५ करोडमा बनेका अस्पताल भवन प्रयोगविहीन

संरचना निर्माण भएको ७ वर्ष बिते पनि हस्तान्तरण विवादले सेवा सुरू भएन
हरिहरसिंह राठौर

जाजरकोट — छेडागाड नगरपालिका–५ बडावनमा झण्डै ५ करोड रुपैयाँ लागतमा निर्माण भएको अस्पताल भवन प्रयोयविहीन बनेको छ । सुविधासम्पन्न अस्पतालका लागि भौतिक संरचना निर्माण भएको ७ वर्ष बिते पनि हस्तान्तरण विवादले अस्पताल सञ्चालन हुन नसकेको हो ।

५ करोडमा बनेका अस्पताल भवन प्रयोगविहीन

पूर्वसांसद एवं समाजसेवी राजीवविक्रम शाहले आफ्नी हजुरआमा बालकुमारीको नाममा स्थापित कुमारी ट्रष्टको समन्वयमा संकलन गरेको ५ करोड रुपैयाँबाट अस्पतालको भवनलगायत भौतिक संरचना निर्माण भएको थियो । जिल्लाको पश्चिम भेगका बासिन्दालाई उपचारका लागि सुर्खेत, नेपालगन्ज र रुकुमको चौरजहारी जानुपर्ने बाध्यता हल गर्न २०७२ सालमै भवन निर्माण भइसकेको थियो । भवनमा ओपीडी, अप्रेसन, एक्सरे, प्रसूति, ल्याब, फार्मेसी सेवा सञ्चालन गर्न भौतिक संरचना बनिसकेका छन् । यसबाहेक चिकित्सक र नर्सका लागि आवासको समेत प्रवन्ध गरिएको छ । ५ रोपनी जग्गामा अस्पतालका लागि भूकम्पप्रतिरोधी भवन निर्माण गरिए पनि सञ्चालनमा ढिलाइ हुँदा स्थानीयलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अझै छ ।

‘अहिले पनि सामान्य रोग लागे उपचार गर्न सुर्खेत र नेपालगन्ज जान बाध्य छौं,’ स्थानीय लोकेन्द्र थापाले भने, ‘उपचार सुरु भए धेरै खर्चेर बाहिर गई उपचार गर्नुपर्ने बाध्यता हुन्थ्यो ।’

कांग्रेस नेता शाह २०७० सालको संसदीय निर्वाचनमा जाजरकोट क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । कमजोर आर्थिक अवस्था भएका स्थानीयलाई गाउँमै सर्वसुलभ स्वास्थ्य सेवा दिन खोजिएको शाह बताउँछन् । ‘तर कुन तरिकाबाट अस्पताल सञ्चालन गर्ने भन्नेबारे टुंगो लागेको छैन,’ उनले भने, ‘चिकित्सकहरूद्वारा सञ्चालित एक एक पाइला नामक संस्थालाई भवनको जिम्मा लगाइएको छ । उक्त संस्थाले अस्पतालका उपकरणहरू ल्याएर कोहलपुरमा गोदाम लिएर राखेको छ ।’ अस्पतालमा आवश्यक दक्ष जनशक्तिको खोजी भइरहेको उनले जानकारी दिए ।

व्यक्तिगत खर्चमा भवन निर्माणको काम सकिए पनि अस्पतालको सञ्चालन, रेखदेख र सेवा प्रवाहमा सरकारी तथा गैरसरकारी निकायको साझा दायित्ववोध हुनेगरी कार्य अघि बढाएको उनले दाबी गरे । उनका अनुसार अस्पताल सञ्चालन गर्न मासिक २५ लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान छ । अस्पतालबाट सेवा प्रवाह सुरु भए जाजरकोट र आसपासका जिल्लाका करिब ८० हजार स्थानीयले सेवा पाउनेछन् ।

भवन निर्माणको सबै काम सकिएको निर्माणको जिम्मा लिएको पञ्चकन्या गुप्रले जनाएको छ । २५ शय्याको अस्पताल भवनमा सुरक्षाका लागि केही अत्याधुनिक प्रविधिसमेत जडान गरिएको छ ।

छेडागाड नगरपालिकाका निवर्तमान प्रमुख लालबहादुर महताराले राजनीतिक पूर्वाग्रहका कारण उक्त अस्पताल पालिकालाई सञ्चालन गर्न नदिएको आरोप लगाए । ‘म आफैंले र अन्य व्यक्तिमार्फत अस्पताल भवन पालिकालाई हस्तातरण गरी सामुदायिक अस्पतालका रुपमा सञ्चालन गर्न अनुरोध गरेको थिएँ,’ उनले भने, ‘सर्वपक्षीय रुपमा अस्पताल व्यवस्थापन समिति गठन गर्नेबारे राखेको प्रस्ताव शाहले मान्नु भएन । यता भवन खेर गएको छ, उता हामीले ११ नम्बर वडामा २६ लाख रुपैयाँ वार्षिक भाडा दिनेगरी अस्थायी अस्पताल सञ्चालन गरिरहेका छौं ।’

३ करोड रुपैयाँको लागतमा पालिकाले निर्माण गर्न लागेको अस्पतालको निर्माणस्थल भासिएकाले अब यही भवन नै प्रयोगमा ल्याउन आवश्यक रहेको उनको भनाइ छ । वर्तमान नगर प्रमुख रत्नबहादुर खड्काले अस्पताल छिट्टै सञ्चालनमा ल्याउने गरी सबैसँग छलफल चलाइएको बताए ।

प्रकाशित : भाद्र २७, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?