‍प्राविमा घट्दै विद्यार्थी

विप्लव महर्जन

सल्यान — वि.सं. १९९८ तिर भाषा पाठशालाको रुपमा जिल्लाको सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय परिसर नजिकै सञ्चालित खडगदेवी प्रावि सल्यान जिल्लाकै सबैभन्दा पहिलो विद्यालय हो । खडगदेवी मन्दिरको प्राङ्गणमा भएकाले मन्दिरकै नामबाट विद्यालयको नाम परिवर्तन राखिएको थियो ।

‍प्राविमा घट्दै विद्यार्थी

विगत्‌मा धेरै विज्ञहरू उत्पादन गरेको विद्यालय अहिले सम्बन्धित निकायको बेवास्ताका कारण बेवारिसेजस्तै बनेको छ । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयमा कुनै बेला २ सयभन्दा बढी विद्यार्थी हुने गर्थे । अहिले जम्मा पाँच जनामात्रै रहेका छन् ।

यस्तै कालिमाटी गाउँपालिका ६ आम्बासमा २०६४ पछि कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयको पनि यही हालत भएको छ । दुई वर्षअघिसम्म ७० भन्दा बढी विद्यार्थी रहेको उक्त विद्यालयमा अहिले चार जनामात्रै विद्यार्थी छन् । तिनीहरू पनि नियमित उपस्थित हुन छाडेका छन् ।

प्रावि तह बालबालिकाको शिक्षाको जग भन्दै सरकारले शैक्षिक गुणस्तर तथा विद्यार्थी संख्या बढाउन दिवा खाजा कार्यक्रम, छात्रवृत्तिको व्यवस्था, निःशुल्क पाठ्यपुस्तक, अंग्रेजी माध्यमबाट पठनपाठन, भौतिक संरचना निर्माण, बसाइ व्यवस्थापनलगायत विभिन्न सुविधाहरू उपलब्ध गराउँदै आए पनि जिल्लाका प्राथमिक विद्यालयमा भने विद्यार्थीको संख्या बढ्नुको साटो दिनानुदिन घट्दै गएको छ ।

शिक्षकहरूले पठनपाठनमा गरेको बेवास्ताका कारण असन्तुष्ट अभिभावकले आफ्ना बालबालिकालाई निजीतिर लैजाने, ग्रामीण क्षेत्रका अभिभावकहरू सुविधा खोज्दै परिवारसहित सहरी क्षेत्रमा केन्द्रित हुने र कोही मजदुरीका लागि बच्चाबच्चीसहित भारतका विभिन्न ठाँउमा जाने क्रम नरोकिँदा प्रावि तहमा विद्यार्थी संख्या घट्दै गएको स्थानीय बताउँछन् ।

जिल्लामा कक्षा १ देखि ५ सम्म २ सय ७९, कक्षा १ देखि ८ सम्म ८१, कक्षा १ देखि १० सम्म ५४ र कक्षा १ देखि १२ सम्म ३३ गरी ४ सय ३७ सामुदायिक विद्यालय छन् । केही वर्ष अघिसम्म १ देखि ५ सम्म ४० हजाभन्दा बढी विद्यार्थी रहेकोमा सो संख्या घटेर अहिले ३१ हजारमा झरेको छ । विद्यार्थी संख्या घट्दै गएका कारण एक दर्जनभन्दा बढी विद्यालय मर्ज भैसकेका छन् भने आधा दर्जनजति विद्यालय मर्ज हुने अवस्थामा छन् ।

विद्यालयमा गएर पढाउनुको साटो आफ्नो कामकाजमा अन्यत्र घुमिरहने र तलब पकाउन एकै पटक आएर हाजिरी गर्ने जस्ता कार्यले गर्दा प्रावि तहमा शैक्षिक अवस्था कमजोर भएकाले कालिमाटी क्षेत्रका धेरै बालबालिकालाई अभिभावकले आफूसँगै बाहिर लगेर पढाउने गरेको स्थानीय हेमन्तबहादुर खड्काले बताए । जबसम्म सम्बन्धित निकायले लापरबाही गर्ने शिक्षकप्रति कडा निगरानी गर्दैन र लापरबाही गर्नेलाई कारबाही गर्न सक्दैन तबसम्म विद्यालयको शैक्षिक स्तर सुधार हुन नसक्ने र विद्यार्थी संख्या समेत नबढ्ने उनले बताए । पछिल्लो समयमा शिक्षकहरू विद्यालयमा पढाउनेभन्दा राजनीति गर्नमै व्यस्त देखिने गरेको उनको भनाइ छ ।


एकदेखि तीन कक्षासम्म सञ्चालित ज्ञानज्योति प्राविको झ्यालमा उभिएर बाहिर हेरिरहेका विद्यार्थी । विद्यालयमा जम्मा २५ जना मात्र विद्यार्थी भए पनि सबै नियमित उपस्थित हुँदैनन् । तस्बिर : विप्लव महर्जन/कान्तिपुर

बन्गाडकुपिण्डे नगरपालिका ९ गिठाचौरका एक स्थानीय बिमलाकुमारी रानाले शिक्षक नियमित विद्यालय नआउँदा दुई/तीन कक्षा पढ्ने आफ्ना नानीबाबुले नेपाली अक्षरसमेत नचिन्ने भएकाले बालबालिकालाई निजी विद्यालयमा लगेर पढाउँदै आएको बताइन् ।

उनका अनुसार विद्यालयबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि कुनै चासो नदिएपछि अभिभावकहरू निजी विद्यालयमा आफ्ना बालबालिका पढाउन बाध्य भएका हुन् । ‘आफ्ना बालबालिकाले पढ्लान्; पछि गएर राम्रो ठाउँमा नोकरी गर्लान् भन्ने सपना देखेर पढाउने हो । दुई/तीन वर्षसम्म एउटै कक्षामा थन्किने र अक्षरसमेत चिन्न नसक्ने भएपछि किन त्यस्ता विद्यालयमा पढाउने ?’ उनले भनिन्‚ ‘अहिले विद्यालय भन्ने मात्र छ । जबसम्म शिक्षकमा मेरो कर्तव्य भनेको पढाउने हो; मैले बिदाको दिन बाहेक अन्य दिनमा विद्यालयमा गएर पढाउनुपर्छ भन्ने चेतनाको विकास हुँदैन तबसम्म शैक्षिक अवस्थामा सुधार हुन सक्दैन ।’

यता शारदा नगरपालिका ३ स्थित खडगदेवी प्राविमा पठनपाठन व्यवस्थित गर्न पटकपटक पहल गर्दै आए पनि शिक्षकहरूको लापरबाहीका कारण पठनपाठनमा सुधार आउन नसकेको स्थानीयले बताएका छन् । शिक्षकको लापरबाहीकै कारण विद्यार्थी घटेर अहिले दुई/चार जनामा सीमित भएको एक स्थानीयले बताए ।

शारदा नगरपालिकाभित्रका ५८ सामुदायिक विद्यालयमध्ये १२ प्राविमा विद्यार्थी संख्या कम रहेको, केही वर्षअघि तीनवटा विद्यालय मर्ज भैसकेको र एउटा मर्ज गर्ने तयारी भैरहेको शिक्षा शाखा प्रमुख संगीता भण्डारीले बताइन् । नगरभित्रका अधिकांश बालबालिका निजीमा पढ्ने गरेकाले पनि सामुदायिक विद्यालयमा विद्यार्थी कम भएको बताइन् । उनले भनिन्‚ ‘विद्यालयका शिक्षकहरू अझै आफ्नो कर्तव्यप्रति जिम्मेवार बन्न सकेका छैनन् । उनीहरूले पालिकाको निर्देशनलाई पालना गर्दैनन्‚ जसले विद्यालयमा विद्यार्थी संख्यामात्र घटाएको छैन, गुणस्तर पनि घटाएको छ ।’ विद्यालय सुधारका लागि नगरले अहिले पञ्चवर्षीय शैक्षिक योजना बनाएको र आउँदा दिनमा शिक्षकलाई जिम्मेवार बनाउने उनले दाबी गरिन् ।

बन्गाड कुपिण्डे नगरपालिकाकी शिक्षा शाखा प्रमुख ध्रुवाकुमारी थापाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर तथा विद्यार्थी बढाउन शिक्षक, अभिभावक र सम्बन्धित निकाय जिम्मेवार बन्न आवश्यक रहेको बताइन् । नगरभित्रका ६५ विद्यालयमध्ये १२ भन्दा बढी विद्यालयमा कम विद्यार्थी रहेको उनले बताइन् ।

‘विद्यालयलाई व्यवस्थित गर्न; बालबालिका बढाउन तथा पढाइ सुधार्न पालिकाले भौतिक संरचना निर्माण, आवश्यक सामग्रीको उपलब्धता, स्थायी शिक्षक पूर्तिलगायत धेरै कुरा आवश्यक हुन्छ । पालिकाले सबै पूरा गर्न सकेको छैन । जबसम्म सम्बन्धित निकाय जिम्मेवार बन्दैनन्, तबसम्म शैक्षिक गुणस्तरमा सुधार आउने सम्भावना देखिँदैन‚’ उनले भनिन् ।

कालिमाटी गाउँपालिकाकी शिक्षा शाखाकी कर्मचारी सुनिता महरले भौगोलिक विकटताका कारण अधिकांश स्थानीयहरू सुविधा खोज्दै सहरतिर बसाइँसराइ गरेकाले कक्षा १ देखि ५ सम्मका सामुदायिक विद्यालयका विद्यार्थी संख्या घटेको बताइन् ।

प्रकाशित : आश्विन ६, २०७९ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?