जुम्लामा स्याउ प्रतिकेजी ५० रुपैयाँ- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्लामा स्याउ प्रतिकेजी ५० रुपैयाँ

डीबी बुढा

जुम्ला — पातारासी–६ का मुनबहादुर बुढाले यो वर्ष झन्डै ५ टन स्याउ फलाए । बगैंचामा स्याउ लटरम्म फलेपछि सुरुमा खुसी भएका उनी पछिल्लो समय निराश छन् । किनकि उनको बारीको स्याउले ५० रुपैयाँभन्दा बढी प्रतिकिलो मूल्य पाउन सकेन । ‘स्याउ फलाएर मात्रै के गर्ने ?,’ उनले भने, ‘स्याउको बजार छैन्, मूल्य पनि पाइँदैन ।’

उनको बारीमा झन्डै ३ सय स्याउका बिरुवा फलेका थिए । १० क्विन्टल स्याउ त प्रतिकेजी २० रुपैयाँमै बेचे । ‘स्याउ त जुम्लाभरि टन्नै फलेको छ, तर स्याउ लैजाने उचित बजार व्यवस्थापन भएन,’ उनले भने, ‘यो समग्र कर्णालीका स्याउ उत्पादक किसानका लागि निराशाजनक खबर हो ।’ उनका अनुसार अहिले सुर्खेत, नेपालगन्ज, पोखरा, काठमाडौं, विराटनगर, बुटवललगायत बजारमा जुम्ली स्याउ पुगेको छ ।

स्याउले मूल्य नपाएपछि अर्का किसान रतन रावत पनि निराश छन् । ‘बर्षेनि स्याउको बजार खोज्नुपर्छ,’ उनले भने, ‘सरकारले स्याउ उत्पादन गर् मात्र भन्छ, तर बजार खोज्न सहयोग गर्दैन ।’ त्यसो त जिल्ला कृषि विकास कार्यालयले भदौ १५ देखिपछि मात्र स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो । किसानले साउनमै काँचो स्याउ बजारमा लिएपछि जुम्ली स्याउको बजार खस्केको हो । जुम्लामा गत साता स्याउ महोत्सव चलेको थियो ।

महोत्सवमा किसान र कृषि प्राविधिकबीच दोहोरो संवादसमेत चलाइएको थियो । कृषि प्राविधिकहरूलाई किसानले स्याउमा लागेको रोगकिरा नियन्त्रण, बगैंचा व्यवस्थापन, गुणस्तरीय स्याउ उत्पादनदेखि बजारसम्मको अवस्थाको गहन अध्ययन गर्न सुझाव दिएका थिए । ‘जबसम्म स्याउको बजारको निश्चितता हुँदैन, तबसम्म जुम्ली स्याउले मूल्य पाउँदैन,’ स्थानीय किसान अर्जुन न्यौपानेले भने, ‘स्याउमा कालोतुसारो लागेको ३ वर्ष बित्यो, तर कालोतुसारोबाट बच्ने उपायबारे हामीलाई अझै सिकाइएको छैन, न प्राविधिक आएर बारीमा स्याउका बिरुवाको उपचार गर्छन ।’

किसान धनबहादुर थापाले स्याउको उचित रेखदेख नगर्नु र गुणस्तरीय उत्पादन गर्न नसक्नु किसानको समस्या भए पनि रोगकिरा नियन्त्रणको काम कृषि प्राविधिकको भएको बताए । ‘हामीलाई विश्वसनीय समाधान चाहिन्छ, अनि मात्र जुम्ली स्याउको बजारको ग्यारेण्टी हुनसक्छ,’ उनले भने, ‘किसानको घरदैलोसम्म कृषि प्राविधिकको ज्ञान र सीप पुग्न नसक्दा समस्या ज्युँकात्युँ छ ।’

स्याउ सुपरजोनका बागवानी अधिकृत विवशकुमार रोकायाले स्याउमा लागेको रोगकिराको नियन्त्रणमा अधिकतम समय बितेको बताए । ‘रोगकिराको सर्भेक्षण भइरहेको छ, पहिले रोग पत्ता लगाउने काममा हामी जुटेका छौं,’ उनले भने, ‘त्यसपछि मात्रै नियन्त्रणको काम हुनेछ, गुणस्तरीय स्याउ उत्पादन नहुँदासम्म बजार र मूल्य पाउन कठिन हुने देखियो ।’

जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा ४ हजार २ सय हेक्टरमा स्याउ खेती भएको छ । यो पटक १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने कार्यालयको अनुमान छ । स्याउबाट चालु आर्थिक वर्षमा झन्डै ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको कृषि प्राविधिक लक्षिराम महतले बताए । उनका अनुसार जुम्लामा १२ जातका स्याउ पाइन्छ । उनले जुम्लाभरि स्याउका बेर्ना उत्पादन गर्न २ सय ९ नर्सरी खुलेको बताए । ‘बजारमा जान नसकेको स्याउलाई विभिन्न परिकार बनाएर बेच्न पनि सकिन्छ,’ उनले भने, ‘अहिलेसम्म हामीले स्याउको चाना र रक्सी मात्र बन्छ भनिरहेका छौं, अब जाम, जेकली, जुसलगायत परिकार बनाएर पनि बजार पुर्‍याउन सकिन्छ ।’

प्रकाशित : आश्विन ५, २०७९ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्

धानमा क्षति भोगेका किसानलाई राहत

सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीको तिलोत्तमा नगरपालिका–१२ का किसान कृष्णप्रसाद पौडेलले गत वर्ष १० बिघा खेतमा रोपाइँ गरे । तर, पानीले ३ बिघाको धान नष्ट भयो । उनलाई नगरपालिकाले वडाको सिफारिस र अनुगमनपछि राहत रकम दिएको छ । अढाई बिघाको क्षतिपूर्ति दाबी गरेर पहिलो किस्ताको राहत रकम बुझेको उनले बताए ।

‘मेरो भागमा ४० हजारभन्दा बढी राहत स्वरूपको रकम पाइने भनिएको छ,’ उनले भने, ‘पहिलो किस्ता बराबर ८ हजार ४ सय ८८ रुपैयाँ बुझें ।’

१ कठ्ठा ५ धुर जमिन भएकी मथुरा पन्थले राहत रकमबापत २ हजार १० रुपैयाँ पाएकी छन् । उनले लगाएको धान पूरै पानीले ढालिदिएपछि चामल किन्न बाध्य भएको उनले सुनाइन् । ‘४ मुरी धान उत्पादन हुन्थ्यो,’ उनले भनिन्, ‘गरिबलाई प्रकृतिले ठग्यो, पालिकाले केही उद्धार गरेजस्तो महसुस भयो ।’ आफूहरूको मर्का बुझेर स्थानीय तहले गरेको काम खुसीयोग्य लागेको उनले सुनाइन् । उनीहरूजस्तै तिलोत्तमाका अन्य २ सय ६८ किसानले पनि मंगलबार गत वर्षको धानबाली क्षतिबापतको रकम बुझेपछि हर्षित भएका थिए । बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेपछि चिन्तित बनेका किसानलाई नगरपालिकाले सहयोग गरेको हो । पालिकाले संघीय सरकारसँग आग्रह गरी जिल्ला प्रशासन कार्यालयमार्फत ८ लाख ९६ हजार रुपैयाँ प्राप्त गरी किसानलाई हस्तान्तरण गरेको पालिकाका कृषि शाखा अधिकृत रामप्रसाद खनालले बताए । उनले मिहिनेत गरेर लगाएको बाली पानीले मासेपछि किसान पीडित बनेकामा पालिका मलम बन्न खोजेको बताए ।

पीडित किसानले आफ्नो क्षतिका आधारमा २ हजार १० देखि ८ हजार ४ सय ८८ रुपैयाँसम्म क्षतिपूर्ति रकम पाएका छन् । गत भदौ १० गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सूचीकृत पीडित किसानलाई क्षतिपूर्ति रकम वितरण गरिएको हो । किसानका समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले बताए । ‘किसानको लगानी र श्रमको लेखाजोखा गर्न सकिंदैन,’ उनले भने, ‘केही भए पनि राहत मिलोस् भनेर कदम चालेका हौं ।’ संघीय सरकारलाई आग्रह गरी प्राप्त भएको बजेटअन्तर्गत पीडित किसानलाई पहिलो किस्ताबापतको राहत रकम वितरण गरिएको र बाँकी रकमका लागि पनि पहल गरिरहेको उनले बताए ।

राहत रकम वितरणका लागि निम्न वर्ग, मध्यम वर्ग र उच्च वर्ग गरी तीन भागमा विभाजन गरी सोका आधारमा राहत रकम वितरण गरिएको कृषि अधिकृत दोमलाल भुसालले बताए । १० कट्ठासम्म खेत भएका किसानलाई निम्न, ११ देखि ५० कट्ठासम्म खेती गरेकालाई मध्यम र सोभन्दा माथि धान खेती गरेका किसानलाई उच्च वर्ग भनी विभाजन गरिएको थियो । निम्न वर्गका किसानलाई क्षतिको ६५ प्रतिशत, मध्यम वर्गका किसानलाई ३० प्रतिशत र उच्च वर्गका किसानलाई क्षतिको २० प्रतिशतसम्म राहत रकम प्रदान गरिने कृषि अधिकृत भुसालले बताए । राहत रकमका लागि २ सय ७० किसानले फर्म भरेको र ती सबै किसानलाई राहत रकम प्रदान गरिएको कृषि अधिकृत भुसालले बताए ।

प्रकाशित : आश्विन ५, २०७९ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×