३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

७ मतदान केन्द्र थपिए

जनकबहादुर शाही

हुम्ला — मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ वटा मतदानस्थल थप भएका छन् । योसँगै हुम्लामा मतदानस्थलको संख्या ५८ पुगेको छ । यसअघि निर्वाचन आयोगले ५१ वटा मतदानस्थल कायम गरेको थियो । ताँजाकोट गाउँपालिका–३ मासपुरमा पनि मतदानस्थल थपिएपछि स्थानीयलाई मतदान गर्नका लागि ३ दिन हिँड्नुपर्ने बाध्यता हटेको छ । 

७ मतदान केन्द्र थपिए

जिल्लामा ४ वटा मतदानस्थलको ठाउँसारी भएको र ७ वटा नयाँ थप गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए । उनका अनुसार २३ घरधुरी रहेको मासपुरमा पनि मतदानस्थल थप गरिएको हो । ‘मतदान केन्द्र टाढा हुँदा धेरै मतदाता मताधिकारबाट वञ्चित रहेको पाइयो,’ उनले भने, ‘यो समस्या निर्वाचन आयोगमा जानकारी गराएको थियौं, आयोगले स्वीकृति दिएपछि मासपुरका स्थानीयले गाउँमै मतदान गर्न पाउँनेछन् ।’

मासपुरमा २३ पुरुष र २७ महिला गरी ५० मतदाता छन् । गाउँको जनसंख्या १ सय ३ मात्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अब बानादेव आधारभूत विद्यालयमा स्थानीयले मतदान गर्न पाउने भएका हुन् । सरकारले ०४८ सालको जनगणनामा मात्रै मासपुर गाउँलाई समेटेको थियो । गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा मतदाताहरू ताँजाकोट गाउँपालिकास्थित छप्रेला पुगेर मतदान गरेका थिए । ‘अब गाउँमै भोट हाल्न पाइने भयो,’ स्थानीय हंसराज रोकायाले भने, ‘यसअघि मतदान गर्न जान, आउन र मतदान गर्न ३ दिनको समय खर्चिनुपर्थ्यो ।’

उनका अनुसार अघिल्ला निर्वाचनहरूमा स्थानीयहरू कम्तीमा १२ घण्टा हिँडेर छप्रेलामा बास बस्थे । मतदानको दिन मतदान गर्थे र भोलिपल्ट मात्र आफ्नो गाउँ फर्कने गरेका थिए । मासपुरकै ओमकुमार रोकायाले सरकारले गाउँमै मतदान केन्द्र राखेर बल्ल मतदाता र जनताप्रति न्याय गरेको बताए । मंसिर ४ गते हुने निर्वाचनका लागि हुम्लामा ३२ हजार ८ सय ५७ मतदाता छन् । जसमध्ये १७ हजार १ सय २८ पुरुष र १५ हजार ७ सय २९ महिला रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?