कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

'हामीसँग क्षमता छ, तर किन समानुपातिकमै थन्क्याइन्छ ?'

चाँदनी कठायत

वीरेन्द्रनगर — महिला नेताहरूको प्रत्यक्ष चुनावमा लड्ने क्षमता हुँदाहुँदै पनि आफूहरूलाई समानुपातिकमा थन्क्याएको भन्दै एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् । आफूहरूको क्षमता र आर्थिक अवस्था कमजोर देखाएर सधैँ चुनावको समयमा समानुपातिकमै चित्त बुझाउनुपर्ने बाध्यता हुने गरेको महिला नेताहरूले गुनासो गरेका छन्।

'हामीसँग क्षमता छ, तर किन समानुपातिकमै थन्क्याइन्छ ?'

आवाज संस्था सुर्खेतले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सम्बन्धमा महिला नेताहरूले यस्तो बताएका हुन् । कार्यक्रममा सुर्खेतकी कांग्रेस नेता शान्ती सिंहले आफू प्रत्यक्षमा चुनाव लड्ने भने पनि फेरि समानुपातिकमै नाम सिफारिस गरेको बताइन् ।

'हामीसँग क्षमता पनि छ । तर हरेक पटक हामीलाई समानुपातिकमै फालिन्छ, जहिले हामीले आफूभन्दा अग्रज भन्दै पछाडि पर्नुपर्ने अवस्था छ,' नेता सिंहले विधानमा लेखिएको कुरा व्यवहारमा कार्यान्वयन नभएको टिप्पणी गरिन् । टिकट लिँदा र चुनाव लड्दा पैसा दिनुपर्ने प्रवृत्तिले धेरै महिला नेतालाई समस्या परेको उनको भनाइ छ । 'महिलाको आर्थिक अवस्था कमजोर हुन्छ । पैसा नभएकै कारण हामी प्रत्यक्ष चुनाव लड्न सक्दैनौं,' आवाज संस्थाकी निशा पौडेलले महिलालाई पार्टीको मुख्य पदमा किन राख्न नसकिएको भन्दै प्रश्न गरिन्, 'धेरै महिलालाई मुख्य पद दिइँदैन । महिलालाई अगाडि ल्याउन के चुनौती छ ?'

नेकपा एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहन बडुवालले आफ्नो पार्टीको विधानमा पार्टीको पदाधिकारीमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरिएको स्पष्ट पारे । उनले भने 'महिलालाई निर्वाचनमा समानुपातिक र प्रत्यक्ष दुबैबाट सिफारिस गरिएको छ । हाम्रो पार्टीले देवी ओलीलाई प्रत्यक्षबाट उठाएको छ, महिलाको क्षमता नभएको भनेर भन्दा पनि महिला आफैंले इच्छा राखेमा पार्टीले स्थान दिएको छ ।'

नेकपा एमाले प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले पनि महिलालाई आफ्नो पार्टीले स्थान दिएको उल्लेख गरे । उनले महिलालाई हालसम्म विभिन्न प्रमुख पदमा अटाउन सफल भएको बताए ।

कार्यक्रममा सहभागीले कर्णाली प्रदेश सभाका सांसद राजु नेपालीले संघर्ष नगरी नेतृत्व तहमा पुग्न नसकिने बताइन् । उनले आफू लामो संघर्षपछि मात्रै यहाँ पुगेको भन्दै आँट गरेपछि मुख्य पदमा पुग्न सकिने उल्लेख गरिन् ।

यस्तै, सांसद मिनासिंह रखालले महिलालाई प्रत्यक्षमा चुनाव उठाउन सिफारिस गर्दा पनि समानुपातिकमा थन्क्याइएको बताइन् । राजनीतिमा लामो संघर्षपछि मात्रै महिला अगाडि बढ्न सक्ने उनको भनाइ छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले महिलालाई प्रत्यक्षमा उठाउन पार्टीले जोड दिनुपर्ने बताइन् । उनले महिलालाई आर्थिक रुपले कमजोर भन्दै पछाडि पारिएको पनि गुनासो गरिन् । महिला आफैंले पनि प्रत्यक्षमा चुनाव लड्न सक्षमता देखाउनुपर्ने निर्देशक शाहीको भनाइ छ ।

प्रकाशित : भाद्र २८, २०७९ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?