कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरेन्द्रनगरमा अवैध संरचना हटाउन सुरु

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा सडक विस्तारमा कठिनाइ भएपछि अवैध संरचना हटाउन थालिएको हो । नगरपालिकाले सात दिनभित्र संरचना हटाउन सूचनासमेत जारी गरेको थियो ।

वीरेन्द्रनगरमा अवैध संरचना हटाउन सुरु

नगरपालिकाले मंगलगढी चोकबाट प्रवेश गर्ने मुख्य बजार क्षेत्रमा रहेका विद्युत्, नेपाल टेलिकमका पोल तथा तारहरु र सडक छेउमा रहेका अशोकका रुखहरु हटाउन थालेको छ । मुख्य बजार क्षेत्र मंगलगढी–गणेश चोकसम्मको करिब एक हजार सात सय मिटर सडक विस्तार गर्न नगरपालिकाले अवैध संरचना हटाउन सुरु गरेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीका अनुसार सडकका दुवै किनारामा रहेका अवैध संरचना हटाउन यसअघि नै जारी सूचनाअनुसार बुधबारदेखि काम थालिएको हो ।

नगरपालिकाले गत वर्ष नै सडक विस्तारका लागि ठेक्का आह्वान गरेको थियो । अवैध संरचनाका कारण सडक विस्तार गर्ने कार्य रोकिएको थियो,’ उनले भने, ‘सर्वदलीय र सर्वपक्षीय बैठकमा सहमति जुटाएर काम सुरु गरिएको हो ।’

नगरपालिकाले अवैध संरचनासहित सडक क्षेत्राधिकारभित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउने जनाएको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले मंगलगढी–गणेशचोक, वीरेन्द्रचोक–भानुचोक, हुलाक चोक–राम मन्दिर, वीरेन्द्र चोक–खोर्के खोला लाइनसम्मको सडक स्तरोन्नत्ति गर्न विभिन्न प्याकेजमा बजेट विनियोजन गरेको जनाएको छ ।

संरचना हटाउन थालिएका सडक अब दुई लेन बनाउने गरी तयारी थालेको भौतिक पूर्वाधार निर्देशनालयका ईन्जिनियर सूर्य शाहीले जानकारी दिए । उनका अनुसार मुख्य बजार क्षेत्रको सडक निर्माण लागत करिब १३ करोड ६७ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा काम सक्नेगरी गत आर्थिक वर्षमा खड्का निर्माण सेवा बाँकेसँग सडक निर्माणका लागि सम्झौता भइसकेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार आठ सय ३४ मिटर लम्बाइसहित सडकको १५ मिटर चौडाइसम्म कालोपत्रे गरिने छ । बाँकी पार्किङका लागि रहने बताइएको छ ।

प्रकाशित : भाद्र २९, २०७९ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?