कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रविधिमैत्री बन्दै किसान

एक हल गोरूले दिनभरिमा जोत्ने खेत अहिले ट्र्याक्टरले एक घण्टामै जोत्न सक्छ 
डीबी बुढा

जुम्ला — तातोपानी गाउँपालिका–७ का शेरबहादुर रावतले थ्रेसर मेसिनको प्रयोगले गहुँ चुट्न थालेको ३ वर्ष भइसक्यो । उनले यसअघि जौ र गहुँ चुट्न लोरीको प्रयोग गर्दै आएका थिए ।‘पहिले दिनभरिमा गर्ने काम अहिले एकै घण्टामा सकिन्छ,’ उनले भने, ‘छिटो पनि हुने र थोरै मानिस भए पनि पुग्ने भएकाले थ्रेसर मेसिन छिमेकीहरूले पनि प्रयोग गर्न थालेका छन् ।’

प्रविधिमैत्री बन्दै किसान

जुम्लामा जेठको अन्तिम साता जौ र गहुँ काटेर घरमा ल्याउने गरिन्छ । घरको छतमा (कुन्यु) बनाएर झन्डै ३ महिना सुकाइन्छ भने असोज लागेपछि चुट्न सुरु गरिन्छ ।

झन्डै १ रोपनी जग्गामा लगाइएको जौ, गहुँ चुट्न थ्रेसर मेसिनमा डेढदेखि २ घण्टा लाग्छ । ‘मेसिनले कार्यबोझ पनि घट्यो,’ बारागाउँकै अर्का किसान लालबहादुर रावतले भने, ‘समयको पनि बचत भएको छ ।’ उनले पनि ३ वर्षदेखि थ्रेसर मेसिनबाटै अन्नबाली भित्र्याउन थालेका छन् ।

गाउँको कृषि समूहले प्रतिघण्टा जौ वा गहुँ चुटेबापत्त ७ सय रुपैयाँ लिन्छ । थ्रेसरमा प्रतिघण्टा डेढ लिटर पेट्रोल आवश्यक पर्ने उनले बताए । अहिले गाउँका सबैजसो किसानले घरको छतमा थ्रेसर मेसिन लिने गरेका छन् । लालबहादुरका अनुसार बारागाउँका १ सय ७२ घरले अहिले थ्रेसर मेसिनले जौ, गहुँ चुट्न थालेका छन् ।

जुम्ली किसानहरूले गहुँ लगाउने सिजनको एक महिनाअघि मात्र कुन्यु लगाइएको गहुँबाट दाना निकाल्छन् । किसानले गहुँ, जौ लगाउन थ्रेसर मेसिनको प्रयोग मात्रै गरिरहेका छैनन्, सडक पुगेका गाउँ नजिक हाते ट्र्याक्टरबाट जोत्न थालिएको छ ।

‘सबैले गोरु पाल्न छोडे, यसअघि वर्षभरि गोरु पालेर ६/६ महिनामा अन्न लगाउने बेला मात्रै जोत्ने गरेका थियौं,’ तातोपानीका कर्णबहादुर न्यौपानेले भने, ‘एक हल गोरुले दिनभरिमा जोत्ने खेत अहिले ट्र्याक्टरले एक घण्टामै जोत्न सक्छ, एक जनाले मात्रै पनि दिनभरिमा १० रोपनीसम्मको खेत जोत्न सकिन्छ ।’ हाते ट्र्याक्टरको प्रयोग गर्न थालेपछि उत्पादन पनि बढ्दै गएको उनले बताए ।

तातोपानी–६ का किसान ओमप्रकाश न्यौपानेले पनि गत वर्षदेखि हाते ट्र्याक्टरबाटै जोतेर अन्न लगाउन थालेका छन् । ‘न वर्षभरि गोरु पाल्नुपर्ने दुःख न हली, बाउसेको भर पर्नुपर्ने बाध्यता,’ उनले भने, ‘म एक्लैले हाते ट्र्याक्टरमार्फत दिनमा १० रोपनीसम्म खेत जोत्न सक्छु, खर्च र समयको पनि बचत भएको छ ।’

जमाना यान्त्रिकीकरणको आएपछि आफूहरू पनि प्रविधिमैत्री भएको उनले बताए । उनले बालीमा कुनै रोग, किराको प्रकोप देखिए इन्टरनेटमार्फत त्यसको समाधान खोज्न थालिएको बताए । उनका अनुसार किसानहरूलाई उन्नत तरिकाले बाली उत्पादन गर्ने सीप पनि इन्टरनेटले दिएको छ ।

प्रकाशित : भाद्र २६, २०७९ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?