१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

हुम्लाका उत्तरी क्षेत्रमा हिमपात, लिमिमा हिमपातले अन्नबाली नष्ट

जनकबहादुर शाही

हुम्ला — बुधबार रातिदेखिको अविरल वर्षाका कारण हुम्लाको उत्तरी क्षेत्रमा हिमपात भएको छ । बुधबारबाट वर्षा भए पनि शुक्रबारबाट उत्तरी क्षेत्रमा हिमपात सुरु भएको हो । यो यस वर्षकै पहिलो हिमपात हो ।

हुम्लाका उत्तरी क्षेत्रमा हिमपात, लिमिमा हिमपातले अन्नबाली नष्ट

हिमपातले हिमालपारिको गाउँ लिमिमा पाकेर भित्र्याउने अवस्थामा रहेको अन्नबाली नष्ट भएको छ । लिमिमा वर्षको एक बाली मात्र पाक्छ । हिमपातले पाक्न लागेको बाली उवा नष्ट हुँदा आफूहरूलाई यस वर्ष भोकमारीको ठूलो समस्या हुने नाम्खा–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

तामाङले भने‚ ‘वर्षमा एकबाली उवा पाक्थ्यो‚ त्यहि पनि हिउँले खायो । अब लिमिबासी के खाएर बस्ने; यसका लागि सरोकारवाले निकायले समयमै ध्यान दिन जरुरी छ ।’

हिमपातसँगै चिसो बढेपछि लेकमा लगेका गाईबस्तु र गाईगोठालालाई समस्या बनाएको छ । शुक्रबारको हिमपातले लाप्चा, न्यालु, ताक्ची, तुम्लिङ र लिमीका तीनवटै गाउँ तिल, हल्जि र जाङसहित उत्तरी क्षेत्रका अग्ला डाँडा र हिमाल सेताम्मे देखिएका छन् ।

हिमपातले ताक्चीबाट लाप्चा गएर मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरू प्रभावित भएको लिमिका स्थानीय गृमेत तामाङले बताए । हुम्लामा कात्तिक अन्तिमदेखि हिमपात सुरु हने भए पनि यस वर्ष भदौमै हिमपात हुँदा अन्नबालीमा क्षति भएको उनले बताए ।

लिमिमा अन्नबालीको क्षति भएको, सर्केगाडगाउँपालिका-६ बराईको लेखमा चिसोले ३६ पशुबस्तु मरेको खबर आए पनि अन्य कतै वर्षाका कारण क्षती भएको खबर नआएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रकाशित : आश्विन ३, २०७९ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?