२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रतिनिधि र प्रदेशसभा निर्वाचन : कार्यकर्ता खुसी पार्न जसलाई पनि सिफारिस

वडामा समेत टिकट नपाएका र स्थानीय तहमा हारेकाहरु पनि सिफारिसमा परे

वीरेन्द्रनगर — आगामी मंसिर ४मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । कार्यकर्ता खुसी बनाउन भन्दै सबैजसो दलहरूले एउटै पदका लागि दर्जनौं उम्मेदवार सिफारिस गरी पठाएका हुन् । 

प्रतिनिधि र प्रदेशसभा निर्वाचन : कार्यकर्ता खुसी पार्न जसलाई पनि सिफारिस

सुर्खेतमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक गरी जिल्लाभरबाट ९४ जनाको नाम सिफारिस गरेको छ । सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा केन्द्रीय उपसभापति पूर्णबहादुर खड्कालाई सिफारिस गरेको छ । कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ नरहरी भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस गरेको जनाएको छ ।

त्यस्तै, प्रदेशसभातर्फ खड्कबहादुर पोखरेल, केशर ओली, चित्रबहादुर रेग्मी, टेकबहादुर सिंह, अमृता शाही, भूपेन्द्र चन्द, भूपेन्द्रबहादुर सुवेदी, मानबहादुर बुढामगर, हरिप्रसाद शर्मा, लक्ष्मीदत्त पौडेललगायतको नाम सिफारिस गरिएको हो । सुर्खेत क्षेत्र नं. २ बाट पूर्व केन्द्रीय सदस्य हृदयराम थानीसहित ५ जनाको नाम सिफारिस गरिएको छ । कांग्रेसले कार्यकर्ताको चित्त बुझाउनका लागि धेरैको नाम सिफारिस गरेको पूर्वक्षेत्रीय सभापति नारायण कोइराला बताउँछन् । ‘कोही त नाम आए पनि आत्मसन्तुष्टि महसुस गर्ने पनि अवस्था छ,’ उनले भने, ‘त्यसैले होला पार्टीले तोकेभन्दा बढी संख्यामा उम्मेदवार सिफारिस भएका छन् ।’

एमालेले क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ जिल्ला अध्यक्ष अमृत बहादुर बिसी, उपाध्यक्ष कुलमणी देवकोटा र जिल्ला कमिटी सदस्य तुल्सी कँडेल (शाही) लाई प्रत्यक्ष उम्मेदवारको लागि सिफारिस गरेको छ । एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेशसभाको उम्मेदवारको लागि सिफारिस भएका छन् । एमाले सुर्खेतका अनुसार क्षेत्र नं. २ प्रदेशसभा (ख) बाट पाँच जनाको नाम सिफारिस भएको छ । माओवादीले भने सिफारिस हुनेहरूको नाम नटुंगिएको जनाएको छ ।

कालीकोटबाट कांग्रेसले संघ र प्रदेशको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको लागि ५० जनाको नाम सिफारिस गरेर प्रदेश समितिमा पठाएको छ । ५ दलीय गठबन्धनअनुसार कांग्रेसमा भागमा प्रत्यक्षमा बढीमा एक जना मात्र उम्मेदवार पर्ने सम्भावना भए पनि नेता/कार्यकर्ता खुसी झन्डै ४ दर्जनको नाम सिफारिस गरिएको छ । दर्जन बढी सिफारिस गरेर पठाएको हो ।

काग्रेसले संघका लागि युवा नेता भूपेन्द्रजंग शाही, मीनबहादुर बोगटी र अशोकनाथ योगीलाई सिफारिस गरेको छ भने समानुपातिकमा हिक्मतबहादुर बिष्ट, मोतिराज बम, अशोकनाथ योगी, सुशिला गिरी, दमनराज बमलगायत छन् । त्यस्तै प्रदेशका लागि टेकराज शाही, मनराज शाही, खड्कजंग शाही, सुरज शाही, कालीबहादुर सहकारी, दमनबहादुर शाही, धुव्रविक्रम शाही, नारायणप्रसाद भट्टराई, मानबहादुर रोकाया, मुक्तिप्रसाद न्यौपानेलगायतको नाम सिफारिस गरिएको छ । सिफारिस भएकामध्ये कतिपयलाई २/३ पदमा दोहर्‍याइएको युवा नेता पुष्पराज भट्टराईले बताए ।

माओवादी केन्द्रमा उम्मेदवार छनोटका लागि छलफल जारी भए पनि अझै टुंगो लागिसकेको छैन । संघका लागि कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले टिकट पाउने सम्भावना छ भने अन्य उम्मेदवार गठबन्धनको खाका आएपछि टुंगोमा पुगिने माओवादी नेतृ गंगा खड्काले बताइन् । स्थानीय तहको चुनावमा एउटै पनि प्रमुख जित्न नसकेको एमालेले कालीकोटबाट संघीय संसदमा प्रतिस्पर्धा गर्न एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नगिन्द्र शाहीलाई एकल सिफारिस गरेको जनाएको छ ।

समानुपातिकतर्फ मीनवहादुर शाहीलाई र दुईवटा प्रदेशसभा सदस्यको लागि १६ जना सिफारिस गरेको छ । एमालेबाट प्रदेशसभाका लागि रमेशकुमार शाही, वीरेन्द्रबहादुर बोगटी, प्रकाश रोकाया, टेकवहादुर बोगटी, तुलाराज मल्ल, दुर्गबहादुर शाही, कमलबहादुर शाहीलगायतलाई सिफारिसमा परेका छन् । त्यस्तै एकीकृत समाजवादीले १३ जनाको सिफारिस गरेको पाटी सचिव खडानन्द चौलागाईंले बताए ।

जाजरकोटमा कांग्रेसले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारमा केन्द्रीय सदस्य राजिवविक्रम शाह र रामजंग शाहको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेसभाका लागि २ निर्वाचन क्षेत्रबाट १२ जनाको नाम सिफारिस गरेको छ । प्रदेशसभाका लागि वेदराज सिंह, दीपकजंग शाह, मुक्तिप्रसाद आचार्य, तेजविक्रम शाह, महेन्द्रबहादुर शाह, लिलाबहादुर शाहको सनतकुमार कार्की, रामछाया शाही, विष्णु गिरीलगायतको नाम सिफारिस गरिएको हो । एमालेले भने केन्द्रीय सदस्य निरज आचार्यलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एमालेबाट समानुपातिकतर्फ गोविन्दविक्रम शाह र कृष्णबहादुर शाही सिफारिस भएका छन् ।

त्यस्तै प्रदेशसभाका लागि डम्बरबहादुर सिंह, नवेन्द्र नेपाली, कालु हमाल, लक्ष्मी नेपाली, तारा शाक्य, हरिबहादुर घर्तीलगायतको नाम सिफारिस गरिएको एमालेले जनाएको छ । दैलेखमा पनि कांग्रेसले प्रदेश र प्रतिनिधिसभाका लागि १ सय ६ जनाको नाम सिफारिस गरेको छ । २ संघीय निर्वाचन क्षेत्र रहेको दैलेखमा कार्यकर्ता रुष्ट नहुन भन्दै धमाधम नाम सिफारिस गरिएको हो । चुनावअघि कोही कार्यकर्ताले पनि चित्त नदुखाउन भन्नका लागि आकांक्षा गरेका सबैको नाम सिफारिस गरिएको प्रदेश नं. १ का सभापति प्रकाश न्यौपानले बताए ।

एमालेले पनि ४२ जनाको नाम सिफारिस गरेको छ । ‘रहरले पनि धेरैका नाम परेका छन, यसअघि वडामा समेत टिकट नपाएका र स्थानीय तहमा हारेकाहरू पनि सिफारिसमा परेका छन्,’ एक एमाले जिल्ला सदस्यले भने, ‘आकांक्षा धेरैको देखिएका कारण पनि प्रदेश र प्रतिनिधिसभा दुवैमा सर्वसम्मत उम्मेदवार छनोट हुन सकेका छैनन ।’

मुगुमा कांग्रेसबाट २४ जनाको नाम सिफारिस गरिएको छ । एमालेले पनि १९ जनालाई सिफारिस गरेको हो । सल्यानमा कांग्रेस, एमाले र एकीकृत समाजवादीले १ सय १८ जनाको नाम सिफारिस गरेका छन् । आकांक्षी धेरै भएका कारण सबैको चित्त बुझाउन र विवाद सिर्जना हुन नदिन एकै पदका लागि ४ देखि २० जनासम्मको नाम सिफारिस गरिएको कांग्रेसका उपाध्यक्ष चक्र देवकोटाले बताए ।

समाजवादीका जिल्ला सचिव रमेश गौतमले प्रत्यक्षमा पार्टीले तोकेअनुसार सफारिस गरेको र समानुपातिकमा केही बढीको नाम सिफारिस गरिएको बताए । जुम्लामा कांग्रेसले ५३ जना आकांक्षीको नाम सिफारिस गरेको छ । झन्डै एक साता लामो कसरतमा पनि सर्वसम्मत उम्मेदवारको नाम सिफारीस गर्न नसकेपछि आकांक्षी सबैको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

चाँदनी कठायत (वीरेन्द्रनगर), तुलाराम पाण्डे (कालीकोट), राजबहादुर शाही (मुगु), हरिहरसिंह राठौर (जाजरकोट), ज्योति कटुवाल (दैलेख), विप्लव महर्जन (सल्यान) र डीबी बुढा (जुम्ला)

प्रकाशित : भाद्र २६, २०७९ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?