदा गाउँका किसानले बाहिरको चामलको भर पर्ने गरेका थिए । ‘बढीमा ५ महिना पुग्थ्यो,’ उनले भने, ‘अब वर्षभरि नै पुग्ने अन्न आफै फलाउँछौ कि भन्ने आशा छ, अब त तरकारीखेती गरेर पनि घरखर्च धान्न सकिन्छ कि भन्ने आँट पलाएको छ ।’

कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतले सिँचाइ सुविधा पुगेपछि किसानलाई नगदेबालीतर्फ उत्साहित गर्ने वडा कार्यालयले योजना बनाएको बताए । उनका अनुसार पहिलो वर्ष भएकाले यो वर्ष सबै किसानले धान लगाएका छन् । ‘अब व्यवसायिक तरकारी खेतीतर्फ किसानलाई आकर्षित गर्न सके सबै किसान आत्मनिर्भर बन्न सक्छन्,’ उनले भने, ‘त्यसका लागि मल, बीउ र बजारीकरणमा सहयोग गर्ने गरी योजना बनाइरहेका छौं ।’

२०७५ देखि सुरु भएको ४ किलोमिटर दूरीको लहरेसाँझ सिँचाइ योजना सञ्चालनमा भइरहेको खानेपानी तथा ऊर्जा विकास कार्यालयका प्रमुख पदमराज देवकोटाले बताए । उनका अनुसार ३५ हेक्टर खेतमा सिँचाइ गर्ने गरी थालिएको योजनाको ९० प्रतिशत काम पूरा भइसकेको छ । ‘योजनामा झन्डै १ किलोमिटर पिलर निर्माण गरी पहाड खोपेर पक्की सिँचाइ कुलो निर्माण गरिएको छ,,’ उनले भने, ‘योजना सम्पन्न नहुँदै श्रमदान गरेर गाउँमा सिँचाइ सुविधा पुर्‍याउनु उदाहरणीय काम हो, बाँकी काम यसै वर्षको बजेटबाट हुनेछ ।’ योजनामा अहिलेसम्म झन्डै १ करोड रुपैयाँ खर्च भएको उनले बताए ।

प्रकाशित : आश्विन ७, २०७९ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्

भदौभित्रै ३ सयभन्दा बढी योजना सम्झौता

प्रकाश बराल

बागलुङ — अन्य पालिकामा रातो किताब सार्वजनिक नहुँदै बागलुङ नगरपालिकाले ३ सयभन्दा बढी पूर्वाधारका योजना सम्झौता सकेको छ । जिल्लाका अन्य पालिकाले दशै अघि रातो किताब प्रकाशित गर्ने तयारीमा छन् । 

असार अन्तिम साता रातो किताब प्रकाशित गरेकाले भदौभित्रै यतिधेरै योजना सम्झौता गर्न सकिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । नगरपालिकाले वडा तहमै पुगेर पूर्वाधार तर्फका योजना सम्झौता गरेको हो । नगर परिषद्ले पास गरेका झन्डै ५ सय योजनामध्ये अधिकांश सम्झौता भएका हुन् । अब सम्झौता हुन छिटफुट पूर्वाधार र अरू कार्यक्रमतर्फका मात्रै रहेको सापकोटाले बताए ।

निर्वाचनको वर्ष भएकाले आचारसंहिताले असर पर्ने सबै काम साउन र भदौभित्रै सकिएको हो । ‘अहिले काम नगरेको भए पुसअघि योजना सम्झौता सम्भव थिएन, अब धमाधम काम सुरु हुने भए’ सापकोटाले भने, ‘आगामी फागुनसम्ममा अधिकांस योजनाको काम सम्पन्न हुनेछ ।’

समयमा सकिएका काम अनुगमन गरेर समयमै फरफारक गर्न सकिने उनले बताए । असार मसान्तमा काम सकेर भुक्तानी दिने चलनले योजना अलपत्र पर्ने, अनियमितता बढी हुने अनुभवबाट समयमा काम सक्ने लक्ष्य राखिएको उनको भनाइ छ । नगरपालिकाले १० वटा वडाका कार्यालयमै पुगेर योजना सम्झौता गरेको हो भने ४ वटा वडाको काम मुख्य कार्यालयबाट गरेको हो ।

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले रकमान्तरण गर्नैपर्ने बाध्यताका योजनामात्रै फागुनपछि सम्झौता गरिने बताए । ‘समयमै काम गरेर देखाउने भन्ने हो’ श्रेष्ठले भने, ‘जनताले घरदैलोमा सेवा पाउनुपर्छ, समयमा काम सकेर भुक्तानी पनि सजिलै पाउनुपर्छ ।’ १० लाख रुपैयाँसम्मका योजना वडा तहबाटै अनुगमन गरेर भुक्तानीको व्यवस्था गरिएको उनले बताए ।

अनुगमनलाई प्रभावकारी बनाउन वडा समिति, नगर स्तरीय समिति र उपप्रमुख नेतृत्वको समिति परिचालन गर्ने उपप्रमुख राजु खड्काले जानकारी दिए । ‘सबै योजना असारमा सक्ने, अनि उपप्रमुखले मात्रै अनुगमन गर्दा धेरै अलपत्र पर्ने र अनियमितता तथा दोहोरोपना भेटिए’ खड्काले भने, ‘अहिले सम्झौता भएका योजना चैत, वैशाखमै अनुगमन हुनेछन ।’

समयमा योजना सम्झौता गर्दा साउन र भदौभित्रै ती योजनाका पदाधिकारीको खाता पनि खुलिसकेका छन् । उपभोक्ता समिति र टोल सुधार समितिलाई अनुशिक्षण समेत दिइएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×